तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको आज दुई वर्ष पुगेको छ । विगतमा भिन्न-भिन्न कार्यदिशा अँगालेर आएका दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता वास्तवमा ज्यादै ठूलो महत्वको ऐतिहासिक घटना थियो । कतिपय साथीहरूले यस पार्टी एकतालाई तत्कालीन दुई पार्टीका अध्यक्षहरूको आँट र पहलको उपजका रुपमा विश्लेषण गर्ने गर्नुहुन्छ । यस्तो विश्लेषण सही होइन ।
किनभने यो एकता तात्कालिक परिस्थितिको उपज मात्र थिएन । यो एकता त दुई पार्टीबीच विभिन्न अन्तर्विरोधका बाबजुद लामो समयदेखि चलिआएको संवाद र सहकार्यले निर्माण गरेको परिवेशमा भएका नयाँ सहकार्यको उपज थियो । यो त विगतमा भएका ठूला-ठूला एकताहरूको परिपूरक पनि थियो ।
सिलगुढी वार्ता‚ लखनौ वार्ता‚ रोल्पा वार्ता र नेकपा (एमाले) ले गणतन्त्रलाई कार्यनीतिक नारा बनाएको परिवेशले निर्माण गरेको आधारलाई चटक्क बिर्सेर “बाह्रबुँदे सहमति, शान्ति सम्झौता, संविधान निर्माण र एउटै घोषणापत्रका आधारमा चुनावी गठबन्धन जस्ता सहकार्यका शृङ्खलाले पार्टी एकताको आधार तयार गर्न सहयोग पुगेको” भन्नु एकदमै एकलकाँटे विश्लेषण हो ।
यो विश्लेषण आजै दुई अध्यक्षद्वारा जारी गरिएको संयुक्त वक्तव्यमा उल्लेखित “विभाजन र एकताका अनेकौं शृंखला पार गर्दै आउनेक्रममा शान्तिपूर्ण जनआन्दोलन र संसदीय संघर्षको बाटोबाट अघि बढेको नेकपा (एमाले) र जनयुद्धको बाटोबाट अघि बढेको नेकपा (माओवादी केन्द्र) बीच संवादका अनेकौं सिलसिलाबाट २०६२⁄६३ को जनक्रान्तिको आधार निर्माण भएको थियो” भन्ने धारणाको विपरीत पनि छ । यस्तै एकलकाँटे र आग्रहयुक्त विश्लेषणले पार्टी एकताका कार्य सम्पन्न गर्नमा बाधा पुर्याइरहेका छन् ।
दुई वर्ष पहिले पार्टी एकता घोषणा गर्दा तीन महिनाभित्र पार्टी एकताका सबै काम सक्ने र दुई वर्षभित्र एकताको महाधिवेशन गर्ने भनिएको थियो । आज दुई वर्ष पूरा हुँदा पनि केन्द्रीय तहमै एकताका काम सम्पन्न हुन सकेका छैनन् । यो जिम्मेवारी कसको हो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
पार्टीलाई विधि र पद्धतिमा लान पनि तयार नहुने र व्यक्तिले जिम्मेवारी लिन पनि तयार नहुने कुरा गलत हो । संस्थागत ढङ्गले चल्न तयार नहुने तर जस जति एक्लै लिने र अपजसको भागिदार भने हुन नचाहने प्रवृत्ति नै आजको मूल समस्या हो । आफ्ना कमजोरी देख्दै नदेख्ने र दोष जति अरूको थाप्लोमा हालिदिने प्रवृत्ति नै पार्टी एकताका काम सम्पन्न गर्नका निम्ति बाधक हो ।
सरकारबाट आशा गरेजस्तो काम भएन भनेर आम जनताबाट भइरहेको अलोचनालाई सकारात्मक ढङ्गले लिएर कतै कमी पो भएको छ कि भनेर आत्मसमीक्षा गर्नतर्फ नगई त्यसलाई पनि पार्टीभित्रको अन्तर्विरोधसँग गाँसेर हेर्ने प्रव्रित्ति नै सरकारलाई सफल हुन नदिने मुख्य कारण हो । पार्टी एकताका काम सम्पन्न गर्न र सरकारलाई सफल बनाउन उपर्युक्त गलत प्रवृत्तिबाट मुक्त हुनु जरुरी छ ।
आज मदन आश्रितको २७ औं स्मृति दिवसको सन्दर्भमा उहाँहरूलाई सम्झेर आ-आफ्ना गल्ती कमजोरी सच्याउने प्रण गरौं र पार्टी एकतालाई सुदृढ तुल्याऔं ।
(भुसाल नेकपाका स्थायी कमिटी सदस्य हुन् ।)
यो पनि पढ्नुहोस नेकपा एकताको दुई वर्ष : विचारमा वर्णसंकर मति, संगठनमा सर्वनाशको गति