Comments Add Comment

आईसीसी महिला विश्वकप क्रिकेटको छनोट स्थगित

३० वैशाख, काठमाडौं । महामारी बनेको कोरोना भाइरस (कोभिड १९)को कारण श्रीलंकामा हुने भनिएको आईसीसी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जुलाइमा तय भएको उक्त छनोट स्थगित गरिएको जनाएको छ । छनोट प्रतियोगिता ३ देखि ९ जुलाइसम्म हुने तय थियो । जसमा आयोजक श्रीलंकासँगै बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड्स, पाकिस्तान, पपुवा न्युगिनी, थाइल्याण्ड, अमेरिका, वेष्ट इण्डिज र जिम्बावेले प्रतिस्पर्धा गर्दै थिए ।

सन् २०२१ मा न्युजिल्याण्डमा हुने विश्वकपका लागि छनोट रहेको यस प्रतियोगिताबाट तीन टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

यस्तै आईसीसीले यू१९ क्रिकेट विश्वकपका लागि युरोपियन छनोट डिभिजन २ समेत स्थगित गरिएको जनाएको छ । सन् २०२२ मा आयोजना हुने यू१९ विश्वकपको लागि उक्त छनोट २४ देखि ३० जुलाइसम्म छनोट डेनमार्कमा हुने तय थियो ।

आईसीसीले स्थगित भएका प्रतियोगिताहरु अब कहिले गर्ने भन्ने बारे सहभागी सदस्य राष्ट्रहरुसँग सहकार्य गर्ने जनाएको छ ।

कोरोना भाइरसकै कारण यसअघि नै विश्व क्रिकेट लिग २ का सिरिजहरु, आईसीसी टेस्ट च्याम्पियनसिप सहित अन्य ठूला प्रतियोगिता स्थगित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment