Comments Add Comment

सौन्दर्य : आजको संघर्ष नै भोलिको जीवन

मेरो पुस्ताले देशमा अँधेरो समयको सामना गर्नुपर्‍यो । देशमा राणा शासनको जगजगी थियो । जुनबेला हामी स्कूल, कलेजमा पढ्थ्यौं, कविहरूको कविता पनि पढ्न नपाइने । विश्वमा आएका आधुनिक विचारका पुस्तक किन्न पनि नपाहिने ।

उही कवि शिरोमणि लेखनाथ पौड्यालका कविता, भक्ति रसका कविताहरू पढ्थ्यौं । अलिकति प्रगतिशील भयो भने ‘बालक बबुरो द्वीजशुकनामा, हुँ म परेको छु पिँजडामा’ भन्ने कविता पढ्न पाइनथ्यो ।

कलेजमा पनि पट्ना यूनिभर्सिटीको कोर्स पढ्नुपर्ने भएको हुनाले इतिहास पनि भारतवर्ष र बेलायतको पढ्नुपथ्र्यो । नेपालको त कुरै छाडौं । किताब पनि छैन, पढ्नु पनि छैन, पढाउनु पनि छैन । त्यस्तो किसिमको समय थियो । पत्रपत्रिकामा पनि कुनै किसिमको नाम चलेको पत्रिका थिएन । पछि साहित्यको फाँटमा ‘शारदा’ निस्क्यो, मासिक पत्रिकाको रूपमा । अर्को एउटा पत्रिका निस्केको थियो उद्योग ।यसमा घरेलु इलम र उद्योगसम्बन्धिका लेखहरू निकाल्थे ।

गोरखापत्र साप्ताहिक निस्कन्थ्यो सानो पेजमा । त्यसमा दुईचारवटा मामुली खबर र लेख हुन्थे । कथा, धाराबाहिक लेख, कविता केही थिएन । एक त त्यतिबेला प्रतिबन्ध थियो । कहीँ कसैले पुस्तकालय खोल्न चाह्यो भने पनि सुराकीले रिपोर्ट पुर्‍याउनेवित्तिकै त्यो पुस्तकालय बन्द गरिन्थ्यो । पुस्तकालयका अभियन्ताहरूलाई दण्ड सजाय हुन्थ्यो । कति लेखकहरू पनि दण्डित भए ।स्वतन्त्र रूपले जमघट हुने अवस्थै थिएन ।

त्यतिबेला हरबखत राणाहरूकै तारिफ गर्नुपर्थ्यो ।‘श्री ५’ को होइन ‘श्री ३’ को चाकडी गर्नुपर्थ्यो । सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको तारिफ गर्नुपथ्र्यो । उसको जन्मदिनमा उसकै गुणगान गाउँनुपर्थ्यो । उसैको नाम राखेर ग्रन्थ निकाल्नुपर्थ्यो । श्री ३ कै तारिफ गरेर चन्द्र निगन्तु (महत्त्वपूर्ण आयुर्वेदको किताब निकाल्दा पनि) जस्तो नाम राखिन्थ्यो ।

चन्द्र शमशेरका पालामा प्रधानमन्त्रीको तारिफ गर्नु परेकाले त्यस्तो नाम राखिएको थियो । कुनै किसिमको साहित्यिक जागरण, चेतना र साहित्यकै तर्फबाट राष्ट्रको पनि उन्नति हुनसक्छ, राष्ट्रको महिमा, प्रतिष्ठा र गरिमा बढ्छ भन्ने थिएन ।

वास्तवमा पढेलेखेका त उनीहरू नै हुन्थे । बाहिर गएर पढ्न सक्ने उनीहरू नै हुन्थे । तर, उनीहरूलाई साहित्य र संस्कृतिमा रस थिएन । एउटै गोरखा भाषा प्रकाशिनी समिति थियो, जुन समितिलाई पछि नेपाल भाषा प्रकाशिनी समिति भनेर नाम राखियो ।

