Comments Add Comment

ओली–प्रचण्ड संयुक्त वक्तव्य : भारतले सार्वभौमसत्तामा आँच पुऱ्यायाे

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा शनिबार साँझ जारी विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डले शनिबार जारी गरेको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य हुनु निन्दनीय रहेको बताइएको छ ।

सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर छ । नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।

सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको बताउँदै दुई अध्यक्षले भनेका छन्, ‘विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने नेकपाको ठहर छ ।’

वक्तव्यमा दुवै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह गरिएको छ । साथै नेकपाले सडक निर्माण कार्यलाई तत्काल रोक्न र यो मुद्दालाई जटिल बनाउने कुनै पनि कार्य नगर्न भारतलाई आग्रहसमेत गरेको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै मान सरोवरसम्म जाने सडकको शुक्रबार उदघाटन गरेको थियो । नेपाली भूमिमा सडक बनाएको विरोधमा शनिबार नै परराष्ट्र मन्त्रालयले समेत विज्ञप्ति निकालेर आपत्ति जनाइसकेको छ ।

उता भारतीय विदेश मन्त्रालयले भने सडक निर्माण गरिएको भूमि भारतकै रहेको दाबी गरेको छ । तर, कोराना महामारी सााम्य भएपछि दुईपक्षीय बैठकका लागि तयार रहेको भारतीय पक्षको भनाइ छ ।

लिपुलेक क्षेत्रमा भारतले गर्दै आएको थिचोमिचोविरुद्ध नेपालका सबै राजनीतिक दल र नागरिक समुदाय एकै स्वरमा विरोधमा उत्रिएका छन् ।
यो पनि पढ्नुहोस भारतीय दूतावास नपुग्दै पक्राउ परे विद्यार्थी नेताहरू

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment