 
																						बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समितिका पदाधिकारीमाथि छानबिन हुने भएको छ । ‘माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा‘ शीर्षकमा अनलाइनखबरले सनसनीपूर्ण खुलासा गरेपछि एनआरएनए केन्द्रले छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आइसीसी सदस्य रामशरण सिंखडा छन् ।
दुई साताअघि एनआरएनए नै मानव तस्करीको धन्दामा भन्दै हिमालय टेलिभिजनले समेत एक रिपोर्ट प्रसारण गरेको थियो । रिपोर्टमा पीडितहरूले आफू एनआरएनए माल्टामा रहेका कार्यसमितिकै सदस्यहरूबाट ठगिएको बताएका छन् ।
त्यसो त एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) र महासचिव सन्देश केसीले आफूले गरेको काम गैरकानुनी रहेको आफैँले स्वीकार गरेका छन् । कार्यसमितिभित्रबाट आईसीसी सदस्य, दुई उपाध्यक्षहरू, सचिव, कोषाध्यक्ष, युवा संयोजकलगायत सदस्यहरूले पनि बिचौलियाको काम गरेको आरोप छ ।
एक हप्ताभित्र प्रतिवेदन पेश गर्न केन्द्रको निर्देशन
एनआरएनए केन्द्रले छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । केन्द्रीय महासचिव डा. हेमराज शर्माले समितिलाई शुक्रबार इमेल गर्दै एनसीसी माल्टाका पदाधिकारीहरू उक्त कार्यमा संलग्न भए वा नभएको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । तर, उनले दिएको समयसीमा बिहिबार सकिँदैछ ।
एनआरएनएको मे ९ मा आईईएसको बैठकले छानबिन गर्न समिति गठन गरेको थियो । संघले छानबिनको कार्यविधि तयार गरी अगाडि बढ्न समितिलाई निर्देशन दिएको छ । समिति निर्माणबारे युरोप संयोजक आचार्यलाई यसअघि मौखिक रुपमा जानकारी गराएको र त्यसतर्फ काम अघि बढेको अपेक्षा महासचिव शर्माको छ ।
मानव तस्करी गर्नेलाई छोड्दैनौं : अध्यक्ष पन्त
गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले एनआरएनए पदाधिकारीहरू नै मानव तस्करीमा संग्लग्न रहेको भेटिएमा कारबाही गर्ने चेतावनी दिएका छन्। नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको भर्चुअल बहस कार्यक्रममा पनि माल्टाबारे प्रश्न उब्जिएपछि अध्यक्ष पन्तले यस्तो बताएका हुन् ।
अध्यक्ष पन्तले मानव तस्करीमा संग्लग्न रहेको भेटिएमा कसैलाई पनि नछोड्ने दाबी गरे । उनले भने, ‘तपाईं पत्रकार साथीहरूलाई साक्षी राखेर के कुरा घोषणा गर्छु भने संघलाई माध्यम बनाएर वा संघमा रहेर कोही मान्छे मानव तस्करीमा संलग्न भएमा हाम्रो लागि त्यो ठूलो अपराध हो । यदि छानबिन समितिबाट पनि सत्य हो भन्ने रिपोर्ट आएको खण्डमा त्यस्ता साथीहरूलाई कारबाही हुन्छ। उहाँहरू संघको नेतृत्वमा रहनु हुन्न ।’
उनले छानविन समितिबाट यथार्थ विवरण संघले छिट्टै सार्वजनिक गर्नेसमेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सोधपुछविना नै स्पष्टीकरण पत्र
बिबादमा तानिएको एनआरएनए माल्टाका पदाधिकारीहरूले आफैँ स्पष्टीकरण दिएका छन् । राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रलाई सम्बोधन गर्दै केन्द्रको सोधपुछविना नै स्पष्टीकरण पत्र पठाएका हुन् । यता भने छानविनको कार्यविधि अझै तयार भइसकेको छैन ।

संघका अध्यक्ष राजु अर्याल र महासचिव सन्देश केसीले हस्ताक्षर गरेको पत्रमा आफ्ना आफन्त तथा इष्टमित्रलाई माल्टामा बोलाएको र बाहिरी मानिसहरूमा कुनै संलग्नता नरहेको उल्लेख छ । तर, उनीहरूले संघको पद तथा गोपनीयताको सपथ लिनुपूर्व त्यस्ता गतिविधिमा संलग्न गरेको पत्रमा उल्लेख गरेका छन् । आफैँले स्पष्टीकरण पत्रमा उल्लेख गरेका यी कुराहरूले पनि उनीहरू गैरकानुनी काममा संग्लग्न रहेको पुष्टि हुन्छ ।
उनीहरूले भ्रमित र सुनियोजित ढंगले परिचालित व्यक्तिले खेदो खन्न समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन्। संघको प्रतिष्ठामा आँच आउने काम निन्दनीय रहेको बताएका छन् । ‘जुन कुरा हामीले संवादमा स्वीकारेका छौं त्यो आफ्नो पद तथा गोपनीयताको सपथ खानुभन्दा अगाडिका कुराहरू हुन् । त्यो पनि हामी आफन्त र इष्टमित्रबाहेक बाहिरी मानिसमा हाम्रो संग्लग्नता नरहेको कुरा अवगत गराउन चाहन्छौं,’ स्पष्टीकरण पत्रमा लेखिएको छ ।
पार्टी वा व्यक्तिगत स्वार्थले संस्थामा आँच आउने काम नगरेको बताउँदै उनीहरूले यदि काहीँकतै त्यस्तो फेला पर्न गएमा संस्थाको नियम र कानुनबमोजिम सजाय भोग्न तयार हुने पनि बताएका छन् ।
लम्बिन सक्छ छानबिन प्रक्रिया
आईसीसीले बिहीबारसम्म प्रतिवेदन पठाउन निर्देशन दिए पनि छानबिन समितिले अझै पनि कार्यविधि तयार नपारेकाले छानबिनको समयसीमा लम्बिन सक्ने छ ।
युरोप क्षेत्रीय उपसंयोजक तथा समितिका सदस्य मुक्तबहादुर गुरुङले कार्यविधिबारे टुङ्गो अझै लागिनसकेको बताए । छानबिनको दायरा के बनाउने ? त्यो सबै कार्यविधिमा नै उल्लेख हुनुपर्छ । त्यसबारे सोमबार टुङ्गो लगाउने गुरुङले जानकारी दिए । उनले माल्टाका कार्यसमितिले पठाएको स्पष्टीकरण पत्र आधिकारिक नभएको बताए ।
अनलाइनखबरसँग कुराकानी गर्दौ उनले भने, ‘एनसीसी मात्र होइन एनसीसीभन्दा माथिल्लो पदका मान्छे जो कोही भए पनि त्यसको छानबिन हुन्छ । स्पष्टीकरण लिने विधि तयार गर्दैछौं । त्यसैको आधारमा छानबिन गर्ने हो ।’
आर्थिक पारदर्शिता र मानव तस्करीको नाममा एनआरएनएलाई लाग्ने गरेको आरोपलाई आफैँले चिरफार गर्नुपर्ने बताउँदै गुरुङले छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘समाचारपछि बिचौलियाहरू डराउन थाले’
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ मूलघर भएका उज्वल केसीले माल्टाबारे समाचार आएपछि आजभोलि एजेन्टहरूले पीडितका समस्याहरू सुन्न थालेको बताएका छन् । ‘पहिले एजेन्टलाई फोन गर्दा सकेको गर भन्ने किसिमको कुरा गर्थे । तर, आजभोलि पीडितका कुरा भने सुनिदिन्छन्,’ केसीले थपे ।
माल्टामा दुई सयभन्दा बढी नेपालीहरूले बिचौलियाको काम गरेको उनको दाबी छ । ‘एनआरएनलाई अलि गलाउन सकिन्छ । लाजशरमले पनि आफूले ल्याएका मान्छेहरूको पीडा अलि बढी सुनिदिन्छन् । तर, एनआरएनएभन्दा बाहिर जति छन् नि यिनीहरू सबैभन्दा घातक हुन्,’ उनले भने ।
‘११ लाख ७५ हजार रुपैयाँ माल्टा आउँदासम्मको ऋण डेढ वर्ष भयो अझै ऋण तिर्न सकेको छैन,’ आफ्नो पीडा अनलाइनखबरलाई सुनाउँदै केसीले भने, ‘यहाँ सामान्यतया तोकिएको तलब थाप्नेभन्दा अझ बढी मैले नै कमाइ गर्छु । तर, पनि ऋण तिर्न गाह्रो छ । त्यसैले त माल्टामा नेपाली आउनेबित्तिकै बिचौलियाको काम थाल्छन् ।’
माल्टालाई समेत हेर्दै आएको लन्डनस्थित नेपाली दूतावास जिम्मेवार नबनेको उनको आरोप छ । ‘चोकमा उभिएर २० जना नेपालीलाई सोध्नु, यहाँको पीडा बुझ्नुहुन्छ । राजदूत माल्टा आउँदा चर्को स्वरले बोल्ने पनि म नै थिए,’ केसीले थपे ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4