Comments Add Comment

मध्यरातमा नेपाल र भारतका नागरिक आदानप्रदान

६ सय बढी नेपाली नेपालगन्ज नाकाबाट भित्राइयो, १४ सय बढी भारतीयलाई पठाइयो

२ जेठ, काठमाडौं । लकडाउनका कारण भारतमा रोकिएका ६ सय ८७ जना नेपालीहरुलाई नेपालगन्जको सीमा नाकाबाट नेपाल भित्राइएको छ । यस्तै नेपालतर्फ रोकिएका १ हजार ४ सय ८३ जना भारतीयलाई सोही नाकाबाट भारततर्फ पठाइएको छ ।

दुवै देशका सुरक्षा अधिकारीहरुबीच भएको सहमतिअनुसार लकडाउनमा रोकिएका २ हजार बढी नागरिकलाई ल्याउने र लैजाने काम भएको हो । यो क्रम बिहीबार साँझ ७ बजेदेखि मध्यरातिसम्म चलेको थियो ।

भारतबाट ल्याइएका नेपालीहरु झापादेखि कञ्चनपुरसम्मका ४३ जिल्लाका बासिन्दा छन् । बाँकेका २ सय १४ र बर्दियाका ६ जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई भने नेपालगन्ज भन्सार कार्यालय नजिकैको खुला स्थानको अस्थायी क्वारेन्टाइनमा राखिएको छ ।

बाँकेका नागरिकहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरी घर पठाइने र अन्य जिल्लाका नागरिकहरुलाई आरडीटी टेस्ट गरी सम्बन्धित जिल्लामा पठाइने नेपालगञ्ज महानगरपालिकाका मेयर धवल शमसेर राणाले जानकारी दिए ।
यो पनि पढ्नुहोस भारतमा लकडाउन खुकुलो हुँदा दशगजामा नेपालीको चाप

‘उनीहरुका लागि हामीले गाडी लगायतका सबै व्यवस्था मिलाएका छौं । कर्णालीका मान्छे दशगजाको पुरानो क्वारेन्टाइनमा आरडीटी टेस्ट गरेर बिभिन्न जिल्लामा जान्छन् । पाँच नम्बर प्रदेशका जिल्लाहरुको गाडी पनि यही नेपाल गेटमा हुनेछ,’ राणाले भने ।

भारतबाट ल्याइएकाहरु एक नम्बर प्रदेशको झापादेखि सुदूरपश्चिम प्रदेशको कञ्चनपुरसम्मका रहेकाले उनीहरुलाई सम्बन्धित जिल्लामा पठाउन चुनौती रहेको बाँकेका अधिकारीहरु बताउँछन् ।
लकडाउन खुकुलो भएपछि बाँकेको नेपालगन्ज हुँदै घर फर्किन चाहने नेपालीहरुको सीमामा भीड बढ्दै गएको थियो । उनीहरु भारतले गोरखपुरबाट साइकल र पैदल हिँडेर आएको बताएका थिए । भारतको नानपारा क्वारेन्टाइनमा बसेका १७ जना नेपालीहरुले ४७ औं दिनमा नेपाल आइपुगेको बताएका थिए । भारतबाट नेपाल आउन चाहेकाहरुको भिड बढ्दै गएकाले दुवै देशका अधिकारीहरुको सहमतिमा नेपाल भित्राउने र नेपालबाट भारत पठाउने काम भएको हो ।

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा भारतबाट आएका ४ सय ४१ जना छन् । पछिल्लो तीन दिनमा मात्रै ४ सय ७ जना र गत वैशाख २१ गते ३४ जना नेपाल आएका थिए ।

शुक्रबार बिहान कोरोना पुष्टि भएका ९ जना संक्रमितमध्ये ८ जना नरैनापुरका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ का ८ जना पुरुषमा कोरोना पुष्टि भएको हो । अर्का एक जना संक्रमित मकवानपुरको हेटौंडाका हुन् । यससँगै शुक्रबार बिहानसम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या २ सय ५८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment