Comments Add Comment

महामारीको पाठ : जैविक विविधता संरक्षणको खाँचो

अहिले विश्व अर्थतन्त्रको अध्ययन गर्ने हो भने यो करिव ८० ट्रिलियन अमेरीकी डलर छ । वैज्ञानिकहरु अहिलेको भौगोलिक कालखण्डलाई ‘होलोसिन‘ भन्छन् । यो कालखण्ड समग्र हेर्ने हो भने मानव जातिलाई उपलब्धि मुलक रह्यो । तर, प्रकृतिले दिएको जीवन उपयोगी स्रोतलाई उसले बिर्सिदै गएको छ । जसले गर्दा अनुसन्धानकर्ताहरु अबको कालखण्डलाई ‘एन्थ्रोपोसिन‘ भन्छन्, जसको अर्थ हो हाम्रो पृथ्वी मानवको नकारात्मक कार्यले यसको अस्तित्व नै संकटमा आउनु हो ।

कुनैबेला प्रकृतिको अभिन्न अंग भएर उदाएको मानव जाति अहिले त्यहि प्रकृतिलाई बिर्सेको झै गर्दैछ । अर्थात उसले आफ्नो धरातल बिर्सेको छ । यसको पछिल्लो उदाहरण हो, कोभिड १९ महामारीको उदय ।

मानवको एकहोरो प्रकृति दोहन, खण्डीकरण र विनासले हाम्रो पारिस्थिकिय प्रणाली नै उच्च जोखिमा छ । यो बढ्दो जोखिम संगै उसले प्रकृतिको निर्मम रुप पनि झेल्दै आएको छ र अहिले यो महामारीको रुपमा प्रकट भएको छ ।

प्रकृति विनास संगै रोगहरु वन्यजन्तुबाट मानवमा प्रवाह भएको बताईन्छ जसलाई जुनोटिक रोग भनिन्छ । यस्ता रोगहरु जति वन्यजन्तुको वासस्थान विनास हुदै जान्छ, त्यति नै छिटो विविध रुपमा विकास भई मानवलाई आक्रान्त पार्दछ ।

मानवको एकहोरो प्रकृति दोहन, खण्डीकरण र विनाशले हाम्रो पारिस्थिकीय प्रणाली उच्च जोखिमा छ । यसले प्रकृतिको निर्मम रूप पनि झेल्दै आएको छ र अहिले यो महामारीको रूपमा प्रकट भएको छ

यसरी वन्यजन्तुबाट (जसलाई ‘होष्ट’ भनिन्छ) मानवमा सर्दा प्राय जस्तो घरपालुवा जनावरलाई माध्यम बनाई ( जसलाई ‘भेक्टर’ भनिन्छ) सरेको अनेकन दृष्टान्तहरु छन् । यसलाई वैज्ञानिकहरु ‘स्पिल ओभर प्रभाव’ भन्दछन् ।

अनुसन्धानकर्ताहरु भन्छन् यस्ता जुनोटिक रोगहरु मानवलाई हुने सङक्रमण रोगको ६० प्रतिशत र अहिले देखापरेको सङक्रमण रोगको ७५ प्रतिशत सम्म हिस्सा ओगटछन् । यसरी स्तनधारी वन्यजन्तुबाट मानवमा सङक्रमण हुनै जीवाणुहरु दश हजारभन्दा बढी छन् जुन मानव जातिलाई निकै खतरनाक हुन्छन् ।

विश्व स्वस्थ संगठनले कोभिड १९ वन्यजन्तुबाट मावनमा सरेको प्रारम्भिक आनुमान गर्दे गर्दा यसले लाखभन्दा बढी मानिसहरुको मृत्यु भइ सकेको छ, कैयन सङक्रमित भई मृत्युको सङघारमा छन् । विश्व अर्थतन्त्र धरासायी हुदै गएको छ भने गरिबीको संख्या हामीले साधारण रुपमा अनुमान गरेको भन्दा काहाली लाग्दो हुने प्रक्षेपण भएको छ ।

यसरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विश्वलाई नै आक्रान्त पार्ने पहिलो जीवाणु भने होइन यसभन्दा पहिले ‘सार्स’ भन्ने रोग फैलिएको थियो जुन निर बिरालोबाट , ‘मार्स‘ भन्ने उँटबाट, ‘ईबोला’ पश्चिम अफ्रिकाको वन विनास भई वन्यजन्तुसंगको भौतिक निकटताबाट, ‘एभियन फ्लु’ अत्याधिक पाउलट्रि व्यवसाय र ‘निफा’ भाइरस मलेसियाको अत्याधिक सुंगर व्यवसायबाट मानवमा सरेको अध्ययनले बताईएको थियो ।

तर, यसरी वन्यजन्तुबाट सरिन्छ भनेर उल्लेख गर्दा वन्यजन्तु प्रति झनै नकारात्मक बिचार हुन सक्छ जुन गलत हो । जस्तै, धेरै महामारीको कुरा गर्दा ‘चमेरो’को प्रसङ्ग आउँछ । तथापी यसको प्रमुख जड मानव र उसको क्रियकलापसंग जोडिएको हुन्छ ।

जब मानवले चमेरोको वासस्थानलाई कृषिको लागि भूउपयोग परिवर्तन गर्छन, वन विनास गर्छन तव यी सबै जोखिम बढ्दछ । जबकी चमेरो प्रकृतिको महत्वपूर्ण प्रणाी हो जसले रात्री परागसेचन र किराहरुलाई आफ्नो आहारा बनाई पारिस्थिकिय प्रणालीलाई कायम राख्दछ ।

यसरी वन्यजन्तुको चोरी, शिकार, अवैध व्यपार र त्यसको खपतले मानव आफैले आफ्नो अस्तित्व जोखिमा राखेको छ ।

संयुक्त राष्टसंघको वातावरण कार्यक्रमका वन्यजन्तु सम्बिन्ध प्रमुख डोरीन रोबिन्सका अनुसार मानव र प्रकृति एक आर्कामा गाँसिएका छन् । प्रकृतिले खाद्य पदार्थ, औषधी, पानी, सफा हावा जस्ता धेरै फाइदाहरु मानवलाई दिएको हुन्छ, जसले उ सहजसंग बाँच्न सकेको हुन्छ । त्यस्तै, संयुक्त राष्टसंघको वातावरण कार्यक्रमकाकै २०१६ मा प्रकाशन भएको एक प्रतिवेदन अनुसार वन्यजन्तुबाट सर्ने रोगले मानव र वन्यजन्तुको अस्तित्व, आर्थिक विकास र पारिस्थिकिय प्रणालीलाई घातक असर पुर्‍याउँछ ।

यस्ता रोगले केही वर्ष अघिसम्म झण्डै महामारीको रुप लिई सकेको थियो । इबोला, बर्ड फ्लु, रिफ्ट भ्याली फिभर, निफा भाइरस, वेष्ट नाइल भाईरस, जिका भाईरस जस्ता खतरनाक रोगहरु मानवले झेलिसकेका छन् । भनिन्छ, प्रलय बाजा बजाएर आउँदैन तर यहाँ महामारी शंख र विगुल बजाएर आएको छ । यसरी आएको जाखिम हामी सबैको कमजोरीको कारण हो ।

विषेश गरी, वासस्थान विनास, चोरी शिकार, व्यपार, प्रदुषण, आतिक्रमित प्रजातिहरु र पछिल्लो निकै चर्चा र बहसमा रहेको विषय जलवायु परिवर्तलाई मानिन्छ । जलवायु परिवर्तन यस्तो अवस्था निम्त्याउनुको प्रमुख कारकहरु मध्यको रुपमा एक हो भन्दा दुई मत नहोला । जलवायु परिवर्तनको प्रभाव सिमित क्षेत्रमा मात्रै छैन यसले पृथ्वीको हरेक प्रणालीलाई असर गरेको छ । यस्तो अवस्थामा कोभिड १९ जस्तो महामारीलाई उत्पन्नदेखि फैलिनसम्म यसले सहयोग गर्दछ ।

प्रकृतिको वरदान बहुआयामिक छ । यसले मानवको स्वास्थ्यदेखि विकाससम्म महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानवले गरेको वातावरण ह्रासले वन्यजन्तुको संख्याको संरचना तथा विविधतामा ह्रास आई जीवाणुहरुलाई मदत पुग्ने वातावरण सिर्जना गर्दछ ।

प्रोफेसर जोहन रकष्ट्रोम, जो स्वीडेनको स्टकहोम विश्वविद्यालय अन्र्तगत स्टकहोम रेजिलियन्स सेन्टरमा कार्यरत छन् र उनका साथीहरुले स्थापना गरेको नौंवटा ‘प्लानेटरी बाउड्री’ ग्रहीय सिमानाहरु जुन वैज्ञानिक अनुसन्धानमा आधारित छ, त्यस अनुसार जैविक विविधताको ह्रास निकै उच्च छ ।

उनीहरुको अनुसार सामान्यतय वार्षिक प्रजाति लोप दर दश लाख प्रजाति मा दश वटा प्रजाति हो । तर, अहिलेको कालखण्ड ‘एन्थ्रोपोसिन’मा मानवले प्रकृति माथि गरेको दोहनका कारण भने यो दर सयदेखि हजार गुणा बढेको छ ।

र, यही रुपले अगाडि बढे यो दर बढेर हजारदेखि १० हजार गुणासम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ । तसर्थ यस्तो अवस्थामा हामी सबै आफ्नो वा सीमित वर्गको हितका लागि भन्दा माथि उठेर विश्व समाजलाई बचाउन स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा जैविक विविधता संरक्षणको लागि सड्ढल्प गरी ऐक्यवद्ता जनाउनबाहेक विकल्प छैन ।

(पाठक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सहायक संरक्षण अधिकृत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment