Comments Add Comment

नीति तथा कार्यक्रम कोभिड-१९ को चुनौतीमा अल्झिने होइन : विष्णु पौडेल

फाइल तस्वीर

५ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले राज्य कोभिड-१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्न नहुने टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राज्य सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका चुनौती सामना गर्ने र आर्थिक-समाजिक जीवनलाई गतिशील बनाउने संकल्पका साथ अघि बढ्नुपर्ने बताए ।

‘नीति तथा कार्यक्रम कोभिड-१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने होइन, त्यसलाई सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका साथ सामना गर्ने, आर्थिक-सामाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पका साथ प्रस्तुत भएको छ’ उनले भने ।

सरकार र समग्र राज्य प्रणाली प्रकृति वा मानव सिर्जित साना वा ठूला घटना, दुर्घटना वा चुनौतीबाट विचलित हुन नमिल्ने भन्दै पौडेलले सरकारले जस्तोसुकै संकटको पनि सामना गर्न र राष्ट्र तथा जनताको आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास राख्नुपर्ने बताए ।

सिङ्गो विश्व नै कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भए पनि राज्य आफ्ना आधारभूत अभिभाराबाट विमुख हुन नसक्ने पौडेलले बताए ।

नीति तथा कार्यक्रम कोभिड-१९ नियन्त्रण गर्ने र स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र रोजगारीका क्षेत्रमा लगानी केन्द्रित गर्ने, थप क्षति हुन नदिने र अर्थतन्त्रलाई गतिशील तुल्याउने संकल्पका साथ आएको उनले टिप्पणी गरे ।

‘मितव्ययिता अपनाउने, फजुल खर्च रोक्ने, सुशासन प्रवर्द्धन गर्ने र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित हुने अठोटका साथ आएको छ’ उनले भने ।

हेर्नुहोस् पौडेलले प्रतिनिधिसभामा व्यक्त गरेको मन्तव्यको पूर्णपाठ 

सभामुख महोदय,

आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रमका सम्बन्धमा विचार व्यक्त गर्ने अवसर दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै संक्षिप्तमा आफ्नो धारणा राख्न चाहन्छु ।

सभामुख महोदय,

सर्वप्रथम कोभिड-१९ को विश्वव्यापी महामारीको कारण जीवन गुमाउनुहुने नेपाली तथा संसारभरिका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । उपचाररत र संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । जीवनको प्रवाह नगरी अग्रभागमा रहेर यस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सक्रिय भूमिका निर्वाह गर्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, नेपाली सेना, प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकाय, सबै तहका जनप्रतिनिधिहरू, सहयोगदाता महानुभावहरू, विदेशी मित्रराष्ट्रहरू, सञ्चार जगत र सरकारी निर्णय पालना गरेर कोभिड- १९ नियन्त्रणमा योगदान गर्नुहुने आम जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

सम्माननीय राष्ट्रपतिज्यूको सम्बोधनमार्फत यस सम्मानित संसद समक्ष प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को नेपाल सरकारको नीति तथा कार्यक्रमलाई म दृढतापूर्वक समर्थन गर्दछु।

नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षको बजेटलाई निर्देशित गर्नुपर्दछ। वर्षभरिका लागि सरकारको काम र समग्र राज्यप्रणालीलाई मार्गदर्शन गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालुभएपश्चात् चरणबद्ध रुपमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पका नीति तथा कार्यक्रम आउने गरेको छ । मैले यस पटक पनि त्यसैगरी आएको छ पाएको छु ।

यो नीति तथा कार्यक्रम निर्वाचनका बेलमा ५ वर्षका लागि जनतासमक्ष गरिएको प्रतिबद्धताको चरणबद्ध कार्यान्वयनको संकल्प बोकेर आएको छ। आगामी आर्थिक वर्षमा के के गर्ने भन्ने प्रतिबद्धता सहित आएको छ ।

सदनमा सपनाको प्रसंग उठको छ । सपना नदेखि तस्वीर बनाउन सकिन्न । सपनासम्म पनि देख्न नसक्नेले विकास, निर्माण वा समृद्धिको अभियानलाई नेतृत्व गर्न सक्तैन । त्यसर्थ, नेतृत्व स्वप्नदर्शी हुनैपर्छ । हो, सपना कार्यान्वयन गर्न सकिने नै हुनुपर्छ । सरकारको नीति तथा कार्यक्रम कोभिड-१९ ले सिर्जना गरेको चुनौतीको सामना गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरागर्ने सपना र संकल्पका साथ आएको छ। नीति तथा कार्यक्रमले आधारहीन सपना बाँडेको छैन । बरु यो स्पष्ट उद्देश्य, लक्ष्य, कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्त गर्ने अठोटका साथ आएको छ ।

सभामुख महोदय, यदाकदा नीति तथा कार्यक्रमलाई महत्वाका‌ंक्षी भनेको पनि सुनियो । मेरो विचारमा यो महत्वाका‌ंक्षी होइन, उच्च आका‌ंक्षी छ । श्रोत, साधन र सामर्थ्यको अधिकतम परिचालन गर्दा कार्यान्वयन गर्न सकिने प्रकृतिको छ । मेरो विचारमा नीति तथा कार्यक्रम सम्भावनाको न्यूनतम सीमारेखाको नजिक होइन, उच्चतम सीमारेखाको नजिक भएरै आउनुपर्छ र यसरी नै आएको पनि छ ।

नीति तथा कार्यक्रम कोभिड-१९ को महामारी र त्यसले मानव जीवनको रक्षा तथा आर्थिक-सामाजिक क्षेत्रमा सिर्जना गरेको चुनौतीको सामना कसरी गर्ने ? कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई कसरी प्रभावकारी बनाउने ? प्रकृतिको सुन्दरतम सृष्टि मानव जीवनको रक्षा कसरी गर्ने ? यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई कसरी सामना गर्ने ? भन्ने जस्ता विषयहरूमा तत्कालको अभिभारा निश्चित गरेको मात्र होइन, पोस्ट कोभिड योजना सहित प्रस्तुत भएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा थप क्षति हुन नदिन र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्नमा केन्द्रित भएको छ ।

सभामुख महोदय,

सरकार र समग्र राज्य प्रणाली प्रकृति वा मानव सिर्जित साना वा ठूला घटना, दुर्घटना वा चुनौतीबाट विचलित हुँदैन, हुन मिल्दैन । सरकारले, राज्यले जस्तासुकै संकटको पनि सामना गर्न र राष्ट्र तथा जनताको आम वा आधारभूत आवश्यकता पूरागर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढ्नु पर्छ । प्रस्तुत नीति तथा कार्यक्रम त्यसरी नै आएको छ। नीति तथा कार्यक्रम कोभिड-१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने होइन । त्यसलाई सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका साथ सामना गर्ने, आर्थिक–समाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकां‌क्षा पूरा गर्ने संकल्पका साथ प्रस्तुत भएको छ।

यस पटकको नीति तथा कार्यक्रम समस्त मानव जाति र सिङ्गो विश्वले सामना गरिरहेको कोभिड-१९ को चुनौती परास्त गर्दै अगाडि बढ्न रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भएर आएको छ। कोभिड-१९ का विरुद्ध केन्द्रित भइरहँदा पनि राज्य आफ्नो आधारभूत अभिभाराबाट विमुख हुन सक्तैन भन्ने मान्यता बोकेर आएको छ ।

नीति तथा कार्यक्रम बदलिएको परिस्थिति अनुरुप कोविड– १९ नियन्त्रण गर्ने र स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र रोजगारीका क्षेत्रमा लगानी केन्द्रीत गर्ने, थप क्षति हुन नदिने र अर्थतन्त्रलाई गतिशील तुल्याउने संकल्पका साथ आएको छ । मितब्ययीता अपनाउने, फजुल खर्च रोक्ने, सुशासन प्रवर्धन गर्ने र उत्पादन वृद्धि तथा रोजगारी सृजनामा केन्द्रीत हुने अठोटका साथ आएको छ । अर्थतन्त्रलाई सबल, स्वाभलम्बी र आत्मनिर्भर तुल्याउने तथा उपलब्ध परिस्थितिमा संभव सिमा सम्मको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ आएको छ ।

सभामुख महोदय, नीति तथा कार्यक्रम कोविड– १९ लाई परास्त गर्ने र उर्जा, सडक, सिंचाई, रेलमार्ग, खानेपानी जस्ता पूर्वाधारहरुलाई पनि एकसाथ अगाडी बढाउने अठोटका साथ आएको छ । आगामी आर्थिक बर्षमा कृषि उत्पादनमा महत्वपूर्ण योगदान गर्ने र प्रदेश नं. २ को मुहार बदल्ने सुनकोशी–मरिन–बागमती डाईभर्सन आयोजनाको निर्माणकार्य आरम्भ गर्ने तत्परता निकै नै महत्वपूर्ण छ । अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय आवद्धताका दृष्टिले असाधारण महत्व राख्ने र नेपाली अर्थतन्त्रको जीवन रेखा सावित हुने हैसियतका वीरगञ्ज–काठमाण्डौ, केरुङ–काठमाण्डौ तथा पूर्वपश्चिम रेलमालर्गको निर्माणकार्य आगामी बर्ष भित्र प्रारम्भ गर्ने अठोट चानेचुने बिषय होइन । तमोर–चिसाङ, माडी–दाङ र कालिगण्डकी–तिनाउ डाइभर्सन जस्ता आयोजनाहरुलाई अघि बढाउने तत्परता साधारण बिषय होइन । श्रोतको व्यवस्थापन गरेर बुढी गण्डकी, पश्चिम सेती जस्ता जलविद्युत आयोजनाहरुलाई अघि बढाउने संकल्प पनि त्यत्तिकै महत्वपूर्ण छ । भूमी बैंक स्थापना गर्ने र खाद्यान्न, दुध, माछामासु, तरकारी तथा फलफूल जस्ता उत्पादनमा आत्मनिर्भर हुन लगानी केन्द्रीत गर्ने बिषयको महत्वलाई निकट विगत र वर्तमानमा नेपालले भोगको पिडाले दर्शाएको छ ।

कोविड– १९ द्वारा सिर्जित कल्पनातित चुनौतीका बावजुद श्रोत व्यवस्थापनमा आन्तरिक श्रोत परिचालनलाई मूख्य आधार बनाउने अठोट नीति तथा कार्यक्रमको अर्को महत्वपूर्ण विशेषता हो । मेरो विचारमा नीति तथा कार्यक्रमको महत्व लामो वा छोटामा होइन, त्यसमा अन्तनिहित अन्तरवस्तुमा खोजिनु उचित हुन्छ । त्यस दृष्टिले यो नीति तथा कार्यक्रम सही, समयोचित र आत्मविश्वासयुक्त छ । यो परिस्थितिको सिमाभित्र रहेर पुरागर्न सकिने स्पष्ट लक्ष्य तथा कार्यान्वयनको मूर्त योजना हो भन्ने कुरा स्पष्ट छ । यसले आगामी जेठ १५ गते अर्थमन्त्रीद्वारा संघीय संसद समक्ष प्रस्तुत हुने बजेट अर्थात राजश्व र व्ययका लागि पनि स्पष्ट दिशा निर्देश गरेको छ । आगामी बजेटमा यस् नीति तथा कार्यक्रमको मर्मलाई आत्मसात गरिने छ, राजश्व परिचालन र विनियोजन कुशलताद्वारा यसको कार्यान्वयन सुनिश्चित गरिनेछ भन्नेमा विश्वास व्यक्त गर्न चाहन्छु ।

नीति तथा कार्यक्रमले वर्तमान सरकार नेपाली भूमिको रक्षा र राष्ट्रिय स्वाधिनताको सबलीकरणका लागि अविचलित छ, त्यस निम्ति सिङ्गो राष्ट्रलाई एकतावद्ध गरेर र राष्ट्रिय सहमति जुटाएर अघि बढ्न चाहन्छ, राष्ट्रिय हितको पक्षमा दृढताका साथ उभिदै छिमेकी मित्रराष्ट्रहरुसंग असल सम्बन्ध राख्न चाहन्छ, विगत देखि थाती रहँदै आएका वा हाल उत्पन्न भएका समस्यालाई वार्ताका माध्यबाट समाधान गर्न चाहन्छ र तथ्यको जगमा खडा भएर कुटनीतिक वा राजनीतिक वार्ताद्वारा समस्याको समाधान चाहन्छ भन्ने स्पष्ट गरेको छ । सरकारका लागि मातृभूमीको रक्षा तथा सम्पूर्ण नेपालीको सम्मान र स्वाभिमान सर्वोपरी हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको छ ।

सभामुख महोदय, कोविड–१९ ले गर्दा नेपाल मात्र होइन, सिङ्गो विश्व र समस्त मानवजातिले नै कल्पनातित संकटको सामना गर्नुपरेको वर्तमान समयमा राष्ट्रका सामु उपस्थित सबै प्रकारका चुनौतीको सामना गर्न हामीमा पनि अभूतपूर्व राष्ट्रिय एकताको खाँचो छ । आजको आवश्यकता हामीले परम्परागत ढाँचाको सत्तापक्षीय वा प्रतिपक्षीय अभ्यास गर्ने होइन, कोविड– १९ को सामना, सिमा रक्षा सहित राष्ट्रिय हितको प्रवर्धन, राष्ट्रिय हित अनुकूल सन्तुलित परराष्ट्र नीतिको अवलम्बन र संविधानले दिशा निर्देश गरेझैं विकास, समृद्धि सामाजिक न्याय र समाजवादको आधार निर्माण जस्ता बिषयहरुमा साझा दृष्टिकोण निर्माण गर्न र घनिष्ट सहकार्य गर्न जरुरी छ । यीनै अन्तरवस्तुहरुलाई समेटेर आएको नीति तथा कार्यक्रमलाई सहमतिका साथ पारित गर्न र देश तथा दुनियाका सामु अभूतपूर्व राष्ट्रिय एकता प्रर्दशित गर्न सबै राजनीतिक दल तथा सम्मानित सदनका सम्पूर्ण माननीय सदस्यहरुमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

विष्णुप्रसाद पौडेल
सदस्य, प्रतिनिधिसभा
मितिः २०७७ जेठ ५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment