Comments Add Comment

लकडाउनमा प्रदेश २ मा अपराध : ११ जनाको हत्या, ५७ जनाले गरे आत्महत्या

१७ वटा बलात्कारका घटना

२९ वैशाख, जनकपुरधाम । धनुषाको शहीद नगरपालिका-९ बिर्ता निवासी सौंखी सदालाई उनकै छोरा नथुनीले खन्ती (माटो खन्ने घरेलु हतियार) प्रहार गरी वैशाख ७ गते राति हत्या गरे ।

२९ वर्षीय नथुनीले ५५ वर्षीय पिता सौंखीसँग रकम मागेका थिए । सोही विषयमा विवाद हुँदा नथुनीले सौंखीको टाउकोमा खन्ती प्रहार गरेका थिए । एकै पटकको प्रहारबाट उनको घटनास्थलमै मृत्यु भयो ।

वैशाख ७ गते साति नै रौतहटको कटहरिया नगरपालिका-१ भसेडबामा २५ वर्षीय संजीव रायको उनकै समूहका केही व्यक्तिले कुटपिट गर्दा मृत्यु भयो ।

राति ९ बजेतिर घर नजिकैको टोलमा गएका उनलाई केही व्यक्तिले लालबकैया नदी किनारमा लगेर कुटपिट गरेका थिए ।

वैशाख ८ गते पर्साको वीरगन्ज महानगरपालिका २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको शव हत्या गरिएको अवस्थामा वीरगन्जको सुख्खा बन्दरगाहाको टाउन प्लानिङ्ग क्षेत्रमा फेला पर्‍यो ।

बिहान शौच गर्न निस्किएका स्थानीय महिलाले शव देखेपछि गाउँमा जानकारी गराएका थिए ।

त्यसअघि, चैत ३० गते सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१ भारदहस्थित सडक छेउमा स्थानीय ज्ञानु साहका १७ वर्षीय छोरा सुरज साहको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

लागूऔषध प्रयोगकर्ता उनलाई उनकै साथीले टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुल्यो ।

माथि उल्लेखखित घटनाहरु कोरोना संक्रमण रोकथामका लागि गरिएको डाउनकामा समेत प्रदेश २ मा अपराध नरोकिउका दृष्टान्त हुन् ।

लकडाउनको समयमा हिँडडुल, आवतजावत सबै बन्द हुँदा पनि हत्यासम्मका अपराका घटना प्रदेश २ मा भइरहेका छन् ।
आइतबार मात्रै महोत्तरीको गौशाला नगरपालिका-४ बिर्ताका दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको छ ।

४५ वर्षीय उनको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा चिर्पट प्रहार गरेको देखिएको प्रदेश प्रहरी कार्यालय जनधपुरधामले जनाएको छ ।

पर्सामा मात्रै ५ जनाको हत्या

लकडाउन सुरु भएको दिन २०७६ चैत ११ गतेदेखि हालसम्म प्रदेश २ मा ११ जनाको हत्या भएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबैभन्दा बढी पर्सामा पाँच जनाको हत्या भएको छ । महोत्तरीमा दुई जना, सप्तरी, धनुषा, रौतहट र बारामा एक/एक जनाको हत्या भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या प्रयास भएको छ । धनुषा र सर्लाहीमा तीन/तीन, पर्सामा दुई, सप्तरी, रौतहट र बारामा एक/एक जनाको हत्या प्रयास भएको भन्दै प्रहरीमा ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दायर भएको छ ।

यो अवधिमा भवितव्य ज्यान शीर्षकामा प्रदेश २ मा ३२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये सिरहामा १०, धनुषा र पर्सामा ६/६, सप्तरी, सर्लाही र बारामा ३/३ तथा रौतहटका एउटा मुद्दा रहेको छ ।

यस्तै, फुटकर ज्यान सम्बन्धी पाँचवटा मुद्दा दर्ता भएकोमा ३ वटा सप्तरीमा र धनुषा र बाराका एक/एक वटा मुद्दा रहेको प्रहरीले जनाएको छ ।

१७ वटा बलात्कारका घटना

डेढ् महिनाको अवधिमा महिला र बालबालिकामाथि हुने हिंसा र अपराधका घटनामा पनि प्रदेश २ मा कमी आएको छैन ।

प्रहरीको तथ्यांकमा यो अवधिमा १७ वटा बलात्कार र दुईवटा बलात्कार प्रयासका घटना भएका छन् भने एउटा बाल यौनदुराचारको घटना भएको छ ।

बलात्कारका सबैभन्दा धेरै बारा ५ वटा घटना भएका छन् । सर्लाहीमा ३, सिरहा, धनुषा र रौतहटमा २/२ तथा सप्तरी, महोत्तरी र पर्सामा १/१ वटा त्यस्ता घटना भएको प्रहरीले जनाएको छ ।

महोत्तरी र बारामा एक/एकवटा बलात्कार प्रयासका घट्ना भएका छन् भने सर्लाहीमा एउटा बाल यौनदुराचार सम्बन्धी मुद्दा परेको छ ।

बारा जिल्लामा जबरजस्तीकरणी तथा गर्भपतन शीर्षकमा एउटा मुद्दा दर्ता भएको प्रद्श प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

५७ जनाले गरे आत्महत्या

लकडाउन लगाइएको डेढ् महिनाकै अवधिमै प्रदेश २ मा ५७ जनाले आत्महत्या गरेका छन् ।

सबैभन्दा धेरै सिरहा र बारामा आत्महत्या भएको तथ्यांक प्रहरीसँग छ । यी दुई जिल्लामा १०/१० जनाले आत्महत्या गरेका छन् । धनुषामा ९ जना, सर्लाही र रौतहटमा ७/७ जना, पर्सामा ६, सप्तरीमा ५ र महोत्तरीमा ३ जनाले आत्महत्या गरेका छन् ।

५७ जना मध्ये ती मध्ये ५३ जनाले झुण्डिएर, ३ जनाले विष सेवन गरेर र एक जनाले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीलाई छल्दै लागूऔषध कारोबार

लकडाउनलाई कडाई गर्न सीमा क्षेत्रदेखि गा्रमीण क्षेत्रसम्म सुरक्षा व्यवस्था कडाई गरिएको छ । तर, स्ुरक्षाकर्मीलाई छलेर लागूऔषध कारोबार भइरहेको छ ।

लकडाउनको डेढ महिना अवधिमा प्रदेश २ का आठ जिल्लामध्ये सात जिल्लाबाट लागूऔषधसहित मानिसहरु पक्राउ परेका छन् ।

रौतहटबाहेक सातवटा जिल्लाबाट लागूऔषधसहित केही व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

यो अवधिमा ३४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । सबैभन्दा बढी सिरहामा १० वटा, धनुषामा ८, सर्लाहीमा ५, पर्सामा ४, महोत्तरीमा ३ तथा सप्तरी र बारामा २/२ वटा मुद्दा दर्ता भएका छन् ।

सामाजिक अपराध पनि रोकिएन

प्रदेशमा लकडाउनको समयमा पनि सामाजिक अपराध रोकिन सकेको छैन् । सामाजिक अपराध अन्तर्गतको विभिन्न शीर्षकमा ८४ वटा मुद्दा दर्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक -एसपी) जयराज सापकोटाका अनुसार केही सार्वजनिक अपराधमा २८ वटा, सार्वजनिक शान्तिविरुद्वको अपराधमा २२ वटा, सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीतको कसुरमा ३१ वटा, अभद्र व्यवहारमा २ वटा तथा कुटपिट अंगभंग शीर्षकामा एउटा मुद्दा दर्ता भएको छ ।

केही सार्वजनिक अपराध शीर्षकामा रौतहटमा १०, धनुषामा ८, सिरहामा ७, सप्तरीमा २ र महोत्तरीमा १ वटा दर्ता भएको छ ।
सार्वजनिक शान्तिविरुद्वको अपराध सम्बन्धी सबैभन्दा धेरै पर्सामा १४, धनुषामा ६ तथा सर्लाही र रौतकटमा १/१ वटा मुद्दा दर्ता भएको छ ।

सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीत कसुरमा बारामा २९ र पर्सामा २, अभद्र व्यवहार शीर्षकामा सर्लाहीमा २ र कुटपिट अंगभंग मुद्दा सप्तरीमा एउटा मुद्दा दर्ता भएको छ ।

प्रहरी भन्छ-सबै सतर्क हुनु जरुरी

डेढ महिनामा ११ जनाको हत्या भए पनि प्रहरी पहिलाको अवस्थामा भन्दा अपराधका घटनामा कमी आएको बताएको छ । ‘जुन हत्या भएको छ, त्यो घरायसी र सामाजिकस्तरमा भएको देखिएको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले भने, ‘घरायसी र सामाजिक अपराध देखिए पनि खुला अवस्थाभन्दा कम हो ।’

यद्यपि, आत्महत्याको दर भने बढेको उनले बताए । ‘आत्महत्या बढे पनि अरु घट्ना कम नै हो,’ उनले थपे, ‘अपराधिक घटना हुन नदिन सबैलाई सतर्क रहनु जरुरी छ ।’

लकडाउनको समयमा बालबालिकालाई एकान्त कुनामा जान नदिने, कसैलाई विश्वास नगर्ने, घरपरिवारसँगै बस्ने, अपराधिक कृयाकलापमा नलाग्न सुझाव दिन्छन् उनी ।

कसैले अपराध गर्न लागेको थाहा पाए लगत्तै प्रहरीको सहयोग लिन आग्रह गर्दै उपरीक्षक सापकोटाले सम्बन्धित जिल्लाको १०० मा फोन गरेर सूचना दिन सबैसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment