Comments Add Comment

कमाउने मान्छे भारतमै अलपत्र, राहत माग्दै वडा कार्यालयमा गृहिणी

४ जेठ, कैलाली । घोडाघाडी नगरपालिका ३ कि खिमादेवी साउदलाई उनका श्रीमान्ले फोन नगरेको एक महिना बित्यो । खिमाले फोन गर्दा पनि लाग्दैन ।

आइतबार घोडाघोडी नगरपालिका ३ को कार्यालयमा भेटिएकी साउदले धन कमाउन गएका श्रीमान बेपत्ता भएपछि घरमा समस्या परेको गुनासो सुनाइन् ।

‘एक बर्ष पहिले भारत गएका श्रीमान्सँग एक महिनदेखि फोनमा कुरा भएको छैन,’ उनले भनिन् ‘न उहाँले फोन गर्नुभएको छ न मैले फोनमा कुरा गर्दा सम्पर्क हुन्छ ।’

श्रीमानले पैसा कमाएर पठाउएको पैसाले घर चलाउँदै आएकी उनलाई हिजोआज छ जनाको परिचार चलाउन अहिले समस्या छ ।

सोही ठाउँकी सिर्जना बस्नेतको पीडा खिमाको भन्दा कम छैन । उनका श्रीमान् पनि भारतमा अलपत्र छन् ।

‘एक वर्ष पहिले रोगजारीमा गएका श्रीमान्ले पैसा पठाएका छैनन्’ उनले भनिन्, ‘घरमा पैसा पनि रित्तिएको छ, अन्न पनि ।’

काम गर्न भारत गएका हेमन्त बस्नेतले भने अनुसार काम पाएनन् । सिर्जनाले भनिन्, ‘काम राम्रो नभएपछि घर फर्किनुभएको थियो । तर उहाँ उतै क्वारेन्टाइनमा अलपत्र पर्नुभयो । ’

श्रीमान्ले पैसा पठाउन छोडेपछि उनलाई आर्थिक संकट पर्‍यो । त्यही संकटका बेला उनको छोराको हात भाँचियो । ‘एक पैसा नहुँदा छोराको हात भाँचियो । व्याजे पैसा मागेर औषधी गरे । अहिले प्लास्टर खोल्नलाई पैसा छैन’ उनी भावुक भइन् ।

६० बर्षकी गंगा हमाल पनि राहत माग्नेको भिडमा छिन् । ‘एउटा छोरो थियो त्यो भारतमा अलपत्र पर्‍यो । भएको पैसा पनि सकियो । रासन पनि छैन । अब के खाने ?’ उनी सुकसुक गर्न थालिन् ।

श्रीमान् अलपत्र परेपछि सोही ठाउँकी रंगा हमालको पनि घर चलाउन मुश्किल छ । दुई महिनादेखि खर्च रोकिएपछि उनले पसलबाट उधारो पाउन पनि छाडेकी छन् । ‘१२ सय तिर्न बाँकी छ । त्यो पैसा पनि छैन मसँग’ उनले भनिन्, ‘अहिले त सलाई मागे पनि छैन भन्छन् ।’

७० बर्षका श्रीमानलाई घरमा राखेर राहत माग्न वडा कार्यालय पुगेकी थिइन् दिला बम । कमाउने नै भारतमा अलपत्र परे पनि घरमा समस्या सुरु भएको उनले बताइन् ।

‘घरमा दुई बुढाबुढी मात्रै छौं । छोराहरु भारत गएका छन्’ उनले भनिन्, ‘अहिले उनीहरु उता समस्यामा छन् हामी यता समस्यामा छौं ।’

घोडाघोडी नगरपालिकाबाट ठूलो संख्यामा युवाहरु रोजगारीका लागि भारत गएका छन् । सीमा बन्द भएपछि अधिकांश उतै अलपत्र परेका छन् । कमाएर ल्याउने व्यक्तिनै अलपत्र परेपछि बिपन्न परिवारको घरमा समस्या परेको हो ।

उनीहरुमध्ये अधिकांश अहिले राहतको लागि प्रत्येक दिन कहिले नगरपालिका त कहिले वडा कार्यालयमा पुग्ने गर्दछन् ।

हामीले राहतको व्यवस्था गरेका छौं : नगरप्रमुख

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले विपन्न परिवारको लागि राहतको प्याकेज तयार गरेको बताए ।

‘यहाँ कोही पनि भोकै रहने अवस्था आउन दिदैनौं’, उनले भने ‘हामी तथ्यांक संकलन गरेर राहत वितरण गरिरहेका छौं ।’ उनले नगर क्षेत्रमा मात्रै २६ यस परिवारलाई राहत वितरण गरिएको जानकारी दिए ।

‘यो संख्या बढ्न पनि सक्छ’, मेयर चौधरीले भने ‘हामीले अब उनीहरुलाई राहात मात्रै होइन रोजगारीको व्यवस्था गरेर श्रमको मूल्य दिने योजना बनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment