Comments Add Comment

लकडाउनमा गायक युवराजः छिमेकीको गितार मागेर धुन रच्दै

गायक युवराज चौलागाई अहिले चितवनमा छन् । कोरोनाले गर्दा आफ्नो कामहरू ठप्प भएपछि उनले घर फर्किन उचित ठाने । उनी घर फर्किएको दोस्रो दिनमै नेपाल पूर्ण रुपमा लकडाउन भयो ।

विगत डेढ महिनादेखि युवराज आफ्नो परिवारसँग समय बिताइरहेका छन् । चाडपर्वको समयमा मात्र घर आउने युवराजलाई एक महिनादेखि आफ्नै काखमा पाउँदा परिवार दंग छन् । युवराज पनि आफ्नो परिवारसँग समय बिताउन पाएकोमा खुसी छन् ।

तर, उनको मन रेकर्डिङ स्टुडियो र स्टेजको माइकमा अल्झिरहेको छ । युवराज भन्छन्, ‘सबैभन्दा बढी याद आउने भनेको नै आफ्नो काम रहेछ । मलाई स्टुडियो र स्टेजको यादले सताइरहेको छ ।’

युवराज एउटा एल्बम निकाल्ने तयारीमा थिए । त्यसैको धमाधम काम भइरहेको थियो । त्यो काम अहिले पूर्ण रुपमा रोकिएको छ । युवराज भन्छन्, ‘अहिले एल्बम फाइनल भइसक्ने थियो । कोरोनाले रोकिदियो ।’

केही समय अगाडि मात्रै युवराजको नयाँ गीत रिलिज भएको थियो । उक्त गीतको प्रचार गर्न नपाएकोमा पनि युवराजलाई दुःख लागेको छ ।

चितवन पुगे पनि युवराजले आफ्नो संगीतकर्मलाई छोडेका छैनन् । उनी त्यहाँ पनि सिर्जनामा नै भुलिएका हुन्छन् । उनले भने, ‘मैले हार्मोनियम नै ल्याइनँ । त्यसैले छिमेकी भाइको गितार मागेर संगीत सिर्जना गरिरहेको छु ।’

फुर्सदमा युवराज चलचित्र हेर्ने गर्छन् । युवराज आफूलाई मन परेका र पहिला हेर्न छुटेका नेपाली चलचित्र हेरिरहेको बताउँछन् । उनले भने, ‘म त पुरानो चलचित्रहरू हेरेर रमाइलो गरिरहेको छु । पुरानो चलचित्र हेर्दा रमाइलो लाग्छ मलाई त ।’

युवराज आफ्नो स्वास्थ्यलाई लिएर पनि निकै सतर्क छन् । आफूलाई फिट राख्नको लागि व्यायाम गरिरहेका छन् । युवराजले मोटो बन्दै गएको शरीर घटाउने उत्तम समय पाएका छन् ।

उनी भन्छन्, ‘यो डेढ महिनामा म झण्डै ५ केजी घटिसकेँ । घट्ने र आफूलाई फिट राख्ने काम जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment