Comments Add Comment

होटलका लागि बन्यो सुरक्षा निर्देशिका, पालना गर्नुपर्नेछ यस्ता मापदण्ड

पाहुना चेकआउट गरेको ४८ घण्टापछि मात्र नयाँलाई चेकइन

२८ वैशाख, काठमाडौं । कोरोना भाइरसको प्रकोपपछि खुल्ने होटेलहरुले ग्राहक बाहरिएको कम्तिमा ४८ घण्टासम्म कोठा खाली राख्नुपर्ने भएको छ ।

अर्थात् कोठामा बसिरहेको पाहुना बाहिरिएको ४८ घण्टापछि मात्र नयाँ पाहुनालाई कोठामा राख्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ । नेपाल पर्यटन बोर्डले कोभिड १९ बाट बच्न पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि सुरक्षा निर्देशिका बनाएको छ ।

निर्देशिकाअनुसार एउटा पाहुना होटेलबाट बिदा भइसकेपछि कोठालाई पूर्णतया सुरक्षित पार्नुपर्ने भएको छ । त्यसको ४८ घण्टापछि मात्र कोठा अर्को पाहुना राख्न योग्य हुने भएको छ ।

यसबाट अबको केही समय तत्काल लकडाउन खुलेपनि, होटेलमा पाहुना आएपनि होटेलले पूर्ण क्षमतामा होटेलका कोठा प्रयोग गर्न पाउने छैनन् ।

ढोकामा डिजिटल साँचो

बोर्डले बनाएको निर्देशिकाअनुसार अब सकेसम्म होटेलहरुले डिजिटल साँचोको प्रयोग गर्नु पर्नेछ । ढोकाको डिजिटल कोड मोवाइलमा सेट गर्न मिल्ने र सोही कोडका आधारमा ढोका खोल्न सकिने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

यसले हरेक पटक कोठाबाट बाहिरिँदा वा भित्रदा हातले साँचो खोल्नुपर्ने बाध्यता हट्नेछ । इलिभेटर चढ्दा सिमित मान्छे मात्र चढाउनुपर्ने, कोठाका सेवा सुविधाहरु कटौती गर्न सकिने, समभव भएसम्म खाना र खाजाका रुपमा प्याकेट प्रयोग गर्न गर्न र रकमको भुक्तानीसमेत डिजिटल हुने गरी व्यवस्थापन गर्न निर्देशिकामार्फत आग्रह गरिएको छ ।

हेल्थ क्लव बन्द

होटेलभित्र व्यायाम कक्ष, हेल्थ क्लव वा अन्य सुविधासमेत कोरोना भाइरसको संकट नहटुन्जेल अस्थायी रुपमा बन्द गर्न निर्देशिकाले आग्रह गरेको छ । चलाउनै पर्ने भए यस्ता स्थानहरु पूर्णतया कीटनासक विधिबाट सफा गरेको हुनु पर्नेछ ।

होटेलमा कार्यरत कर्मचारी होटेल तथा रेस्टुरेन्टमा छिर्नु अगाडि ज्वरो अनिवार्य मापन गर्नुपर्ने भएको छ । त्यसका लागि आवश्यक सुरक्षा उपकरणको व्यवस्था समेत होटेलले गर्नुपर्छ । सकेसम्म घरबाट आउँदा लगाएको कपडा कार्यस्थलमा रहँदा प्रयोग नगर्ने व्यवस्था समेत मिलाउनु पर्ने भएको छ ।

टेवल सफा गरेपछि, शौचालय छिरेपछि, पाहुनाले प्रयोग गरेका सामग्री छोएमा वा चलाएमा कर्मचारीले अनिवार्य हात धुनैपर्ने व्यवस्था गरिएको छ ।

पाहुनासँग प्रत्यक्ष सम्पर्कमा आउनु पर्ने कर्मचारीका लागि पन्जा, मास्क तथा अन्य स्वास्थ्य उपकरण अनिवार्य व्यवस्था मिलाउनुपर्ने भएको छ । पाहुना र कर्मचारी तथा कर्मचारी-कर्मचारी बीचसमेत कम्तिमा एक मिटरको दूरी कायम गरी सेवा सञ्चालन गर्नुपर्नेछ ।

कुनै कर्मचारी बिरामी भएमा तत्काल घर वा अस्पताल लैजाने व्यवस्था गर्ने र निको नभएसम्म कार्यालयमा नआउने वातावरण समेत होटेलले मिलाउनुपर्ने भएको छ ।

पाहुना बनेर जाँदा के गर्ने ?

निर्देशिकामा पाहुनाका लागि समेत सुरक्षा मापदण्ड तोकिएको छ । होटेलमा छिर्ने हरेक पाहुनाले अनिवार्य तापक्रम जचाउनुपर्ने भएको छ । रेस्टुरेन्टमा छिर्दा अनिवार्य हात धुनै व्यवस्था मिलाउनुपर्छ ।

सकेसम्म अनलाइन पेमेन्ट गर्न सकिने व्यवस्था गरी होटेल तथा रेष्टुरेन्ट छिर्नु पर्नेछ । होटेल वा रेस्टुरेन्टले आवश्यकता अनुसार पाहुनाको ‘ट्राभल हिस्ट्री’समेत माग गर्न सक्नेछन् ।

त्यस अवस्थामा त्यस्तो विवरण टिपाउनु पाहुनाको दायित्व हुने भएको छ । यसबीचमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको हरेक निर्देशन र निर्देशिकाको पालना गर्नुसमेत सबै सरोकारवालाको दायित्व हुने बोर्डले तयार पारेको निर्देशिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment