Comments Add Comment

अस्पताल भर्ना भएका बिरामीलाई ५ हजार

३१ वैशाख, काठमाडौं । नागार्जुन नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारणले उपचार खर्च अभाव नहोस् भनेर ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र सुत्केरी सबैलाई जनही रु पाँच हजार दिन थालिएको नगरपालिकाका प्रमुख मोहनकुमार बस्नेतले जानकारी दिए ।

उनले अस्पतालमा भर्ना भएका बिरामीलाई रकम उपलब्ध गराइएको बताए । नगरपालिकाले लकडाउनका बीचमा छ महिनासम्मका सुत्केरी र शिशुलाई समेत जनही रु ५ हजार उपलब्ध गराउँदै आएको छ । उनका अनुसार, अस्पतालमा भर्ना भएका र वडा कार्यालयको सिफारिस लिएर आउने बिरामीलाई आर्थिक सहयोग गरिएको छ । अहिलेसम्म १० बिरामीले आर्थिक सहयोग लिएका छन् ।

यसैगरी, नगरपालिकाबाट सञ्चालित खानेपानीमा दुई महिनाको महसुल छुट गरिएको छ । लकडाउनका समयमा कहीँकतै आम्दानीको स्रोत नभएपछि नगरवासीलाई दुई महिनाको खानेपानी महसुल छुट गरिएको प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार, चैत र वैशाखको खानेपानी महसुल छुट गरिएको हो । नगरपालिका मातहतका ४० उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आएको छ ।

ती उपभोक्ताले रु ६०० देखि चार हजारसम्म चैत र वैशाख महिनाको छुट पाउनेछन् । यसैगरी नगरपालिकाले लकडाउनका समयमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । उपप्रमुख सुशीला अधिकारीले लकडाउनका समयमा सडक, विद्युतको पोल गाड्ने र खानेपानीका काम सञ्चालन भएको बताइन् । कामदारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएर कामलाई निरन्तरता दिएको उनको भनाइ छ ।

अहिले प्रत्येक वडामा सडक निर्माणको काम भइरहेको छ । नगरपालिकाले सीतापाइला, रामकोट, भीमढुङ्गा, धादिङ सडकखण्डको ११ किलोमिटर बाटोसमेत बनाइरहेको उपप्रमुख अधिकारीले जानकारी दिइन् । उनले मंगलबारदेखि आफू विकासनिर्माणका कामको अनुगमनमा पनि निस्केको बताइन् ।

‘आर्थिक वर्ष सकिन थालेकाले विकास निर्माणका काम के कति भइरहेका छन् त्यसको अनुगमन गर्न थालेका छौं,’ उनले भनिन्, ‘अति आवश्यक काम हामीले सामाजिक दूरी कायम गरेर सम्पन्न गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment