
२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा सरकारले लकडाउनबाहेक केही राम्रो गर्न नसकेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै समाजवादी पार्टीका नेता भट्टराईले अरुले जस्तै नेपालले पनि लकडाउन गर्नु बाध्यता भएको बताए । सरकारले विदेशमा भएका नेपालीहरुलाई नआउन भनेको तर उनीहरु समस्यामा पर्न थालेको उनले सुनाए ।
भारतको गोवामा सरकारले नेपालीहरुलाई ‘घर जाऊ’ भनेको सुनाउँदै उनले अघि भने, ‘हाम्रो सरकारले ठोस निर्णय गर्न सकेको छैन । नेपालीहरु अलपत्र परेका छन् ।’
‘अहिले एउटा भिडियो भाइरल भएको छ, यसबाट पनि हाम्रो आत्मा पग्लिएन । आँखाबाट आँसु आएन भने हामीले आफैंलाई सोध्नुपर्छ, हामी मानव हौं कि होइनौं ?’
भट्टराईले उल्लेख गरेको भिडियो भारतको क्वारेन्टाइनमा राखिएका नेपालीहरुमाथि भएको हप्कीदप्कीको हो । उक्त भिडियोमा भारतीय अधिकारीहरुले नेपालीहरुलाई हामीले बोलाएर आएको हो ? तिमी आफैं आएका हौं । तिमीलाई हामी कसरी पाल्न सक्छौं ? जहाँ जान्छौ जाऊ भनिएको छ । तर नेपालीहरुले हात जोडेर म कहाँ जाऊँ ? बस्न देऊ भनिरहेका छन् ।
भट्टराईले भने, ‘नेपालीहरुको यस्तो अवस्थामा सब ठीकठाक छ भनेर बस्न मिल्छ ?’
देशले रोजगारी दिन नसकेर विदेश जान बाध्य यी नेपाली नागरिकहरूले भोग्नु परेको सास्ती र अपमान @kpsharmaoli लगायत हामी सबैले हेरौं/सुनौं र आफ्नै ब्रह्मसंग सोधौं- यही हो हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभिमान?अझै पनि हामीलाई यो देशको नेतृत्वको कुर्सीमा बस्ने र लड्ने नैतिक अधिकार रहन्छ? https://t.co/OxWLLSGQMO
— Baburam Bhattarai (@brb1954) May 8, 2020
प्रतिक्रिया 4