Comments Add Comment

आपतकालीन समयमा खाद्य, खाद्य विज्ञान र प्रविधि

नेपाली आम मानिसमा खाद्य विज्ञानप्रतिको बुझाइ एकदम न्यून रहेको छ । सँगसँगै हातेमालो गर्दै अगाडि बढ्ने कृषि विज्ञानको भने तुलनात्मक रूपमा राम्रो बुझाइ छ ।

खाद्य विज्ञान र प्रविधिमा, खानेकुरामा हुने विज्ञान, जस्तै पोषण तत्वको सामान्य र उच्च अध्ययन, तिनीहरूको मात्रा विश्लेषण, समयानुकूल पोषणमा हुने परिवर्तन, प्रशोधित खानेकुराको अध्ययन र प्रयोग, प्रशोधन गर्ने विधिहरूको सूक्ष्म र विराट अनुसन्धानहरू पर्ने गर्छन् । एक अर्काको परिपूरकको रूपमा रहेका कृषि र खाद्यबीचको समझदारीको परिपाटी नै बेग्लै छ । खाद्य विज्ञानका विद्यार्थी र कामदारहरूको क्रियाशीलता ग्राउण्ड लेभलमा ज्यादै न्यून छ  ।

खाद्य सुरक्षा र खाद्य स्वच्छन्दता दुई अत्यन्तै महत्त्वपूर्ण विषयहरू हुन् । जसको पढाइ खाद्य विज्ञानको स्नातकस्तरको शिक्षामा नाटकीय छ  । ई. स. २०१६ को नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्भेका अनुसार नेपालमा तुलनात्मक रूपमा खाद्य सुरक्षाको स्थितिमा केही सुधार आए तापनि ४६ लाख आम मानिसहरू अझै पनि खाद्य सुरक्षाबाट बन्चित छन् ।

जसमा २० प्रतिशत घरहरू मध्यमस्तरको खाद्य असुरक्षाबाट गुज्रिरहेका छन् भने १० प्रतिशत अति उच्चस्तरको खाद्य असुरक्षाबाट बाँचिरहेका छन् । ग्रामीण भेगमा बस्दै आएका आम मानिसहरू, जहाँ सामान्य खानेकुराहरू जस्तै नुन, तेल, चामलको पनि मूल्य धेरै रहेको छ । ती मानिसको उत्पीडन र व्यथाको कहानी हाम्रो सहरी शिक्षामा सुधारमूलक नभई संवेदनामूलक रहेको छ !

अहिलेको सन्दर्भमा कुरा गर्दा कोरोनाको महामारी विश्वभरमा आपतकालीन स्थितिको रूपमा फैलिएको छ । आपतकालीन स्थितिहरू प्राकृतिक प्रकोप (भूकम्प, बाढी, पहिरो, भोकमरी आदि) मानव निर्मित प्रकोप (युद्ध, नाकाबन्दी आदि) र महामारी (हैजा, इबोला, बिफर, कोरोना आदि) को देन हो । यस्तो अवस्थामा मानिसहरूको आधारभूत आवश्यकताहरू स्वच्छ र पर्याप्त गाँस, बास, सफा पानी र औसधिहरू हुन जान्छन् । खाद्य विज्ञानको दृष्टिकोणबाट यो आपातकालीन स्थितिलाई हेर्दा हामीले देख्ने दुई मुख्य समस्या भनेको नै खाद्य सुरक्षा र खाद्य स्वच्छन्दताको अभाव हो ।

खाद्य सुरक्षा भनेको चाहिँ के हो ? खाद्य स्वच्छन्दता भनेको चाहिँ के हो त ?

खाद्य सुरक्षालाई हामीले त्यसको चारवटा पिल्लरका आधारमा बुझ्न सकिन्छ ।

१. खानेकुराको उपलब्धता

२. खानेकुराको पहुँच

३. खानेकुराको प्रयोग र

४. खानेकुराको स्थिरता ।

यसमा खानेकुराको स्वच्छन्दताको अर्थ भनेको खानेकुराको गुण यानी क्वालिटीको आधारमा मानव शरीरको लागि खान योग्य/सुरक्षित यानी सेफ भन्ने बोध हुन्छ । हामी यहाँ आपतकालीन स्थितिको बेलामा खाद्य विज्ञानले दिनसक्ने सुधारमूलक र आवश्यक धारहरूको बारेमा, यिनै चार पिल्लर अनि प्रत्येक पिल्लरको पृष्ठभूमिमा खाद्य स्वच्छन्दताको परिवेश कसरी विद्यमान रहन्छ भन्ने बारे चर्चा गर्नेर्छौं ।

१. पहिलो पिल्लर : खाद्य उपलब्धता

खानेकुराको उपलब्धता भनेको सबैभन्दा प्राथमिक तहको विषय हो । स्वदेशी र विदेशी दुवैको खाद्य योगदानले नेपालभरिको साझा भकारीमा अन्न भरेको छ । अझ, आयातको तुलनामा उग्र निर्यात गर्ने हाम्रो देश, खाद्यवस्तुको निर्यातमा करिब एक खर्ब ४१ अर्ब रुपैयाँले ऋणात्मक छ (राष्ट्र बैंक ०७५/०७६) । आफ्नो देशको उत्पादनले आफैँलाई पुग्दैन र अहिलेको कोरोनाको महामारीमा निर्यात गर्ने सम्भावना झनै घटेर जान्छ । अझ मुख्य तेलहन र अन्नबाली निर्यात हुने देश भारतमा कोरोनाको कहर बढ्दो मात्रामा रहेको हुँदा आन्तरिक उत्पादनको कमजोरीमा देशमा भोकमरीको प्रबल सम्भावना छ  ।

भोकमरीले हामीलाई त अहिले नसताउला तर याद गर्नुस ती ४६ लाख मानिसहरू जो महामारी पूर्व पनि खाद्य सुरक्षाको अभावमा थिए ।

त्यसोभए पहिको अवस्था र अहिलेको यो महामारीको अवस्थामा खाद्य उपलब्धताको विषयलाई पच्छ्याउने तरिकामा के भिन्नता रहन्छ त ?

१. निर्यातमा देखिने समस्यालाई मध्यनजर गर्दै, अहिलेदेखि नै आन्तरिक कृषिलाई बढावा दिने ।

२. हाम्रो देशको भौगोलिक र अव्यवस्थित जनसंख्या घनत्व (डेन्सिटी) ले गर्दा कतै पकेट एरियाको रूपमा अत्‍यधिक उत्पादन हुन्छ भने काहीँ एकदम न्यून हुन्छ । तराईमा अन्नवाली र पहाडमा तरकारीवालीको प्रभुत्व छ । स्थानीय निकाएको रूपमा जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका आदिहरूले आ-आफ्ना इलाकालाई ३-४ महिनालाई चाहिने खाद्य सामग्रीको तथ्यांक बुझेर आपतकालीन गोदामको निर्माण गर्ने ।

३. आपतकालीन गोदाममा सामान्य रुपले चलिआएका खाने कुरामात्र नभई आपतकालीन खाने कुराहरू भण्डारण गर्ने।

क्वारेन्टाइन/एकान्तवासमा र आइसोलेसनमा बसिरहेकाहरूलाई पकाएर खान मिल्ने कुराहरूभन्दा खाइहाल्नको लागि तैयार बनेका (ready to eat, RTE) प्रशोधित खानेकुराहरूको महत्व बढी रहन जान्छ । हालको स्थितिमाभन्दा पनि अझ महामारी फैलिएर, इटाली र स्पेनजस्तो घरमै सेल्फ आइसोलेसनमा बस्नुपर्ने भयो भने यस्ता कुराहरूले सहजता दिन्छ  ।

३. उच्च प्रोटिनयुक्त क्यान माछा मासु, हाइ इनर्जी बिस्कुट, कन्डेंस्ड मिल्क, चकलेट र क्यान्डी, सिरियल बार, क्यान ससेज, जाम, जेली आदिलाई आपातकालीन खानेकुराको रूपमा राख्न सकिन्छ ।

यी खानेकुराहरू हाइ इनर्जी, सेल्फ स्टेबल र कम ओस भएका, सूक्ष्म पोषण (आयरन, फोलिक एसिड आदि) ले बनेको हुनाले ढिलो समयसम्म रहिरहने र शरीरलाई चाहिने क्यालोरी पनि पुर्‍याउने खालका हुन्छन्।

४. विदेशबाट आउने खाद्यान्न सहयोग र स्वदेशकै खाद्य उद्योगहरूलाई यस्ता आपतकालीन खानेकुराहरूको प्रसोधन गरी भण्डारणमा सहयोग गरिदिनका लागि वडादेखि, जिल्ला, अञ्चल, प्रदेश र मुख्य सरकारले  पहल गर्नुपर्नेछ  ।

खाद्य स्वच्छन्दताको हकमा भने, खाद्य उपलब्धता बढाउने यस चरणमा उचित खानेकुरा, एक्सपाइरी डेट (समाप्तिको मिति) हेरेर सही ढंगले भण्डारण गर्ने  । खाद्य गोदाम निर्माण गर्दा ठूलो, फराकिलो र सुख्खा ठा‍‍‌‍‌उँमा, भुइँभन्दा १० सेन्टिमिटरमाथि मार्जिन हुनेगरी खानेकुरा भण्डारण गर्ने । राहतको नाममा कुहिएको दालको समाचार दोहोर्‍यारहनु नपर्ला ।

२. दोस्रो पिल्लर : खाद्य पहुँच

खानेकुरा त छ, तर कहाँ छ  ? के पिछडिएका भागका आममानिसले उपलब्ध भएका खानेकुरा पाइरहेका छन् त ? के सरकारले बाँडिरहेको राहत निम्नस्तरका मजदुरहरूको पहुँचमा छ त ? के हामी ती निम्नस्तरका मानिसलाई सहयोग गर्न सक्छौँ त ? के त्यसो गर्छौँ त ? सरकारले निकालेको राहत प्याकेज र प्रतिवेदनका बारेमा ती निम्नस्तरका मानिसलाई थाहा छ त ? मध्यम र उच्चस्तरको आय भएका मानिसले पनि लाजै नमानी राहतमा नाम लेखाएको, राखेको, अनि मजदुरको घरमा १० किलो चामलले चार जनाको परिवारलाई १० दिन पनि नपुगेको कुरा पक्कापक्की हाम्रो चेतमा छिर्नुपर्ने हो ।

अहिलेको परिस्थितिमा खाद्य पहुँचलाई सहजीकरण गर्ने कसरी ?

आपतकालीन गोदामबाट बिक्री वितरणको कार्यलाई तीव्र रुपमा लैजाने । त्यसको लागि अस्थायी गोदाम (स्कुल, होटल, सरकारी वडा कार्यालयलाई) बनाएर, स्थानीय निकायले आफ्ना जनताहरूलाई सिधै खानेकुरा बिक्री वितरण गर्ने । ठेला, साइकल, बाटो छेउ सडकजस्ता ठाउँमा तरकारी बेच्न आउनेहरूबाट तरकारी लिएर एउटै ठोस स्थानबाट बिक्रीवितरण गर्दा संक्रमणको मौका कम हुन जान्छ । रुपन्देही, तिलोत्तमा नगरपालिकामा यसरी नै नगरपालिकाको अस्थाई गाडीले तरकारी बेच्दै आएकोमा स्थानीयहरू पनि खुसी छन्।

२. एउटै ठोस ठाउँबाट मात्र बिक्रीवितरण होइन बरु घुम्ती गाडीहरूको प्रयोग गरेर प्रत्येक वडादेखि प्रत्येक मानिसको पहुँचमा खानेकुरा पुग्नपर्छ।

३. अझै महामारीको प्रकोप बढेसँगै, होम डेलिभरीको व्यवस्थालाई लिएर घरघरमा खानेकुरा पुर्‍याउने काम गर्न पनि सरकार लागिपर्नुपर्ने हुन्छ । प्राइभेट होटल, दोकानहरूले सकुशल होम डेलिभरी गरिरहेको बेलामा सरकार निरीह रहनु लज्जास्पद हुनेछ ।

४. खाद्यान्न वितरण गर्दा एकै ठाउँबाट ल्याइएको एकै ब्याचको खानेकुराहरूलाई एफआईएफओ (फर्स्ट इन फर्स्ट आउट), यानी, पहिले भण्डारण गरिएको खाने कुरालाई पहिले बिक्री-वितरण गर्ने । तर, फरक फरक एक्सपाईरी डेट भएका खाने कुरालाई भने मिति अनुकूल बेच-बिखन गर्ने ।

४. ठोस र धेरै बेरसम्म रहिरहने खानेकुराको भण्डारण सजिलो हुने तर तरकारी जस्ता छिटो बिग्रने खानेकुराहरूको लागि कोल्ड हाउस बनाएर भण्डारण गरिनुपर्नेछ । याद गरौं भोकमरीबाट बच्नको लागि प्रत्येक ग्राम खानेकुराहरूको पनि एकदम महत्त्व हुन्छ ।

५. उत्पीडित स्थानहरूमा न इन्टर्नेट हुन्छ, न यो लेख त्यहाँ पुग्छ, न त्यहाँबाट आवाज नै उठ्ने गर्छ । त्यसैले हामी सबैले नै आफूले सक्ने ठाउँबाट वाक् स्वतन्त्रताको सही प्रयोग गरौं अनि आफ्नो वरपर त्यस्ता पिछडिएका वर्गहरूको मद्दत गरौं ।  सरकार सरकार भन्दै हालीमुहाली गर्नु तर आफ्नो हातमा दही जमाउनु गलत हो, मान्यवर !

खाद्य पहुँचको हकमा खाने कुरालाई सुरक्षित राख्न र आममानिसलाई सुरक्षित खाने कुरा वितरण गर्नको लागि प्रथमत: माथि भनेअनुसार गुणस्तरीय खानेकुरा भण्डारण गर्ने अनि बिक्री गर्ने बेलामा उचित ढंगले गुणस्तरमा गिरावट नआउँदै वा समय रहदै ती कुराहरूलाई उपभोक्ता समक्ष पुर्‍याउने ।

जस्तै: हाल बुटवलमा साना किसान कृषि संघले गाईको दूध प्रतिलिटर ६० रुपैयाँमा बेचिरहेको छ । टोल-टोलमा गएर, माक्स र ग्लोभ्सको उचित प्रयोगका साथ, सामाजिक दुरी कायम गर्दै दूध बेच्ने काम भइरहेको छ । फालिनुभन्दा, सस्तोमा दिएर खपत बढाउने यो तरिकाले अहिले यहाँका प्रत्येक घरघरमा राति एकको सट्टा डेढ/दुई लिटर दूध उम्लिन्छ ।

३. तेस्रो पिल्लर : खाद्य उपयोगिता

अब हामी सरकारी निकाएको चर्चाबाट स्व-चर्चाको चरणमा आएका विविध खानेकुरा कसरी उपयोग गर्ने भन्नेबारे ज्ञान हामी आफूमै हुनु जरुरी छ । र, भनिराखौं नेपालको अत्यधिक कुपोषणको कारण खाद्यान्न अभाव मात्र होइन । खाद्यान्नको उपयोग गर्न नजान्नु पनि हो ।  त्यसैले, धेरै चामल र दालमा मात्र पैसा खर्च नगरौं । उही खर्चमा गेडागुडी, सागपात, केरा-फलफूल पनि खपत गरौं ।

अहिले कोरोनाको कहरमा खाद्य उपयोगिताको चर्चा कसरी गर्ने त ?

१. सरकारी तथा गैरसरकारी संस्थाहरूले सामाजिक दायित्वको स्वमित्वमा निरक्षर जनताहरूमा यसको बारेमा चर्चा गर्ने । रेडियो र टेलिभिजनबाट जनचेतना फैल्याउने ।

२. रिस्क एसेस्मेन्ट, यानी खतरालाई चिनेर, सोही अनुरूप खानेकुरा उपयोग गर्ने । जस्तै, गर्भवती महिलालाई आइरन डाईट, बयस्कभन्दा बच्चालाई हाइ प्रोटिन डाइट, वयस्कभन्दा उमेर छिप्पेकालाई पौष्टिक-औषधीय (neutraceutical) खाने कुराहरू (dietary supplement, fortified dairy products, vitamin C rich foods) हरूको बिक्री-वितरण/उपयोग गर्ने वा गर्न सिकाउने ।

३. देशको अर्थतन्त्र गिर्दै गइरहेको बेला, आम जनताको ढुकुटीमा पनि पुँजी रित्तिन धेरै बेर लाग्ला भन्न सकिँदैन । त्यसैले खानेकुराहरूको उचित उपयोग गरौं । पौष्टिक खानेकुराहरू खाऔं, तर, फजुल खर्च नगरौं । खानेकुरालाई बचाउने तरिका प्रयोग गरी मुलाको चाना, काउलीको चाना, सिन्की, गुन्द्रुक, मस्यौरा, पाते खस्यौरा, गाभा, अचार, सातु जस्ता खाने कुरा प्रशोधन गरेर सुरक्षित राखौ ।

खाद्य स्वच्छन्दको अवधारणासम्बन्धी यस विषयमा  खानेकुराहरूलाई सुरक्षित ढङ्गमा खपत गर्न जान्नुसँग सम्बन्धित छ । खाद्यान्न पहुँचपछि ल्याइएको खाने कुरालाई एकचोटी आफैँ पनि नियालौं । डल्ला परेको आटा, मैदा हालिएको दूध, डिटर्जेन्ट मिसिएको तरकारी जस्ता ठगी आतंक देखिन्छ भने त्यसलाई नकारौं र आफ्नो नजिकैको वडा/सरकारी निकायलाई खबर पनि गरौं ।

उदाहरणको लागि घरको बट्टामा केही समयदेखि राखेको सिन्की र बफाएको गाभा खाने चक्करमा त्यहाँ देखिएको सेतो रंगको परिवर्तनलाई अचारमाथिको ढुसीलाई घाममा हल्का सुकाएर हटाएजस्तो गरेर खाने चलन छ । ढुसी लागेको खानेकुरा चिन्न, स्वीकार्न अनि नकार्न पनि सिकौं । त्यसो गरे बल्ल खाद्य उपयोगिता सबल हुन्छ ।

४. चौथो र आखिरी पिल्लर : खाद्य स्थिरता

घरमा ल्याइसकेको खानेकुरालाई अथवा आपतकालीन गोदाम स्थापना गरेर राखेको खानेकुरालाई  स्थिर बनाइराख्न सक्नुपर्छ । देशको र घरको भकारीमा राम्रोसँग भण्डारण गर्नसकेको खण्डमा खाने कुराहरू नबिग्रिने र फारु पनि हुने गर्छ । यसका साथै खाद्य स्वच्छन्दता पनि स्थिर रहन जान्छ ।

लामो समयसम्म खानेकुरालाई भण्डारण गर्न नजान्नुले भवितव्यमा खाद्य सुरक्षा झनै दयनीय बन्न जान्छ । अहिलेको यो अवस्थामा हिउँदेबालीहरूको लागि उचित स्थिरता प्रदान गर्न गोदाम बनाउने,  पहिलेकोभन्दा कम क्षति चुहावट र पोस्ट हार्वेस्ट लसलाई कम गर्ने पहल हुनुपर्छ र कार्यान्वयन पनि ।

खाद्य विज्ञान र पोषणको उचित ज्ञानको अभावमा नै भोकमरीबाहेकको कुपोषण लाग्ने गर्छ । ग्रामीण भेगमा मात्र नभई सहरी भेगमा पनि सानै उमेरमा चस्मा लगाउनु पर्ने, जोर्नी दुख्ने, हड्डी कमजोर हुने, रक्तअल्पता हुने, भिटामिन डीको कमी हुने, हेमोग्लोबिनमा कमी हुने, कमजोर भएर रक्तचाप कम हुने पनि कुपोषणकै सहोदर दाजुभाइका उपज हुन् ।

त्यसैले यो कुरालाई सबैले अवलम्बन गरौं । हालको महामारीको बेलामा खानेकुराहरूको अभाव न्यूनीकरण गर्न आफ्नो तर्फबाट सक्दो जोड दिऔं । बचेका खाने कुराको प्रशोधन गरौं, चाहिनेभन्दा धेरै भण्डारण नगरौं, खानेकुरा नफ्यालौं र जनचेतना फैलाऔं ।

यो विषम परिस्थिति टरेपछि म सर्वप्रथम हाम्रो देशका भ्लगरहरूलाई ती ४६ लाखले भोगिआएको खाद्य असुरक्षाका बारेमा भिडियो बनाएर, ब्लगरलाई ब्लग लेखेर अपडेट गरिदिन अनुरोध गर्छु । कमर्सियल हुने होडबाजी विष्णुमतीमा मुला मौलाए झैं मौलाइरहेको बेला वर्ग सापेक्षतालाई बुझौं, समानताको वकालतलाई देखावटी नबनाऔं ।

मान्छे र मिडियाले हाम्रो ७५ प्रतिशतभन्दा बढी दैनिक समय ओगटेको स्थितिमा, देशको ५० प्रतिशत भू-भागको कहानी पनि ओगटेको छैन । गरिब, उत्पीडित, मजदुर, रोजीरोटी वर्ग, तपाईं हाम्रो घरमा काम गर्ने ज्यामी लगायत प्रत्येक तल्लो आर्थिक वर्गको हकहितमा आवाज उठाऔं । सकेको खण्डमा सहयोग गरौं, नसकेको खण्डमा वकालत गरौं । देशमा चित्त नबुझेको कुरा कुन हदसम्म आफूले सुधार्न सकिन्छ भन्नेमा आत्मपरीक्षण गरौं ।

लेखक ज्ञवाली खाद्य विज्ञान र प्रविधिका स्नातक तहका विद्यार्थी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment