+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

गगनले प्रधानमन्त्रीलाई समर्पित गर्दै संसदमा सुनाए बाल कविता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १६:१०

२९ वैशाख, काठमाडौं । कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्त कार्यशैलीप्रति व्यंग्य गर्दै संसदमा कविता सुनाएका छन् ।

भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा नसुनेको तर कविता सिर्जना गरेर बसेको भन्दै थापाले प्रधानमन्त्रीलाई समर्पित गर्दै ‘म त भाग्यमानी’ शीर्षकको बाल कविता सुनाएका हुन् ।

यसअघि गत वर्ष फागुनमा पनि थापाले प्रतिनिधिसभा बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटार जग्गा प्रकरणमाथि ब्यंग्य गरेका थिए ।

सोमबारको संसद बैठकमा थापाले प्रधानमन्त्रीलाई समर्पित गर्दै सुनाएको बाल कविता यस्तो छ–

म त भाग्यमानी

छैन यहाँ देशको. नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको !

यस्तो सबल सरकार छ सीमा कसले मिच्नी
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी !!

सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् आहत
गरीवलाई सम्मान छ, सरकारबाट राहत !

विदेशमा…कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै हैनन् !!

जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने !

भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन्, ओम्नी र यती

सरकार यस्तो इमान्दार, यस्तो स्वाभिमानी
आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी

सबैतिर वाह ! वाहै ! यस्तो विकास देख्दा
पत्रकार नि दंग छन्, यी समाचार लेख्दा !!

कोमल हृदयका प्रधानमन्त्री, आसु कवि हाम्रा
दिन नबिराई सृजना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत–कविता भट्याउँदै कालापानी जाउँला !!
सारा नेपाल हाँसेको छ, मेची–काली गाउँछ
आँसु आए बरु त्यही गीतले आउँछ

यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो ! हामी नेपाली त सारै भाग्यमानी !!
अहो ! सारै भाग्यमानी
म त भाग्यमानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?