सानातिना प्रार्थनाका किताबहरू, धर्मग्रन्थका किताबहरू, किताब या पर्चाको रूपमा लेख्नुपर्दा समितिबाट पास गराउनुपथ्र्यो । हरेक पेजमा पास गरेको प्रमाणका रूपमा छाप लगाउनुपथ्र्यो । पेजको शीरमा र पुछारमा, दुइटा छाप । त्यो भएपछि मात्र नेपालको प्रेसमा छापिन्थ्यो । नेपालमा सानासाना लेटर प्रेस थिए । समितिबाट स्वीकृत नभएका किताब चाहिँ कतै छापिँदैनथ्यो ।

ज्ञान र चेतनमा विश्वास गर्ने मानिसले देशबाहिर गएर किताब छपाएर ल्याउँथे । लुकीलुकी पढ्थे । किताब छपाएर ल्याएपछि पनि कसैगरी सुधारवादी काम गर्न लाग्यो भन्ने उजुरी पर्‍यो भने, प्रगतिशील विचार भित्र्यायो भन्ने भयो भने सबै किताब जफत हुन्थ्यो ।

किताब जफत भयो भने आपत् पर्छ भनेर तत्कालीन प्रधानमन्त्रीको गुणगान गाएर भूमिकामा लेखिन्थ्यो । शुक्रराज, मार्गराजलाईदयानन्द सरस्वतीको मत प्रचार गरेको भनेर भञ्ज्याङ कटाइएको थियो । धपाइएका मान्छेहरूले पनि उतै शिक्षादिक्षा पाएपछि यहीँका सरकारको गुणगान गाएर, राजाको प्रशंसा गरेर किताब छपाएपछि यिनीहरू त राजावादी नै रहेछन् भनेर देशभित्र आउन दिए ।

प्रशंसामा पनि कहीँकतै चुक्यो भने समस्या हुन्थ्यो । चक्रपाणि शर्मा (नेपाल भाषा प्रकाशिनी समितिमै पण्डित)को छोरो लक्ष्मीनन्दनले कलेज जीवनमा भएको निबन्ध प्रतियोगितामा लेखिएको निबन्धमा एउटा शब्दको प्रयोग गरेछन् नपुंसक राणा ।त्यो निबन्ध जाँच गर्ने बालकृष्ण शमशेर थिए, त्यतिबेला शमशेर नै लेख्थे ।राणाहरूको निम्ति चाकरी गर्न त्योभन्दा ठूलो के हुन्थ्यो ।फलानाफलानाले जाँच गर्दा राणाहरूलाई नपुंसक भनिएको छ सरकार भनेपछि तुरून्तै लक्ष्मीनन्दनलाई झिकाइयो ।

उनलाई जेलचलान गरियो, १२, १५ वर्षका लागि । उनी जेलमै टि.बी. भएर सड्न लागे । चक्रपाणिले ज्यादै दुःखपुकार गरेपछि बल्लबल्ल पण्डितको छोरो भएकाले ल आइन्दादेखि यसो नगर्नू भनेर बाहिर निकाले । केही समयपछि उनी बिते ।

प्रजातन्त्रका लागि लडेको युग

त्यस्तै १९९७ सालको पर्व चल्यो । कहीँकतै पर्चा छर्न पनि नपाइने । तर भित्रभित्र राणाहरूमा कमसेकम नागरिक अधिकार राजनीतिक अधिकार त हुनुपर्‍यो नि, हामीले किन नपाइने भन्ने कुरोलाई लिएर सङ्गठन भयो । प्रजा परिषद बन्यो । त्यो पनि पोल खुलेपछि पर्चा छरेको र गतिविधि गर्न लागेको भन्ने कुराले गर्दा आखिरमा ९७ सालको पर्व भयो । त्यसबखत साहित्यकार मध्येमा सबभन्दा नाम चलेका कवि थिए सिद्धिचरण श्रेष्ठ । उनले आफ्नो मातृभाषामा एउटा वर्षा भन्ने कविता लेखेका रहेछन् । वास्तवमा वर्षा हुँदा के हुन्छ ?

चट्याङ् पर्छ, गड्याङ गुडुङ् हुन्छ, बादल आउँछ, पानी पर्छ पानी परेपछि वर्षा हुन्छ, खहरे आउँछ, सुख्खा भएको दायाँबायाँको खेतमा पानी भरिन्छ, रोपाइँ चल्छ, रोपाइँ भएपछि खेतमा बाली राम्रो हुन्छ इत्यादि ।

यस्तै वर्षाको बयान गरेर कविता लेखे । कवि हृदय हो, रोमाण्टिक टाइपका कवि थिए । उनले के लेखे भने क्रान्ति नभइकन यहाँ सुखशान्ति आउँदैन भनेर उनले अन्तिम निचोडमा लेखे ।

जसरी वर्षाले एउटा परिवर्तन ल्याएर खेतीपाती राम्रो हुन्छ, त्यस्तै समाजमा पनि परिवर्तन चाहिन्छ र जीवन सुखमय हुन्छ । नयाँ तरिका, नयाँ मोड, नयाँ धार आउँछ भन्ने भावनाले लेखिएको हो त्यो कविता । राजनीतिक शब्द केही थिएन । कसैको श्रीपेच उडाउने, कसैको गद्दी ताक्ने त्यस्तो केही पनि थिएन । खाली एउटा परिवर्तनको सङ्केत थियो । उनलाई पनि ९७ सालको मुद्दा लाग्यो ।उनका हक अधिकारसमेतको सर्वस्वहरण भयो । उनीचाहिँ १४ वर्षको जेलसजायँमा जेलको कालकोठरीमा सडिए ।

अझ त्यति मात्र हो र त्यो कविता सङ्कलन गरेर भूमिकामा राजाहरूकै तारिफ गरेर राखिएको छ । त्यो किताब प्रकाशन गर्ने फत्तेबहादुर सिं भन्ने अर्को एउटा लेखक थिए उनलाई पनि त्यत्तिकै सजायँ भयो । सम्पादकलाई पनि जरिवाना भयो । त्यो किताब त्यस बेलाको नेपाल भाषाका पुराना र नयाँ कविहरूको हस्तलिखित पत्रपत्रिकाबाट साभार गरेर तयार गरिएको थियो । पत्रिका चलाउन पाइँदैनथ्यो । स्कूलस्कूलमा हस्तलिखित पत्रिका निकालिएका हुन्थे तर स्थायित्व चाहिँ नपाउने ।

त्योबेला सिद्धिचरणको आसपासमा गणेशचा भन्नेको भटमास पसल थियो । त्यस बेलाको सर्कलका गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्लहरू भटमास छोडाएर खाँदै साहित्यिक गफगाफ गर्थे । प्रगतिशील किताब आलोपालो गरेर पढ्थे ।

पढिसकेपछि गणेशचालाई बुझाउथे । पुस्तक साटासाट गरेर विद्यार्थीहरू वा प्रगतिशील विचार भएकाहरूले त्यसरी किताब पढ्थे । त्यो एक किसिमको क्लबजस्तो पनि थियो । अर्का योगवीर सिं भन्ने साहु थिए । उनले लेखनाथको हुक्का झुण्डाइराखेका हुन्थे ।

त्योबेलाका लेखक पण्डितहरूका एउटाएउटा हुक्का राख्दिन्थे । पानी फेरेर तमाखु भरेर राख्दिन्थे । तमाखु खाइसकेपछि साहित्यिक गफ गर्थे । कविता लेख्थे । पछि त्यसमा पनि सरकारको आँखा लाग्यो । लाइब्रेरी पर्व त्यहीँबाट शुरू भएको हो ।त्यतिबेला साहित्यको उन्नति हुने कुरै थिएन । कसैले किताब लेख्ने भन्ने कुरै थिएन ।

जब २००७ सालमा नेपालमा प्रजातन्त्रको उदय भएको घोषणा भयो त्यसपछि हाम्रो साहित्यिक गतिविधिमा नयाँ मोड आयो । नयाँ जोश आयो । नयाँ जाँगर आयो । लेखनमा सेन्सरसीप गरेर पास गराउनुपर्नेजस्ता सारा व्यवस्था हटे । नेपाली साहित्यिक फाँटमा नौलो पद्धति, नौलो विकासक्रम शुरू भयो ।

यसपछि देशका चेतनशील मानिसलाई मुलुकको सर्वोपरि विकास गर्नुपर्छ भन्ने कुराले छोयो । सबैले आआफ्ना क्षेत्रमा निकै संघर्ष गरे । साहित्य, संस्कृति, विज्ञान, संगीत, कलाको क्षेत्रमा अघिल्लो पुस्ताले निकै संघर्ष गरेको छ ।

यसको पृष्ठभूमिमा जोड्ने हो भने भानुभक्तको रामायणलेनेपाली साहित्यमा ज्यादै महत्वपूर्ण भाषिक एकता, भाषिक प्रवाह, भाषिक र धार्मिक जागरणको कुरा गरे । भानुभक्त पहिले जेजति साहित्य थिए सबै संस्कृतमा लेखिन्थे ।काव्य पनि संस्कृतमा लेखिन्थे । भाषालाई गौण सम्झिन्थे । मातृभाषालाई त्यत्तिको महत्व दिँदैनथे । भानुभक्तले मातृभाषाकै माध्यमबाट रामायण लेखे । यसरी नेपाली भाषासाहित्यको क्षेत्रमा उनको एउटा योगदान रहिआयो ।

यो सन्दर्भमा पछि आएर जब २०१४ सालमा आजको नेपाल प्रज्ञा प्रतिष्ठान (त्यतिबेला रोयल नेपाल एकेडेमी नै भन्थे)स्थापना भएर एकेडेमीको परम्परा आएपछि साहित्यमा सङ्गठन गर्ने काम शुरू भयो ।

२०१३ सालमा मदन पुरस्कार गुठी स्थापना गरेपछि गुठीको माध्यमबाट साहित्यकारलाई सङ्गठित गर्ने र संस्थागत गर्ने अनेक किसिमका पुरस्कार पाउँने इत्यादि गरेपछि गोरखापत्र पनि हप्ताको दुइचोटि प्रकाशन हुन थाल्यो । हुँदाहुँदा दैनिकमै आयो । त्यसपछि त यतिका पत्रपत्रिकाहरू आइराखेका छन् । अहिले आउँदाआउँदै पनि मैले देखेँ, काभ्रे जिल्लामै पनि धेरै पत्रपत्रिका निस्किँदा रहेछन् ।

यति बेला हाम्रो देशमा तीनवटा त एकेडेमी नै छन्, नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत नाट्य एकेडेमी, ललितकला प्रज्ञा प्रतिष्ठान । हरेक एकेडेमीसँग करोडौंकरोड बजेट छ ।

सरकारले नै बजेट दिइराखेको छ । तर, ज्यादै दुःखको कुरो यहाँनेर के छ भने साहित्यको फाँटमा, कलाको फाँटमा, संस्कृतिको फाँटमा यी तीन एकेडेमीहरूले के गर्‍यो कसो गर्‍यो यहाँहरू सबैलाई थाहा भएकै कुरो हो । मैले यहाँ के बयान गरूँ । पाएको बजेट अनुसार यिनीहरूले काम गरेको भए हाम्रो देश त निक्कै माथि पुगिसक्थ्यो साहित्यमा । अरू देशमा साहित्य जति विकसित भयो त्यति नै हुन्थ्यो यहाँ पनि । तर त्यसो हुन पाएन । कामचलाउको निमित्त एकदुइटा पत्रिका निकालेका होलान्, दुइचारवटा किताब निकालेका होलान् । जुन तरीकाले राष्ट्रिय स्तरमा काम गर्नुपर्थ्यो त्यो चाहिँ भएको छैन ।

मलाई भन्न मन लागेको कुरा छ, हामीले नजानेर, व्यवस्था गर्न नसकेर, आत्मनिर्भरतामा लाग्न नसकेर, स्वावलम्बी बन्न नसकेर आज विकास र उन्नति नभएको हो ।

कला र संस्कृतिको जगमा माथि उठेको जाति हो हामी, त्यसैलाई वेवास्ता गर्यो भने नेपाली भन्ने पहिचान नै हुँदैन । फेरि आजको परिवर्तन र उपलब्धीका लागि हिजो त्यति ठूलो संघर्ष गर्नुपर्‍यो । भोलिको राम्रोको लागि आज केही न केही संघर्ष गर्नैपर्ने हुन्छ ।

(संस्कृतिविद् सत्यमोहन जोशी निर्भीकजंग रायमाझीले गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment