Comments Add Comment

भारतीय सीमा क्षेत्रमा वडाध्यक्षले लगाए काँडेतार

२ जेठ, काठमाडौं । भारतले नेपाली भूभाग अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि दुई देशको सीमा विवाद फेरि चर्किको छ । र, नेपाली भूमि अतिक्रमणको विरोधमा लकडाउनकै अवधिमा पनि सडक प्रदर्शन भए, संसदमा आवाज उठेको छ ।

सरकारले कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न सकिने बताइरहँदा कतिपयले भने अब काँडेतार लगाउनुको विकल्प छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समेत सँगै विवाद गरिरहनु भन्दा काँडेतार पो लगाउनु उपयुक्त होला कि भनेका छन् ।

तर ठोरी गाउँपालिकाले भने भारतसँग सीमा जोडिएको क्षेत्रमा काँडेतार लगाएका छन् । वडा नम्बर ३ का जनप्रतिनिधिले भारतको बिहारसँग सीमा जोडिएको झण्डै पाँच किलोमिटर क्षेत्रमा काँडेतार लगाएका हुन् ।

वडाध्यक्ष सूर्य लामाले टेलिफोनमा अनलाइनखबरसँग भने, ‘३३ लाख रुपैयाँको बजेटमा झण्डै ५ किलोमिटर दुरीमा काँडेतार लगाएका छौं । ठुटेखोला नजिकै रहेको ४३५/१ देखि ४३१/४ नम्बरको पिलरसम्म काँडेतार लगाउने काम सम्पन्न भइसकेको छ ।’

२०७४ मंसिरबाटै सीमा क्षेत्रमा काँडेतार लगाउन सुरु गरिएको उनको दाबी छ । स्थानीय प्रहरी प्रशासन र गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको समेत सहयोगमा दशगजाको भाग छाडेर नेपालतर्फको भुभागमा काँडे तार लगाउन सुरु गरिएको उनले बताए । ठूटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेको क्षेत्रमा काँडेतार लगाइएको उनले बताए ।

वडाध्यक्ष लामाका अनुसार लकडाउनको समयमा मात्रै करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ । वडा क्षेत्रमा पर्ने करिब १ हजार ८ सय मिटर दुरीमा तारबार लगाउन बाँकी रहेको उनले बताए । भारतीय सीमा सुरक्षा बल एसएसबीले विवाद सिर्जना गरेपछि तीन सय मिटरमा काम रोकिएको छ । तर सहमति कायम गरेर त्यहाँ पनि तारबार लगाउने उनले बताए ।

‘देशका विभिन्न भागमा सीमा अतिक्रमण भएको सुन्दा साह्रै दुःख लाग्छ, भोलिका पिढीले आफ्नो ठाउँमा पनि यस्तै सीमा अतिक्रमणको पीडा भोग्न सक्छन् भन्ने लागिरहन्थ्यो । त्यही भएर आफ्नै वडामा पर्ने सीमा क्षेत्रमा विकास बजेट कटाएर काँडेतारबार लगाउन सुरु गरेको हुँ । यसमा सबैका सहयोग छ’ वडाध्यक्ष लामाले भने ।

उनकाअनुसार काँडेतारबार सुरु गरिएको भन्दा पश्चिमतर्फको क्षेत्रमा वर्षौंदेखि भारतले सीमाविवाद सिर्जना गरेर दुःख दिँदै आएको छ । भारतीयकै अवरोधका कारण ठुटेखोलामा निर्माण भएको पुल प्रयोग गर्न पाएका छैनौं । विवाद मिलेर सीमा स्तम्भ गाड्दा समेत पुल प्रयोग गर्न नपाएको वडाध्यक्ष लामाले बताए ।

वडावासी हर्षित

वडाध्यक्षले विकास बजेट कटौती गरेर सीमा क्षेत्रमा तारबार लगाएको प्रति वडावासी पनि हर्षित छन् । स्थानीय युवा ललित बस्नेतले टेलिफोनमा भने, ‘काँडेतारबारले नेपाली भूमि अतिक्रमण हुनबाट पनि बचेको छ । भारततर्फको जंगलबाट आउने जंगली जनावर समेत आउन पाएका छैनन् । यो वडाध्यक्षको दुरदर्शीता काम हो । जसबाट वडावासीलाई दोहोरो फाइदा भएको छ ।’

वडाध्यक्ष लामा भारतको निगरानीमा

ठोरीमा वर्षौंदेखि भारतीय पक्षले ठुटेखोला क्षेत्रमा सीमा अतिक्रमणको प्रयास गरे । तर त्यस क्षेत्रकाबासिन्दाले त्यसको प्रतिवाद गर्दै आएका थिए । प्रतिवाद गर्ने स्थानीय अगुवा मध्ये लामा पनि हुन् । उन आफैं वडाध्यक्ष भएपछि अहिले तारबार गरेका हुन् ।

लामाकाअनुसार दुई देशको सीमा क्षेत्रमा रहेको ठुटेखोलामा पनि विवाद हुँदै आएको छ । भारतले आफ्नो भूमि सिँचित गर्न दुई वटा कुलो प्रयोग गर्दै आएको छ । नेपाली पक्षले भने एउटा मात्र कुलो प्रयोग गरेको छ । लामा भन्छन्, नेपालीलाई बढी भएको पानी उनीहरुले प्रयोग गर्नुपर्ने हो । तर सुख्खायाममा खोलामा पानी कम हुँदा उनीहरु हाम्रो कुलोको बाँध भत्काउन आउँछन् । सीमा विवाद अन्त्य गरेर सीमा स्तम्भ गाडिसक्दा पनि भारतीय पक्षले पानीमा दावी गर्दै नेपालीलाई दुःख दिने गरेको छ ।

वडाध्यक्ष लामा भन्छन्, ‘झण्डै ८ वर्ष भइसक्यो नेपाली भूमि कटेर भारततर्फ नगएको । भूमि अतिक्रमणबारे अग्रपंक्तिमा रहेर प्रतिवाद गरेकै कारण म भारतको निगरानीमा छु । म भारत गएँ भने मलाई जुनसुकै समयमा जे पनि गर्न सक्छन् । त्यसैले आफू भारतीय सीमावर्ती क्षेत्रकै बासिन्दा भएपनि भारत नजाने प्रण गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment