Comments Add Comment

मेडिकल कलेज सञ्चालक भन्छन्- आर्थिक संकटमा पर्‍यौं, राहत चाहियो

'लुटेरा मात्रै भनियो, योगदान हेरिएन'

३० वैशाख, चितवन । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण ठूला मेडिकल कलेज सन्चालकहरुले आर्थिक संकटमा परेको बताएका छन् । बिरामी नै आउन छाडेकाले आर्थिक संकटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग राहत माग गरेका छन् ।

देशभर १८ वटा मेडिकल कलेज छन् । हरेकजसो मेडिकल कलेजमा दैनिक करीब १५ सय बिरामीले उपचार सेवा लिने गरेकोमा हाल दैनिक १५० देखि दुईसय मात्रै बिरामी आउने गरेका छन् ।

एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष एवम् वीरगञ्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक बसुरुद्धिन अन्सारीले लकडाउनका कारण मेडिकल कलेजहरु कोरोनाका कारणले सबैभन्दा बढी संकटमा परेको बताए । उनले पहिलेको तुलनामा अहिले २० प्रतिशतभन्दा कम बिरामी आउने गरेको बताए । सोही अनुपातमा मेडिकल कलेजहरुले आम्दानीसमेत गुमाएका छन् । अध्यक्ष अन्सारीले भने, ‘मेडिकल कलेजको खर्च बढ्यो, आम्दानी घट्यो, अहिले पीपीई र मास्क सबै स्वास्थ्यकर्मीलाई दिनुपर्ने हुनाले खर्च बढेको छ ।’

आर्थिक संटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले आम्दानी करमा छुट, उपकरण औजार खरिदमा कर छुट दिएर राहत दिनुपर्ने माग गरेका छन्

अन्सारीले राज्यले तोकिएको मापदण्ड पूरा गर्दा भवन भब्य देखिए पनि तनाव र ऋणको कथा कसैले नदेखेको बताए । उनले कलेजमा गत वर्ष यो समयमा १६ सयसम्म बिरामी उपचारका लागि आउने गरेको तर अहिले ४ सयको हाराहारीमा मात्रै आएको बताए ।

‘मेडिकल कलेजहरुमा रहेका चिकित्सकहरु पूर्णकालीन हुन्छन्, उनीहरुलाई बिरामी जाँचेको आधारमा पैसा दिने कुरा हुँदैन,’ चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले भने, ‘निजी अस्पताल र मेडिकल कलेजको अवस्था फरक छ, निजी अस्पतालमा बिरामीका आधारमा रकम दिने हो, बिरामी नभएपछि दिनुपरेन, तर मेडिकल कलेजले दिनुपर्छ ।’ उनले मासिक तलबमा ६ करोड, अप्रेसनलमा ४ करोड र सावाँ-व्याज मासिक ३ करोड बुझाउने गरेको बताए ।

एक मेडिकल कलेजमा करीब तीन सय करोड लगानी हुने गरेको सन्चालकहरु बताउँछन् । लकडाउन अगाडिसम्म बिरामीको उपचारबाट मात्रै मेडिकल कलेजहरुले दैनिक करीब ३० लाख हाराहारी कमाउने गरेको बताइन्छ । यो कमाइ विद्यार्थीहरुबाट लिने शुल्कबाहेक हो ।

अहिले कलेजको आम्दानी घटेर दैनिक चार लाखको हाराहारीमा रहेको चितवन मेडिकल कलेज सञ्चालक डा. न्यौपाने बताउँछन् । ‘विद्यार्थीबाट समेत पैसा माग्ने र उठाउन सक्ने अवस्था छैन,’ डा. न्यौपानेले भने, ‘यसरी त कति दिन चल्न सकिन्छ र ?’

चितवनकै कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का निर्देशक डा. मनोहर प्रधान अहिलेकै अवस्था थप दुई महिना लम्बिए मेडिकल कलेज चलाउन नसकिने बताउँछन् । उनका अनुसार पुरानो मेडिकल कलेजमा पहिला दैनिक झण्डै ९ सय बिरामी ओपीडीमा आउने गरे पनि अहिले तीन सयको हाराहारीमा मात्रै आउने गरेका छन् । ‘साधारण ओपीडी बिरामीको मात्रै भरमा त खर्च व्यवस्थापन हुँदैन, अहिले ठूला अप्रेशन लगायतका काम भएको छैन,’ निर्देशक डा. प्रधानले भने, ‘मेडिकल कलेजमा हुने खर्च घटेको छैन, तर आम्दानी छैन । यही अवस्था रहे ठूलो संख्यामा कर्मचारी कटौती गर्नुपर्दछ ।’ पुरानो मेडिकल कलेजमा १२ सय ५० स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

देशभरका मेडिकल कलेजमा करिब २७ हजार कर्मचारीहरु कार्यरत छन् । कोरोनाका कारण आर्थिक संटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग राहत माग गरेका छन् । आम्दानी करमा छुट, उपकरण औजार खरिदमा कर छुट दिएर राहत दिनुपर्ने माग उनीहरूको छ । उनीहरुले बाषिर्क ४० करोड बराबरका उपकरणहरु ल्याउने गरेका छन् । बैंकको ब्याजमा केही महिनाको छुट गरेर सावाँ भुक्तानीको अवधि पछाडि धकेल्नुपर्ने माग कलेज सञ्चालकको छ ।

‘लुटेरा मात्रै भनियो, योगदान हेरिएन’

विद्यार्थीहरुबाट सरकारले तोकेको भन्दा धेरै शुल्क लिएपछि मेडिकल कलेजहरुको आलोचना हुँदै आएको छ । तर, मेडिकल कलेज सञ्चालकहरु भने आफूहरुले गरेको योगदानको कदर नगरिएको गुनासो गर्छन् ।

बसुरुद्धिन अन्सारी

एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष अन्सारी भन्छन्, ‘राज्यले हाम्रो योगदान देखेन, खाली लुटेरा मात्रै भनियो, निरन्तर आक्रमण मात्रै गरियो ।’

चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिश न्यौपानेको गुनासो पनि त्यस्तै छ । उनी भन्छन्, ‘हामीले विदेश जाने करोडौं रकम जोगाएका छौं, हजारौं जनशक्ति उत्पादन गरेका छौं, सयौंलाई छात्रवृत्ति दिएका छौं, एउटाले वाषिर्क राज्यलाई २४ करोड कर बुझाएका छौं, यो हाम्रो योगदानलाई त कसैले बुझ्दैन, खाली गाली मात्रै गरेर हुन्छ ?’

नेशनल मेडिकल कलेज वीरगञ्जका प्रवन्ध निर्देशक बसुरुद्धिन अन्सारीले हरेक राष्ट्रिय विपत्ती आउँदा मेडिकल कलेजहरूले गरेको योगदानलाई सरकारले वेवास्ता गर्ने गरेको गुनासो गरे । ‘भूकम्पका बेला कति बिरामीलाई सरकारी अस्पतालले उपचार गरे, निजीले कति गरे, बारामा आँधी आउँदा कसले बढी बिरामीको उपचार गर्‍यो, यो त सरकारले हेर्नुपर्ने हैन ?’ अध्यक्ष अन्सारीले भने, ‘राज्यलाई ४६ प्रतिशत कर तिर्ने मेडिकल कलेजलाई सरकारले गाली मात्रै गर्‍यो, थुन्छु मात्रै भन्छ ।’

सन् २०१४ को एक तथ्यांक अनुसार नेपालको झण्डै ७६ प्रतिशत स्वास्थ्य सेवा निजी क्षेत्रले प्रदान गरेको देखिएको छ । त्यसलाई शतप्रतिशत मान्दा ८० प्रतिशत मेडिकल कलेजको भएको चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिश न्यौपाने बताउँछन् । आइसीयू र भेन्टिलेटरहरू ७० प्रतिशत निजी अस्पताल र मेडिकल कलेजसँग रहेको डा. न्यौपानेको भनाइ छ । उनले राजनीतिक दलदेखि विद्यार्थी संगठन, विभिन्न संघसंस्था र कर्मचारीहरू सबैले मेडिकल कलेजहरूलाई दुहुनो गाई बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment