+
+
Shares

हवाई उद्योग बचाउने हो भने पर्यटन बच्छ

'हामी एकजना पनि कर्मचारी कटौती गर्दैनौं'

बीरेन्द्रबहादुर बस्नेत (प्रवन्ध निर्देशक, बुद्ध एयर) बीरेन्द्रबहादुर बस्नेत (प्रवन्ध निर्देशक, बुद्ध एयर)
२०७७ वैशाख ३१ गते १०:१७

कोरोना भाइरसको संक्रमण बढेसँगै संसारभर लकडाउन गरिएको अवस्था छ । नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन । कोरोनाजस्तो महामारीबाट बच्न अहिलेसम्म कुनै पनि प्रकारको भ्याक्सिन नबनेका कारण बन्दाबन्दीको विकल्प पनि छैन । हामीले सरकारको यो कदमलाई सह्रानीय मान्नै पर्छ ।

विश्व स्वास्थ्य संगठनले यस भाइरसलाई महामारीबाट बाहिर निकालेको घोषणा नगरेसम्म उसले दिने सुझाव पालना गर्नुको विकल्प पनि छैन । संसारभरका प्रख्यात संस्था, विज्ञ विशेषज्ञ र वैज्ञानिक यस भाइरसको भ्याक्सिन पत्ता लगाउन अध्ययनमा जुटेका छन् । आशा गरौं, चाँडै नै यसमा सफलता मिल्नेछ । नेपालमा पनि विज्ञहरूले यसको आकलन र अध्ययन पक्कै पनि गरिरहेका होलान् ।

हामी आर्थिक दृष्टिकोणबाट हेर्दा अब चाहिँ लकडाउन क्रमशः खुला गर्दै जानुपर्छ । किनकि यसले अर्थतन्त्र र रोजगारीमा गहिरो असर पारिरहेको छ । निकट भविष्यमा १५/१६ लाख लाख नेपाली विदेशबाट काम गुमाएर घर फर्कने प्रक्षेपण आइरहेको छ।यसले भोलिको दिनमा बेरोजगारी, गरिबी र त्यसका माध्यमबाट उत्पन्न हुने अराजकताको पूर्वआकलन आजै गर्नुपर्छ । भोलि त्यो दिन नआओस् भन्नेमा अब सचेत हुनुपर्छ । त्यसकारण पनि अब अर्थतन्त्रको चक्रलाई पुनर्थापना गर्नतर्फ लाग्नुपर्छ ।

कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र भयो । स्वाभाविक हो यसले नेपालमा पनि पर्यटन प्रभावित बन्न गयो । यसले करोडौं मानिसको रोजीरोटी गुमेको छ । खर्बौं डलरको व्यवसाय नोक्सानी भएको छ ।

नेपालमा नेपाल पर्यटन बोर्डले गरेको एउटा अध्ययनबाट मात्र करिब दुई लाख ७५ हजार प्रत्यक्ष रोजगारी गुम्ने अवस्था आएको छ। तर, पर्यटनमा पर्ने असर कुखुरा उत्पादकदेखि पाउरोटी उत्पादन गर्ने व्यक्तिसम्मलाई पर्छ । फर्निचर निर्माणदेखि भाँडावर्तनसम्मको व्यवसाय यसबाट प्रभावित हुन्छ । त्यसकारण अप्रत्यक्ष रुपमा एक साथ ठूलो क्षेत्रमा पर्यटनमा आएको मन्दीको प्रभाव देखिने छ ।

यो त, क्षतिको कुरा भयो । के अब हामी यथास्थितिमै क्षति भयो, माथि उठ्नै सकिन्न भन्ने सोचमै बसिरहने हो त ? दुखेसो मात्र गर्ने हो त ? या अब केही सिर्जनशील काम गरेर वा त्यो खालको योजना ल्याएर पुनरुद्धारको बाटोमा जाने हो ? अबको चुनौती त्यसतर्फ रहेको छ । नेपालमा पर्यटन अहिले शून्यमा छ । यसमध्ये पदयात्रा वा साहसिक पर्यटकीय गतिविधि तत्काल माथि उठ्ने सम्भावना छैन । त्यसकारण अब पहिलो काम आन्तरिक पर्यटन र त्यसमा पनि बिदा पर्यटनलाई नै प्राथमिकता दिनुपर्छ । हामी सुन्छौं, सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा बिदा पर्यटनलाई समेट्दै छ ।

काठमाडौंबाट आन्तरिक पर्यटकका लागि सबैभन्दा सहज दुई गन्तव्य छन्, पोखरा र चितवन । अनौपचारिक तथ्यांकअनुसार काठमाडौंबाट पोखरा र चितवनमा मात्र करिब ३० प्रतिशत आन्तरिक पर्यटक जान्छन् । लकडाउनपछि अब पहिलो चरणमा हामी यी तीन गन्तव्यबाट पर्यटनलाई जगाउन सक्छौं । त्यो सम्भावना पनि छ । प्रश्न स्वाभाविक रुपमा उठ्नेछ, त्यसो भए महामारीबाट कसरी बच्ने त ?

त्यसकारण हामीले अब कोरोनाबाट बच्ने प्रतिरक्षात्मक निर्देशिका बनाउनुपर्छ र त्यसलाई अब संस्कृतिकै रुपमा अगाडि लैजानुपर्छ । किनकि अब लकडाउनपछि हामी कोरोना महामारीभन्दा अगाडिको जस्तो अवस्थामा त तत्काल पुग्नै सक्दैनौं । यसले एक आमूल परिवर्तन ल्याउँछ । धेरै क्षेत्रमा त्यो परिवर्तन देखिनेछ । त्यसकारण अब महामारीबाट बच्ने एक मात्र उपाय नै प्रतिरक्षा अपनाउनु हो ।

पाइला-पाइलामा प्रतिरक्षाका उपाय अपनाउनुको अब हामीसँग विकल्प छैन । त्यसका लागि पर्यटन व्यवसायमा निर्देशिका बनेका छन् । यसको अक्षरश: पालना हुनैपर्छ । यसको अनुगमन पनि कडाइका साथ लाग्नुपर्छ । एयरलाइन्सतर्फ बुद्ध एयरले पूर्णसुरक्षा निर्देशिक बनाएर कार्यान्वयनमा लैजानुपर्छ ।

होटेल, बोटिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, रेस्टुरेन्ट, हात्ती सफारीलगायत सबै पर्यटकीय गतिविधिको छुट्टै निर्देशिका आवश्यक पर्छ । अबको मुख्य लक्ष्य नै हाम्रो गतिविधिका माध्यमबाट कोरोना नसरोस् भन्ने हुनुपर्छ । कोही व्यक्ति बिरामी छ भने ऊ घरबाट बाहिर निस्कनु भएन, व्यक्ति आफैँ सचेत हुनुपर्‍यो ।

जब राज्यले लकडाउन खोल्छ, त्यसपछि हामीले आन्तरिक पर्यटन स्थापना गर्नैपर्छ । त्यसपछि क्रमशः हामी बाहृय पर्यटक आकषिर्त गर्नेतर्फ लाग्नुपर्छ । किनकी हरेक समस्याले सम्भावना पनि बोकेर ल्याएको हुन्छ । हामी दुई ठूला छिमेकी मुलुकको बीचमा अवस्थित छौं ।

भारतबाट वाषिर्क ४ करोड र चीनबाट वार्षिक १० करोड मानिस अहिले घुमघाममा निस्कछ । यो संख्याको थोरै अंशमात्र नेपाल ल्याउन सकियो भने पनि त्यो हाम्रो लागि ठूलो हुनेछ । त्यसकारण अब हामीले पहिलो चरणमा तीनवटा गन्तव्य (पोखरा, चितवन र काठमाडौं) लाई कोरोनामुक्त बनाउन र यहाँ सञ्चालनमा रहेको गतिविधिले यसको संक्रमण बढ्दैन भन्ने आश्वस्त बनाउने गरी तयारी थालौ‌ँ ।

राज्यले पनि पहिलो चरणमा यी गन्तव्यलाई सुरक्षित पार्न हरसम्भव प्रयास गरोस्, हामी व्यवसायीले पनि त्यसमा पूर्ण साथ दिनुपर्छ । पहिलो चरणमा कम्तीमा तीन वटा सहरलाई त हामी पूर्ण सुरक्षित राख्न सक्छौं । किनकि थाइल्याण्ड र कम्बोडियाले अगस्टपछिका लागि अनौपचारिकरुपमा चिनियाँ पर्यटकको बुकिङ सुरु भइसकेको छ । यो बाटोमा क्रमशः हामी पनि जानैपर्छ । सुरक्षित गन्तव्यका रुपमा नेपालले अब क्रमशः पर्यटकीय गतिविधि प्रारम्भ गर्नुको अर्को विकल्प छैन । सोहीकारण बुद्ध होलिडेजमार्फत हामीले पहिलो चरणमा काठमाडौंबाट पोखरा र चितवनमा लकडाउनपछिको होलिडे प्याकेज सुरु गर्दैछौं । यसबाट हामीले पर्यटन उठ्दैछ है भन्ने सन्देश पनि प्रवाह गर्नुपर्छ ।

अब मुलुकभित्र निराशामात्र जगाउने हो भने निकै भयाभह अवस्था आउन सक्छ । त्यसकारण जसले जहाँबाट सक्छ, त्यहाँबाट आशाका किरणहरू प्रारम्भ गर्नुपर्छ । मुलुकले बेरोजगारीको समस्या थेग्न मुस्किल पर्ने अवस्थामा आर्थिक गतिविधि पुनर्स्थापना हुने नयाँ अवसरको खोजी पनि त थाल्नुपर्छ । हामीसँग अवसर छ। किनकि चीन र भारत दुवै सिमाना जोडिएका गन्तव्य हुन् । बीचमा कुनै अर्को मुलुकमा ट्रान्जिट नगरी सिधै पर्यटक नेपाल आउन सक्छ । अब चीन र भारतका नागरिकलाई तत्काल बेलायत, अमेरिका र अस्ट्रेलियाका गन्तव्य सहज हुने छैनन् ।

लकडाउन विज्ञको सिफारिसमा सरकारले गर्ने निर्णयमा भरपर्छ । सरकारले मे महिनाभर उडानमा प्रतिबन्ध लगाएको छ । जोखिमलाई ध्यानमा राख्दै, त्यो कायम रहृयो भने त्यसलाई मान्नुको विकल्प छैन । तर, खुला भयो भने कम्तीमा हाम्रो कम्पनीले पर्यटकीय गतिविधि प्रारम्भ गर्छ । किनकि अब उत्साह ल्याउनैपर्छ । स्वाभाविक हो, दैनिकी केही असहज हुन सक्छ । खाना खाने बेला मुखमा मास्क नछुट्न सक्छ । तर, हामी फेरि उठ्नुको विकल्प छैन ।

हिजो दुई लाख चिनियाँ आइरहेकोमा घुमफिर गर्न नपाएर उकुसमुकुस भएको १० लाख पर्यटक नेपाल आउने सम्भावना त छ नि । हामीले त्यो अवसरलाई सम्भावनामा बदल्न सक्छौं । किनकि नेपालमा अहिलेसम्म देखिएका संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन । संक्रमितमध्ये एकजनालाई पनि भेन्टिलेटरमा राख्नु परेको छैन । निको भएर घर फर्कने बिरामीको संख्या पनि राम्रो छ । यो त हाम्रो लागि खुसीको कुरा हो ।

आशा गरौं, भोलि सबैलाई निको होस्, यहाँको हावापानीले पनि भाइरसलाई जित्न सकोस्, कम्तीमा भारतीय र चिनियाँ पर्यटकलाई प्रबर्द्धन नगरी नै ल्याउन सक्छौं । यो अवसरमा अब गृहकार्य थालौं । पोखरा, काठमाडौं र चितवनलाई सुरक्षित बनाएर यहाँ पर्यटकीय गतिविधि थालौं । यी गन्तव्य सुरक्षित छन् भन्ने पुष्टि गरौं । त्यसमा राज्यले साथ देओस्।

अर्कोतर्फ नेपालमा नयाँ बजेट ल्याउने समय नजिकिएको छ । बजेटको प्राथमिकता भने कोरोनाबाट मुक्तिमै लक्षित हुनुपर्छ । बढीभन्दा बढी परीक्षण किटको खरिदमा सरकारले लगानी बढाउनुपर्छ । हवाई उद्यमीका रुपमा हाम्रो एक मात्र माग हवाई इन्धनको मूल्यमा कटौती होस् भन्ने हो ।

विश्वका धेरै देशले हवाई इन्धनबाहेक अन्य इन्धनमा कोरोना कर लगाउन लागिसकेका छन् । हाम्रो माग पनि हवाई इन्धन सस्तो हुनुपर्छ। अन्य इन्धन भने भारतमा भन्दा नेपालमा एक रुपैयाँ भए पनि महँगो हुनुपर्छ । नेपाल भित्र विद्युत् उत्पादन खपतभन्दा माथि भइसकेको अवस्थामा अब विद्युतीय चुलो र यसको प्रयोगलाई अधिकतम प्राथमिकता दिनुको विकल्प छैन । हवाई उद्योग बचाउने हो भने पर्यटन बच्छ । त्यसकारण बजेटमा हाम्रो एक मात्र माग हवाई इन्धनको मूल्य कटौती होस भन्ने नै हो ।

किनकि भोलि लकडाउनपछि आन्तरिक रुपमा यात्रु त आवतजावत गर्छ । त्यसबेला सडकमार्गबाट आठ घण्टाको यात्रा गर्नुभन्दा आधा घण्टाको उडान तुलनात्मक रुपमा सुरक्षित हुनेछ । हामीसँग सुरक्षा निर्देशिका पनि रहेको छ ।

मध्यमवर्गीय परिवारलाई हवाई यात्रामा आकर्षित गर्न सकियो भने अहिले हामीले भोगिरहेको ठूलो घाटा पनि हामी व्यापारका माध्यमबाट पूरा गर्न सक्छौं । किनकि स्वाभाविकरुपमा यतिबेला उद्योग संकटमा रहेको छ । तर, बुद्ध एयरको हकमा भने हाम्रो मुख्य सम्पत्ति नै कर्मचारी हो ।

त्यसकारण हाम्रो २३ वर्षको इतिहासको सफलताका पछाडि कर्मचारीको हात रहेका कारण हामी एकजना पनि कर्मचारी कटौती गर्दैनौं । कम्तीमा सेप्टेम्बरसम्म हामी सहजै चल्न सक्ने अवस्थामा हुन्छौं । त्यसपछि त स्वाभाविक रुपमा आन्तरिक उडान खोल्नुको विकल्प छैन । त्यतिञ्जेल हवाई उद्योगले जोखिम थेग्नुको विकल्प छैन ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?