Comments Add Comment

एसईई जारी राख्ने कि खारेज गर्ने ?

पहिले फाट्टफुट्ट रुपमा उठ्ने एसईई परीक्षाको खारेजीको माग अहिले व्यापक रुपमा उठ्न सुरु भएको छ । विशेष गरी कोरोना महामारीका कारणले एसईई परीक्षा सुरु हुनभन्दा अघि नै भएको लकडाउन अझ कति दिन थप जारी रहने भन्ने टुङ्गो छैन । यसको तयारी गरी बसेका विद्यार्थी र अविभावकहरुमा तनाव र अन्योल बढिरहेको छ । यहीबेला एसईई अब सदाका लागी खारेज नै गरौं भन्ने बिचार विभिन्न पक्षबाट आईरहेको छ ।

एसईई खारेज गर्नुको आखिर के फाइदा छन् त ? एसईई खारेज गर्ने हो भने गाउँघरका स्थानीय विद्यालयहरुलाई प्रत्यक्ष फाइदा हुन्छ । कतिपय विद्यार्थी र तिनका अविभावकसमेत १० कक्षासम्म स्थानीय विद्यालयमा पढेर ११ कक्षाका लागि शहर बजार वा राजधानी जाने/पठाउने गर्छन ।

यसले गर्दा एकातर्फ परिबारमा आर्थिक भार थपिन्छ भने अर्कोतर्फ कम उमेरका केटाकेटी डेरा, होस्टलमा बस्दा मानसिक तनाव र असुरक्षामा पर्छन् । कुलत वा कुसङ्गतमा पर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

एसईई दिनका लागी मात्रै कतिपय ग्रामीण क्षेत्रका विद्यार्थीहरु घरभन्दा टाढा सदरमुकाममा डेरागरी बस्न बाध्य छन् । घरभन्दा टाढा एक्लै बसेर परीक्षा दिने तनाव एकातर्फ छ भने पकाउने, खाने जोहो र अपरिचित स्थानमा अशुरक्षाको त्रास बेग्लै छ । गएको बर्ष नै एसईई दिन घरभन्दा टाढा बसेकी किशोरीको बलात्कार र हत्या भएको घटना स्मृतीमै छ ।

१५/१६ बर्ष भित्रैका केटाकेटी एसईई (पहिला एसएलसी) का नाममा बर्षौदेखि अनावश्यक तनाव बोक्न बाध्य छन् । कतिपय बिध्यालयहरुले एसईई तयारीलाई ठूलै हल्ला मचाएर थप कमाउने दाउ गरिरहेकै छन् ।

नौ/दश कक्षामा अनिवार्य होस्टल र ट्यूसन, कोचिङ्ग कक्षाका नाममा आर्थिक लूट राजधानीमा समेत जारी छ भने गाइड र गेसपेपरका नाममा पनि करोडौंको कारोबार जारी छ । आजभन्दा ३० औं बर्ष पहिले ९/१० कक्षा पढ्दा कतिपय शिक्षकहरुले एसएलसी पास गर्ने हो भने आफ्नो घरमा ट्यूसन पढ्न आउन दवाव दिएको मेरै अनुभव छ । ‘आइरन गेट’ को नाममा आतंक र तनावको प्रतिफल परीक्षामा अनुत्तिर्ण हुने वा थोरै अंक पाउने कतिपय केटाकेटीले पढाइ वा घरै छाड्ने वा आत्महत्या गरेका घटना समेत यथेष्टै छन् ।

एसईई पश्चात ११/१२ मा शहर बजारको चाहेको विद्यालयमा भर्नाका लागि पनि पर्याप्त भनसुन चाहिन्छ भने तयारी कक्षाका नाममा अर्को कारोबार समेत चलेका छन् । यी तयारी कक्षाका नाममा चर्को शुल्क एकातिर अशुलिन्छ भने भर्ना लिने विद्यालयसँग लिने कमिशनको खेल पनि जारी छ जसको अन्तिम भार विद्यार्थीकै अविभावकलाई पर्ने गर्छ ।

१२ कक्षासम्मलाई माध्यमिक शिक्षा बनाइसकेपछि १० कक्षाको परीक्षालाई एसईईको बाहनामा विद्यार्थी र अविभावक लगायत राज्यलाई समेत अनावश्यक समय, साधन र खर्चको भारी बोकाइरहनु कमसेकम अबको समय र सन्दर्भमा उपयुक्त हुँदैन ।

एसईई खारेज गरी यसका लागि खर्च हुँदै आएका श्रम, साधन र श्रोतलाई माध्यमिक शिक्षाकै विकासमा लगाउन उपयुक्त हुन्छ । १२ कक्षासम्म नियमित विद्यालय शिक्षा र १२ कक्षा पश्चात एसईई को ब्यवस्था लागु गरिएमा स्थानीय विद्यालयहरुको स्तर समेत बढ्ने छ र सदरमुकाम वा राजधानी शहरहरुमा अनावश्यक भिड घट्न गई स्थानीय ठाउँ र गाँउघरको बिकासमा मद्दत पुग्ने छ ।

एसईई सकेको बाहनामा शहर पसेका कलिला उमेरका केटाकेटी सहरको रमझममा अल्मलिने र पछि गएर गाउँघर फर्किन नचाहने प्रवृत्ति पनि देखिएका छन् ।

१२ कक्षासम्म नियमित स्थानीय विद्यालयमै पढ्न पाएमा ति कलिला केटाकेटीहरु घरकै सुरक्षा घेरामा बसेर पढ्ने र अलि परिपक्व भइसकेपछि मात्र बाहिर जाने हुँदा समय, साधन र श्रोतको सदुपयोग स्थानीयरुपमै बढी हुने र स्थानीय विकासमा टेवा पुग्ने सम्भावना बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment