+
+
Shares
विचार :

कृष्ण रोज्ने कि कृष्णप्रसाद, कार्यवाहकज्यू ?

विशेष महाधिवेशन माग्ने एकथरी र नियमित पनि अहिले नगरौं भन्ने अर्काथरीको बीचबाट मध्यमार्गी समाधानमा पुग्न सक्नु कार्यवाहक सभापतिको राजनीतिक जीवनकै सबैभन्दा ठूलो परीक्षा हो ।

प्रमोदहरि गुरागाई प्रमोदहरि गुरागाई
२०८२ कात्तिक १३ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको सभापतिले व्यक्तिगत वा समूहगत सोचभन्दा माथि उठेर काम गर्न लिखित आग्रह गर्नुभएको छ।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकताबद्ध बनाउन मध्यमार्गी समाधान खोज्नुपर्ने चुनौती पाएका छन्।
  • महामन्त्रीहरूले मंसिर मसान्तभित्र विशेष वा नियमित महाधिवेशन सम्पन्न गर्न गम्भीर र संवेदनशील भएर काम गर्नुपर्ने बताइएको छ।

धृतराष्ट्र किन सदैव दृष्टिविहीन रहे ? त्यत्रो दैवी शक्तिहरू थिए, तर किन गरिएन उनको आँखाको उपचार ? मैले पहिले नै लेखेको थिएँ- सत्ता उसै पनि त अन्धो (दृष्टिविहीन) हुन्छ, त्यसैले होला ।

आज सोच्दैछु, यो जमानाको राजनीतिमा कोही आँखामा पट्टी लगाएर गान्धारी बन्छन् भने त्यो सही कि गलत ? विल्कुल गलत ।

आजको समयले सत्तालाई भन्छ- बन्द आँखा खोलेर हेर, विवेकको पर्दा उघारेर हेर, तिमी कहाँ छौ ? तिम्रो पाउमुनिको धरातल के तिमीसँगै सुरक्षित छ ? देशको लगाम कहाँ छ ? हातमा मात्रै छ कि साथमा पनि छ ?

अब सोझै प्रसंगमा जान्छु । कांग्रेसको अबको बाटो के ? सभापतिले भावनात्मक सन्देश दिँदै गर्दा लिखित आग्रह गर्नुभयो- व्यक्तिगत वा समूहगत सोचभन्दा माथि उठेर सोच, बुझ र काम गर । कसलाई भन्नुभयो ?

पहिलो कार्यवाहक सभापतिलाई, दोस्रो दुवै महामन्त्रीलाई, तेस्रो डा. शेखर कोइरालालाई, चौथो ६/७ भाइ भूतपूर्व पदाधिकारीहरूलाई अनि पाँचौ हामी सबैलाई ।

गम्भीर परिस्थितिमा गम्भीर सन्देश दिँदै सभापतिले कार्यवाहक पनि सुम्पिनुभयो। साथीहरू मिलेर अघि बढ्नुस् भन्नुभयो। तर म देख्दैछु- हामी सबै दौडिइरहेका छौं, ‘गान्धारीको पट्टी’ खरिद गर्न ।

पहिलो, कार्यवाहकको परीक्षा

पूर्णबहादुर खड्का टपक्क कार्यवाहक बन्नुभएको होइन, लामो राजनीतिमा बेदाग गुजारेका नेता उहाँ सम्भवत: पार्टी राजनीतिको सबै सिँढी क्रमश: उक्लिएको एक सबल नेता हुनुन्छ । अहिलेसम्म सफल भएको नेतालाई कार्यवाहकका रूपमा असफल हुने छुट छैन ।

तर, सभापतिले गुटको भेला खुलेआम कुनै होटलमा गर्नुभएको कहिल्यै सुनिएन । कार्यवाहक बनेको भोलिपल्टै पहिलो काम गुटको खुलेआम बैठक धोबीघाटको एक होटलमा राख्नुभयो उहाँले । यसलाई ‘समूहको विश्वास जित्ने बाध्यता’ मानेर र बुझेर शंकाको सुविधा दिउँला, दिनुपर्छ ।

तर, विशेष महाधिवेशन माग्ने एकथरी र नियमित पनि अहिले नगरौं भन्ने अर्काथरीको बीचबाट मध्यमार्गी समाधानमा पुग्न सक्नु उहाँको राजनीतिक जीवनकै सबैभन्दा ठूलो परीक्षा हो । यसमा उहाँ चुके, उहाँको च्याप्टर सकिन्छ । सफल भए उहाँको नयाँ सुरुवात हुन्छ ।

यतिबेला उहाँका सामु दुई विकल्प छन् ।

एक, युद्धका सारथि कुरुक्षेत्रका कृष्ण सम्झिने र पार्टीलाई ‘महाभारत’ मा जान दिने । अनि अन्त्यमा यदुवंशीको लडाइँ हेर्दै आफ्नै कार्यवाहककालमा कांग्रेस सकिएको देख्ने ।

दुई, आफ्नै गुरु कृष्ण अर्थात् कृष्णप्रसाद भट्टराई सम्झिने र कसरी उहाँले पटकपटक पार्टीलाई विभाजनबाट जोगाउन ‘विष पिएर’ पनि समाधान खोज्नुभयो, त्यो सूत्र र त्यो मार्ग अपनाउने ।

पछिल्लो मार्ग अपनाएर कांग्रेस एकताबद्ध बनाउन सक्दा साँच्चै उहाँको ठूलो जित हुने देख्छु म । त्यसले उहाँलाई कार्यवाहकको उचाइबाट उठाएर नेता र नेतृत्वको गरिमामा पुर्‍याउने छ ।

दोस्रो परीक्षा महामन्त्रीहरूको

विशेष महाधिवेशन मागेर हस्ताक्षर गर्नेले मुख्यत: दुई महामन्त्रीको विश्वासमा गरेका छन् । यद्यपि, त्यो विश्वास विशेषमा पुग्नै पर्दा बाध्यताका रूपमा, नत्र समयमै नियमित महाधिवेशन गर्न सक्दा त्यसमै सबैको सहमति छ र सहमति रहन्छ ।

यहाँ दुई प्रश्न उठ्छ, पहिलो मंसिर मसान्त आउन डेढ महिना मात्रै बाँकी छ । मंसिरकै मिति केन्द्रीय समितिले घोषणा गर्‍यो भने, दुई महामन्त्रीको जोडबलमा घोषणा भएको बुझिँदा, त्यो समयमा ‘एट एनी कस्ट’ महाधिवेशन सम्पन्न गर्ने/गराउने सफलताको श्रेय र असफलताको दोष दुई महामन्त्रीलाई जान्छ । असफल हुने छुट दुवैलाई छैन ।

विवेक पुर्‍याएर गरेको हस्ताक्षरका पक्षमा चट्टानी अडान साथ प्रत्येक महाधिवेशन प्रतिनिधि उभिए, विधानको धारा १७(२) बमोजिम विशेषमा या अविलम्ब नियमितमा पुग्न कसैले रोक्न सक्दैन ।

नियमित महाधिवेशन छोटो समयमा गर्न सकिन्न भनेर विशेष महाधिवेशनमा जानुपर्दा दुई महामन्त्रीले झनै गम्भीर र संवेदनशील भएर काम गर्नुपर्ने हुन्छ । हेक्का राख्नैपर्छ- पार्टीलाई नवीन बनाउनु त छ, तर निरन्तरताको सम्मान अनि थुप्रै अग्रजहरूको उचित व्यवस्थापन अनिवार्य छ ।

समयको मागअनुरूप कांग्रेस अब तरुण र तन्नेरी बन्नैपर्छ, तर एउटा पुस्ता अघि आउँदै गर्दा, अघिदेखि नै अघि उभिएको पुस्तालाई सँगै गाँसेर अघि जाने विशिष्ट क्षमता जरुरी हुन्छ । किनकि, कांग्रेस एक पुस्ताको मात्रै होइन, भिन्नभिन्न पुस्ताको ऐक्यबद्ध परिवार हो ।

तेस्रो परीक्षा डा. शेखर कोइरालाको

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपविजेता बन्नुभएका डा. शेखर कोइराला थोरै बोल्ने तर प्रष्ट अभिव्यक्ति दिने नेताको रूपमा चिनिनुहुन्छ । पार्टी सभापतिमाथिको सांघातिक हमलाको चर्को स्वरमा भत्सर्ना गर्नुभएका नेता कोइरालाले बदलिँदो परिस्थितिको नेतृत्व गर्न पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मको अधिवेशन मंसिर मसान्तभित्र नै सम्पादन गर्नुपर्ने दबाब दिनुभएको छ । विशेष महाधिवेशनका लागि वैधानिक बाटो अवलम्बन गरेका साथीहरूलाई संयमित र सन्तुलित रहन पटकपटक आग्रह गरिरहनुभएको छ ।

१४औं महाधिवेशनमा सभापति पदको उपविजेताका नाताले उहाँ पार्टी भित्रको ‘प्रतिपक्षी नेता’ पनि हो । प्रतिपक्षसँग प्रश्न मात्रै होइन निदान पनि हुनुपर्छ। तर निदानको सूत्र मात्रैले पनि काम गर्दैन, समाधानका लागि त्यही अनुरूपको अग्रसरता चाहिन्छ ।

यो विषम परिस्थितिका बेला उहाँले त्यो अग्रसरता र अग्रनेतृत्व प्रस्तुत गरेर मात्रै आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्नुहुन्छ, सक्नुपर्छ ।

चौथो परीक्षा सात भाइको

बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिको जैविकीय उत्तराधिकारी मात्र होइन, कहालीलाग्दो समयमा अविराम राजनीतिक यात्रा, चट्टानी अडान र सफल सहजकर्ताको भिन्नभिन्न योग्यता चर्चित सात भाइमा छ । नेपाली कांग्रेस पार्टीको मूल प्रवाहका पूर्वउपसभापति, महामन्त्री, नेपाल देशको उपप्रधानमन्त्री र पटकपटक मन्त्री बन्नुभएका नेताहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका अनुभव छन् ।

शान्ति प्रक्रियामा उल्लेख्य भूमिका निर्वाह गर्नुभएका नेताहरूले बदलिँदो सामाजिक सम्बन्धमा पार्टीको जीवनमा ऊर्जा थप्ने कार्य निश्चित रूपमा गर्नुहुनेछ । थङ्थिलो भएको नेपाल देशको ताजगी र धुमिल देखिएको लोकतन्त्रको तुवाँलो हटाउने कार्य अवश्य गर्नुहुनेछ ।

लामो समयदेखिको निरन्तरताप्रति उच्च सम्मान छ, तर निरन्तरतासँगै नवीनता माग्छ समयले । त्यो नवीनता केही छ भने पस्किनु बुद्धिमत्ता हुन्छ । नत्र समयले कोल्टे फेरिसकेपछि मात्रै समयलाई बुझ्ने प्रयास जो हुन्छ, त्यसलाई समयले, समयभन्दा अघि नै दोबाटोमा छोडिसकेको हुन्छ ।

पाँचौ परीक्षा महाधिवेशन प्रतिनिधिहरूको

अधिक सुरक्षाको तयारी असुरक्षित मनोविज्ञानको उपज हो । प्राकृतिक तवरमा नै नेतृत्वमा पुग्न योग्य साथीहरूलाई गुटको टीकापश्चात् मात्र सम्बोधन तानाशाही चरित्र हो ।

घरपालुवा चौपायाले पनि ज्यादा बन्धनको विद्रोह गर्छ भने स्वयंसेवकको रूपमा पार्टीमा क्रियाशील साथीहरूले कसरी सहन गर्न सक्छन् ? प्रत्येक मानिसले आफैसँग संवाद गर्छ, विवेकी बन्छ र निर्णय गर्छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको नतिजा यसको प्रमाण हो ।

नेपाली कांग्रेस लोकतान्त्रवादी भएकोले अन्य पार्टीलाई प्रधान सत्रु भनेर कहिले पनि किटान गरेन । पार्टी महाधिवेशनको सम्बन्धमा विविध विचार वा मत जाहेर गर्ने अधिकारको प्रयोग र स्थानीय तहमा कांग्रेसको निरन्तर किसानी गरिरहेका महाधिवेशन प्रतिनिधि पार्टी भित्रका जग तहका साथीहरूको मत जितेका नेताहरू हुन्।

५४ प्रतिशतभन्दा ज्यादा महाधिवेशन प्रतिनिधिको आवाजलाई नजरअन्दाज गर्दै समयावधि सकिएको भन्ने केन्द्रीय नेतृत्वको बोली सुकेको जरामा थेगिएको हरियो रुखको दावा मात्र हो ।

घरपालुवा चौपायाले पनि ज्यादा बन्धनको विद्रोह गर्छ भने स्वयंसेवकको रूपमा पार्टीमा क्रियाशील साथीहरूले कसरी सहन गर्न सक्छन् ?

विवेक पुर्‍याएर गरेको हस्ताक्षरका पक्षमा चट्टानी अडान साथ प्रत्येक महाधिवेशन प्रतिनिधि उभिए, विधानको धारा १७(२) बमोजिम विशेषमा या अविलम्ब नियमितमा पुग्न कसैले रोक्न सक्दैन। तर आफ्नो विवेकले हस्ताक्षर गरेको थिएँ, दाइको विवेकले फिर्ता गर भनेपछि त्वम् शरणम् गरें भन्ने अवस्था आए पहिलो त उनैलाई अरूले रामराम भन्नेछन् । अनि अन्तिममा परिवर्तनको मुद्दा पनि ‘रामराम जय नेपाल’ हुनेछ ।

तर, म देख्छु कोही हल्लिएका छैनन्, हल्लिने छैनन् र यो परीक्षामा आफू मात्रै होइन, पार्टी र पद्धतिलाई सफल बनाउन ती सबल ढंगले उभिएका छन् ।

फेरि पनि नजर कार्यवाहकमै

नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसरमा कार्यवाहक सभापतिले विशेष महाधिवेशनको सम्बोधन नियमित महाधिवेशनले गर्ने बताउनुभएको छ । हामीलाई हेक्का छ, इतिहास जतिसुकै सौर्यवान भए पनि त्यसले वर्तमानको बोझ बोक्न सक्दैन। तसर्थ, सुरक्षित तवरमा गन्तव्यको कर्तव्य सवारी चालककै हो ।

(गुरागाईं नेपाली कांग्रेस काठमाडौं-७ का महासमिति सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?