Comments Add Comment

राष्ट्रिय स्वाभिमानको मूल्य कति ?

सन् २०१९ सेप्टेम्बर १७ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७४औं महासभालाई सम्बोधन गर्ने क्रममा वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गौतम बुद्ध’ भारतमा जन्मेका हुन भनेर घोषणा गरे ।

नेपालको स्वाभिमानलाई मोदीले एउटा बोलीको भरमा बेच्न लागे ।

सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपमा पूरै टिमले तीन हजार ६१ अमेरिकन डलर लिएर मिलेमतोमा खेल हारेका थिए । उक्त पैसा दामासाहीका आधारमा खेलाडीहरूले बाँडेर लिएको तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । प्रहरीले ‘म्याच फिक्सिङ’मा फुटबलका राष्ट्रिय कप्तान सागर थापासहित पाँचजनालाई पक्राउ गरेको थियो । खेलाडीले डलरसँग स्वाभिमान साट्न लागिपरेका थिए।

केही दिनअगाडि सगरमाथाको तस्वीरहरू राखेर चीनको राष्ट्रिय टेलिभिजन (चाइना ग्लोबल टेलिभिजन नेटवर्क) ले सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गर्‍यो । नेपालको स्वाभिमानलाई एउटा टेलिभिजनले दाउमा राख्यो।

पूरै विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला भारत भने नेपाली भूमि कब्जा गर्नमै व्यस्त रह्यो । यो समयमा लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर र कैलाश जाने सडक मार्गको शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्सबाटै उद्घाटन गरे।

भारतले नेपालको स्वाभिमानसङ्ग खेलवाड गर्‍यो।

केही दिनअगाडि सिंहदरवार नजिकै चिनियाँ नागरिकहरूले नेपालको सुरक्षा निकायको जिम्मा पाएका नेपाल प्रहरीमाथि हातपात गरे । डीएसपीसमेत गरेर अन्य प्रहरीहरू घाइते हुन पुगे । विदेशीहरू नेपालको भूमिमा नै आएर सुरक्षाकर्मीमाथि हातपात गरेर स्वाभिमानी नेपालीको धज्जी उडाउन लागि परे ।

पूर्खाहरूको गर्विलो इतिहासलाई हौसलाको माध्यम बनाएर एक्काइसौं शताब्दी पार गर्नै लागेका हामी स्वाभिमानी, निडर र साहसी नेपाली इतिहासको विभिन्न कालखण्डबाट स्वाभिमानलाई बचाउँदै यहाँसम्म ल्याउन सक्ने हामी सक्षम नेपाली। देश नरहे हामी रहन सक्छौँ ? आज देशै नरहने हो कि भन्ने चिन्ता हुन थालिसकेको छ । हामीले बाहिरी देशको हस्तक्षेप सहन सक्छौँ ? तर, हस्तक्षेप सहँदै बाँच्न प्रयास गरिरहेका छौँ। हामी स्वाभिमानको मूल्य तोक्न सक्छौँ ? तर, अप्रत्यासित रुपमा स्वाभिमानको मूल्य तोकिँदैछ। देशको राजनीतिक शक्तिलाई दुरुपयोग गरेर देशकै व्यक्तिद्वारा स्वाभिमान बेचिँदैछ। लोकतान्त्रिक समाजवादी व्यवस्थालाई निरन्तरता दिनका लागि स्वाभिमान चाहिन्छ भन्ने कुरा भुलिँदैछ।

सन् १९६२ को समयतिर भारत चीनसँग युद्धको दौरानमा हुँदा भारतले काली नदी हुँदै नेपालको केही भूभागहरू अतिक्रमण गर्न सुरु गरेको कुरा सबैलाई थाहै होला । भारतले नेपाली भूमि अतिक्रमण गर्ने निरन्तर कार्यलाई निरन्तरता दिँदै लिम्पियाधुरादेखि लिपुलेकसम्म करिब ३२० वर्ग.किमि क्षेत्र कब्जा गरेर आफ्नो सेनाहरू तैनाथ गर्न सुरु गरिसकेको थियो ।

स्वाभिमानको मूल्य त्यतिबेलादेखि नै तोक्न सुरु भइसकेको थियो जब इन्डियाले नेपाली भूमिमाथि यसरी बलात्कार गरिरहँदा नेपालले आफ्नो भूमि फिर्ता ल्याउन केही पहल गर्न सकेन । केवल टुलुटुलु हेरी मात्रै रह्यो।

भारतले अघिल्लो वर्ष कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्रलाई आफ्नो क्षेत्रभित्र राखेर आफ्नो पोलिटिकल म्याप सार्वजनिक गरेको थियो। त्यही समयमा नेपालले त्यसप्रति आपत्ति जनाउँदै भारतलाई भूमि फिर्ता गर्नुपर्ने मागसहित कूटनीतिक सन्देश भने पठाएको थियो।

तर, केही समयपछि त्यो घटना त्यत्तिकै सेलायो । उक्त सन्देश कार्यान्वयन हुन सकेन । कारण हो, भारतको प्रशासन संयन्त्र बलियो र दिगो हुनु अनि नेपालको कमजोर र फितलो हुनु । यसले गर्दा सीमासम्बन्धी नेपालका समस्याहरू ज्युँ का त्युँ छन् र समयमा नै समाधान हुन सकेका छैनन। नेपालको सीमामा भारतको दादागिरी यथावत छ। सुत्दा नेपाली भएर सुत्छन् उठ्दा भारतीय बन्छन्।

त्रिदेशीय बिन्दुमा रहेको लिपुलेक क्षेत्रबारे पटकपटक विवाद उत्पन्न के कारणले भइराखेको छ ? यो प्रश्न आजको मितिसम्म अनुत्तरित रहेको छ। यो विषयमा कतिपय विज्ञहरूले सरकार भारतससँग डराएको हुनाले यो विषयमा मुद्दा उठाउन नचाहेको बताएका छन् । भने कतिपयले सरकार सञ्चालकले ‘व्यक्तिगत स्वार्थ’ का कारण त्यो विषयलाई बेवास्ता गरिरहेको बताउँछन् ।

देशका नेता/ जनप्रतिनिधिहरुले सीमा मिचिएको, भारतले आफ्नो देशको भूमि प्रयोग गरेर सडक उद्घाटन गरेको कुराहरू आफूलाई थाहासम्म नभएको बताउँछन्। भारत वा चीनले केही आर्थिक सहयोग गरेको बहानामा उसप्रतिको मनोवैज्ञानिक झुकावको कारण आफ्नो राष्ट्रप्रतिको भक्तिभाव शून्यमा झार्नु स्वाभिमानको मूल्य तोक्नु हो । स्वाभिमानलाई कौडीको भाउमा बेच्नु हो । देशको छाडा राजनीतितन्त्र र केही थान प्रशासनिक ढोगतन्त्रीहरूले गर्दा स्वाभिमान खिइँदै गइराखेको हो।

राष्ट्रिय अखण्डतासँग प्रत्यक्ष रुपमा जोडिएको सीमा-सुरक्षाको विषयमा चासो देखाएर उपलब्धिमूलक तरिकाले कामहरू नगरिनु सरकारको एउटा गल्ती हो भने भूमि भारतले मिच्दासमेत आफूलाई थाहा नभएको जस्तो गर्नु अर्को गम्भीर गल्ती हो । राज्यको यस्तो संयन्त्रले मुलुकलाई छिटै टुटाउन र फुटाउन सहयोग गरिराखेको हामी महसुस गर्न सक्छौं।

पछिल्लो समय आन्तरिक कलहका कारणले गर्दा पनि राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानमाथि आँच आइराखेको छ । यो समयमा देशका सबै राष्ट्रवादी, देशभक्त र आम जनताको उच्च स्तरको सतर्कता तथा ऐक्यबद्धताद्वारा देशलाई बचाउन आत्मनिर्भर बनाउन सकियो भने हामी आफैँ स्वाभिमानी हुने छौँ । हाम्रो स्वाभिमान बिक्री हुने छैन । हामीले स्वाभिमानको मूल्य तोकिन दिनुहुँदैन।

देशको स्वाभिमान यसरी नै कौडीको भाउमा बेचिँदै गयो भने हामी नेपाली नेपाली रहँदैनौं। यसको ठूलो घाटा हामी आफैँ ब्यहोर्नुपर्नेछ।

देशको कुनै पनि व्यक्ति वा कुनै पनि राजनीतिक शक्तिबाट देशको स्वाभिमानमा आँच आउने काम कदापि नहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment