Comments Add Comment

सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद

४ जेठ, जनकपुरधाम । सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।

जिल्लाको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

उक्त ठाउँमा हतियारसहित मानिस रहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह छन् ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्काे चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको कुँवरले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यसअघि २७ फागुनमा बारामा प्रेस लेखिएको मोटरसाइकलबाट लागूऔषध बरामद भएको थियो । प्रेस लेखिएको ना.६२ प ६२६७ न. को मोटरसाइकलमा सबार वीरगञ्ज १५ बस्ने ३० बर्षीय जीतेन्द्रकुमार सिंहको साथबाट डाइजेपाम, नुफिन, फेनारगन बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment