
५ जेठ, विराटनगर । आइतबार कोरोना संक्रमण पुष्टि भएकी नर्सको संक्रमण स्रोत पहिचान गर्न मुश्किल परेको छ ।
जिल्ला अस्पताल धनकुटामा कार्यरत ३४ वर्षकी नर्समा अस्पतालबाट बाहिर नगएकाले संक्रमण स्रोत पहिचान गर्न मुश्किल भएको मेडिकल सुपरिटेन्डेन्ट पुजन विश्वकर्माले बताए ।
‘सेवाग्राहीबाटै स¥यो कि भन्ने आशंका छ’ उनले भने । उनका अनुसार अस्पतालमा दैनिक एक सय हाराहारी सेवाग्राही आउँछन्, त्यसैले सेवाग्राहीको पहिचान गर्न पनि समस्या भएको छ ।
संक्रमित महिलाका श्रीमान मोरङको विराटचोकमा बस्छन् । ५ वर्षका छोरासहित नर्स धनकुटामा बस्थिन् ।
‘अस्पताल आउने सेवाग्राहीले खुलेर लक्षण भन्दैनन्’ मेडिकल सुपरिटेन्डेन्ट बिक भन्छन् ‘संक्रमणको स्रोत नखुल्दा कोरोना भोलि नियन्त्रणबाहिर जान्छ कि भन्ने चिन्ता छ ।’
पीसीआर विधिबाट परीक्षण गर्दा नर्सको छोरामा कोरोना संक्रमण नभएको पाइएको छ । संक्रमण पुष्टि भएपछि उनी ५ वर्षीय छोरा लिएर कोभिड अस्पताल विराटनगर आएकी थिइन् ।
आमा छोरा डेरामा बस्दै आएकाले दुवै जनालाई कोभिड अस्पताल ल्याइएको थियो । छोराको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वकर्माले जानकारी दिए ।
अहिले नर्सका छोरालाई उसको बुबाको जिम्मा लगाइएको छ ।
८३ जनाको नमुना संकलन
नर्समा कोरोना संक्रमण देखिएपछि धनकुटा अस्पतालमा कार्यरत ८३ जनाको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ ।
आइतबार संक्रमण पुष्टि भएपछि सोमबार अस्पतालमा कार्यरत कर्मचारीको नमुना संकलन गरिएको मेडिकल सुपरिटेन्डेन्ट बिकले जानकारी दिए । संक्रमण देखिएपछि धनकुटा बजार सिल गरिएको छ ।
प्रतिक्रिया 4