Comments Add Comment

रुपन्देहीका सीडीओ भन्छन्– सीमामा अलपत्र नेपालीलाई राख्ने ठाउँ छैन

स्थानीय तहलाई भने पनि क्वारेन्टाइन बनाएनन्

२ जेठ, बुटवल । बेलहिया नाका हुँदै नेपाल भित्रन चाहेका पन्ध्र सय भन्दा बढी नेपाली भारतको नौतनवामा रोकिएका छन् । भारतले रेल सेवा शुरु गरेकाले स्वदेश फर्कने नेपालीको संख्या दिनदिनै बढेको छ ।

घर फर्कन चाहेका उनीहरु मध्ये कतिपय सुत्केरी, बृद्धबृद्धा, बालबालिका समेत छन् । लामो समय बीच बाटोमा अलपत्र पर्दा उनीहरुमध्ये कतिपय बेखर्ची हुन थालेका छन् । उनीहरु मध्ये धेरैजसो नौतनवामा रहेका चारवटा क्वारेन्टाइनमा २१ दिन बसेकाहरु छन् ।

२१ दिन बसाई पूरा भएको हप्ता दिन बढी हुँदा पनि स्वदेश फर्कन नपाएपछि नेपालीहरुले भोक हड्ताल थालेका थिए । उनीहरु सुनौली नाकासम्म आएर स्वदेश फर्कन पाउँ भन्दै बिलौना गरेपछि तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले पाँच सय १० जनालाई उद्धार गरी आफ्ना क्वारेन्टाइनमा राखेका छन् ।

अन्य स्थानीय तहमा भने क्वारेन्टाइन खाली नहुँदा बाँकी नेपालीलाई ल्याउन नसकिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘तिलोत्तमा र सिद्धार्थनगरले जस्तै अरु पालिकाले क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा अलपत्र नेपालीलाई ल्याउन सकिएन’ उनले भने, ‘सबै पालिकालाई कम्तीमा एक हजार क्षमताका दरले क्वारेन्टाइन बनाउन भने पनि अझै बनाएका छैनन् ।’

रुपन्देहीका १६ स्थानीय तहमा १४ सय जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाभरका क्वारेन्टाइनमा १६ सय जना राख्न सकिने प्रजिअ पन्थले बताए । सरकारले मुख्य नाकाबाट वैधानिक रुपले आफ्ना नागरिकलाई आउन नदिँदा खुला सीमाबाट कैयौं नेपालीहरु लुकिछिपी आउने गरेका छन् ।

लुकिछिपी आउनेहरु क्वान्रेन्टाइनमा नगई घरमा बस्दा कोरोना संक्रमणको जोखिम झनै बढ्ने बेलहियाका नागरिक अगुवा रामबहादुर बस्नेत बताउंछन् ।

‘भारतले रेल सेवा शुरु गरेपछि स्वदेश फर्कने नेपालीको बढेको बढ्यैछन्’ उनले भने, ‘सरकारले बेलैमा आफ्ना नागरिकलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राखी चेकजाँच गर्नुपर्ने हो ।’

मुख्य नाकाबाट नेपालीलाई ल्याउन नसके चोर बाटोबाट भित्रिने र अवस्था भयावह हुने तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे बताउँछन् ।

कपिलवस्तुमा मात्रै लकडाउन शुरु भएपछि भारतबाट आएकाहरुको संख्या करिव पाँच हजारभन्दा बढी छ । कृष्णनगरमा मात्रै ८ सय जना क्वारेन्टाइनमा छन् । बहादुरगञ्जमा एक हजार भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । यी सबै भारतबाट नेपाल प्रवेश गरेका हुन् ।

कपिलवस्तुमा सुरक्षाकर्मी र स्टाफ नर्समा समेत कोरोना देखिएकाले जिल्लामा कम्तिमा पनि १० हजारको स्वाब परीक्षण गर्नुपर्ने स्थानीय अगुवाहरुको माग छ ।

भारतबाट आएका ५ हजार बढी, उनीहरुसँग जोडिएका परिवार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीहरु गरी १० हजार पुग्छन् । तर स्वाव संकलन गर्न चाहिने उपकरण भने डेढ सय मात्रै रहेको बताइन्छ ।

उता बाँकेको जमुनाह नाकाबाट ६ सय ८७ नेपाली बिहीबार भित्रिएका छन् । बिहीबार अबेर राति उनीहरुलाई नाकाबाट नेपाल ल्याइएको हो । अहिले दशगजा क्षेत्रमा उनीहरुलाई राखिएको छ ।

आइसोलेसन बेड तीनवटा मात्र

प्रदेश सरकारले दाङ पूर्वका जिल्लाका कोरोना संक्रमित बिरामीको उपचार गर्ने गरी आइसोलेसन अस्पतालका रुपमा रुपान्तरण गरेको भैरहवाको भीम अस्पतालमा अब तीनवटा बेड मात्र खाली छन् ।

२५ वटा आइसोलेसन बेड बनाइएकामा १९ जना कोरोना संक्रमित बिरामी भर्ना भइसकेका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए ।

‘अब तीन जना बिरामी मात्रै भर्ना गर्न सक्छौं’ उनले भने, ‘प्रदेश सरकारले सयवटा आइसोलेसन बेड थप्ने निर्णय गरेको छ, यसका लागि कम्तीमा पनि हप्ता दिन लाग्न सक्छ ।’

यसअघि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालका ३६ बेड पनि भरिएपछि नयाँ संक्रमितलाई भीम अस्पताल ल्याउन थालिएको थियो । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित थपिने क्रम जारी रहेकाले नयाँ बिरामीलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या थपिएको छ ।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । प्रदेशमा सबैभन्दा धेरै कपिलवस्तुमा ३८ जना, रुपन्देहीमा २८ जना, बाँकेमा ३३ जना, बर्दियामा एक जना र नवलपरासीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोरोना संक्रमण भएका एक जना भने निको भएर घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment