Comments Add Comment

टिकटकमा झुम्मिए नायिका, वर्षा सिवाकोटीको पनि इन्ट्री

लकडाउनका कारण नेपाली चलचित्रका कलाकारहरू यतिबेला फुर्सदमा छन् । उनीहरूले एक्सन-कट सुन्न नपाएको पनि दुई महिना नाघिसक्यो । धेरैलाई अभिनयको तलतल लागिरहेको होला ।

नायिकाहरूको हकमा चाहिँ अभिनयको तलतल मेटाउन सहयोग गरेको छ, टिकटकले । विश्वव्यापीरुपमा लोकप्रियता कमाएको यो चिनियाँ एपमा नेपालका नायिकाहरू मज्जाले रमाइरहेका छन् । चलचित्र र म्युजिक भिडियोमा पोख्न नपाएको अभिनय उनीहरू टिकटकमा पोखिरहेका छन् । लकडाउनमा त झन् उनीहरूका लागि समय बिताउने माध्यम पनि बनेको छ टिकटक।

त्यसो त लकडाउनभन्दा अगाडि पनि थुप्रै नेपाली नायिकाहरू टिकटकमा सक्रिय नै थिए । १५ सेकेन्डको भिडियोमा लिपसिङ गरेर नायिकाहरूले आफूलाई सस्तो बनाएको टिप्पणी हुने गरेको पहिल्यैदेखि हो । तर, के फरक पर्छ उनीहरूलाई ? टिकटकमा वाहवाही गर्नेहरूको कमी हुँछैन । फलोअर्सको कमी हुँदैन ।

टिकटकप्रेमी नायिका
चल्तीका अधिकांश नेपाली नायिकाहरूलाई टिकटकमा नियमित देख्न सकिन्छ । यसमा सुरुदेखि सक्रिय र राम्रो फलोअर्स कमाएकी नायिका वर्षा राउत हुन् । चलचित्रमा व्यस्त हुँदाहुँदा पनि उनी नियमित टिकटक भिडियो बनाउन समय निकाल्थिन् । अहिले त झन् समय नै समय छ ।

टिकटकमा अहिलेसम्म दुई सय २९ भिडियो पोस्ट गरेकी वर्षाका आठ लाख ४३ हजार ६ सय फलोअर्स छन् । यसैगरी उनले कुल मिलाएर १ करोडभन्दा बढी लाइक्स प्राप्त गरेकी छिन् । उनी ट्रेन्डिङमा रहेका गीत र डाइलगहरूमा अभिनय गर्छिन् ।

अर्की चर्चित नायिका आँचल शर्मा पनि टिकटककी सक्रिय युजर हुन् । दुई वर्षदेखि टिकटकमा देखिँदै आएकी उनका फलोअर्स पाँच लाख ८४ हजार जना छन् । आँचललाई टिकटकले निकै फाइदा पनि भएको छ । उनले म्युजिक भिडियो खेलेका धेरै गीत टिकटकबाट हिट भएका छन् ।

चलचित्रमा खासै चम्किन नसकिरहेकी नायिका नीता ढुंगाना टिकटकमा भने निकै चम्केकी छन् । उनको अभिनय र डान्स दुवै लोभलाग्दो हुन्छ । टिकटकमा दुई लाखभन्दा बढी फलोअर्स कमाएकी नीताले अहिलेसम्म ५ सय १७ वटा भिडियो पोस्ट गर्न भ्याएकी छन् ।

पहिले टिकटकमा खासै नदेखिने पूजा शर्मा पनि आजकल धेरै भिडियोहरू बनाउँछिन् । उनको टिकटकमा दुई लाख ६८ हजार फलोअर्स छन् भने अहिलेसम्म ८० भिडियो पोस्ट गरेकी छिन् ।

टिकटकमा बेलाबखत देखिने गरेका नायिकाहरूमा केकी अधिकारी, प्रियंका कार्की, श्वेता खड्का, शिल्पा पोखरेल, सुष्मा कार्कीलगायत छन् । पछिल्लो समय सुष्मा कार्की र पूजा शर्माबीचको टकरावले टिकटकमा राम्रै स्थान पाइरहेको छ ।

वर्षा शिवाकोटीको इन्ट्री
नायिका वर्षा शिवाकोटी पहिले टिकटकको ‘खुंखार विरोधी’ थिइन् । स्थापित कलाकारहरूले टिकटकमा अभिनय गरेर आफूलाई सस्तो बनाउनुहुँदैन भन्ने उनको मान्यता थियो । तर, अहिले उनले पनि टिकटकमा इन्ट्री मारेकी छिन् ।

टिकटकमा आउनुको कारणबारे उनले अनलाइनखबरसँग भनिन्, ‘मलाई धेरै साथीभाइ र दर्शकहरूले टिकटकमा आउन आग्रह गरिरहनुभएको थियो । पहिल्यै इन्ट्रेस्ट लागेको थिएन । तर, अहिले यो निकै ठूलो प्लेटफर्म भइसकेको रहेछ । त्यसैले आफ्नो चलचित्र र म्युजिक भिडियोको प्रमोसन पनि गर्न सकिन्छ भन्ने हिसाबले आएकी हुँ । म जे पायो त्यही भिडियो पोस्ट गर्दिनँ ।’

‘टिकटकले गर्दा नायिकाहरु सस्तो भए भनेर पहिले गुनासो गर्ने तपाईं नै होइन र ?’ भन्ने प्रश्न गर्दा उनले जवाफ दिइन्, ‘हो, पहिले मलाई त्यस्तो लागेको थियो । केही कलाकारहरुले यसलाई आवश्यकताभन्दा बढी प्रयोग गरिरहेको महसुस गरेकी थिएँ । तर, अब यो प्लेटफर्मले ठूलो रुप लिइसक्यो । यसबाट टाढा बसिरहन सक्ने अवस्था भएन ।’

उनले तीन–चार दिनअघि मात्रै टिकटक एप्लिकेसन मोबाइलमा डाउनलोड गरेको बताइन् । हेर्दै जाँदा रमाइलो लागेपछि आफूलाई पनि बनाउन रहर लागेको उनको भनाइ छ ।

अर्की नायिका बेनिशा हमाल पनि अहिले टिकटकमा देखिन थालेकी छिन् । उनी टिकटक पहिले पनि चलाउँथिन् । तर, बीचमा छाडेकी थिइन् ।

बेनिशाले भनिन्, ‘पहिले चलाउँथे तर यसमा धेरै समय बित्न थालेपछि मोबाइलबाट एप्लिकेसन नै हटाइदिएँ । अहिले लकडाउनले गर्दा फुर्सद भयो । त्यसैले फेरि चलाउन थालेकी हुँ ।’

बाहिर को–को ?
धेरै चल्तीका नायिकाहरू टिकटकमा रमाइरहँदा केही अपवाद पनि छन् । जस्तो कि नायिका स्वस्तिमा खड्काले आफैँ अकाउन्ट खोलेर भिडियो पोस्ट गरेकी छैनन् । यद्यपि, अरुका अकाउन्टबाट उनका भिडियो क्लिप्सहरू आइरहेका हुन्छन् ।

अहिलेसम्म टिकटकबाट पूरै अछुतो रहेकी नायिका ऋचा शर्मा हुन् । उनी टिकटकमा अहिलेसम्म आकर्षित नभएको र मोबाइलमा एप पनि नहालेको दाबी गर्छिन् ।

‘मलाई यसमा रुचि छैन । तर, जसले चलाउँछ उनीहरूप्रति पनि कुनै टिप्पणी छैन । यो व्यक्तिगत इच्छाको कुरा हो,’ ऋचाले भनिन् ।

टिकटक नहेर्ने गरेको भए पनि उनले टिकटकका केही सेलिब्रिटीहरू चिनेको र उनीहरूबाट प्रभावित रहेको बताइन् । मनपर्ने टिकटकरमा रेश्मा घिमिरे, शिक्षा संग्रौला र ट्विनी गल्सको उनले नाम लिइन् ।

‘उहाँहरूलाई इन्स्टाग्राममा हेरेकी छु,’ ऋचाले भनिन्, ‘टिकटकबाट धेरै राम्रा प्रतिभाहरू अगाडि आउनुभएको छ । यसलाई लिएर पुराना कलाकारले कुनै इगो राख्नुपर्ने आवश्यकता देख्दिनँ ।’

ऋचाकै समकालीन नायिका नम्रता श्रेष्ठ पनि टिकटक बनाउँदिनन् ।

नायिकाको हिन्दीमोह
टिकटक एउट विश्वव्यापीरुपमा लोकप्रिय प्लेटफर्म हो । १५ सेकेन्डको लिपसिङ गरेको भरमा धेरैले विश्वभर प्रशंसक कमाएका छन् । नेपालकै केही टिकटकरका पनि विश्वव्यापी फलोअर्स छन् ।

टिकटकमा अन्य देशका फलोअर्स बटुल्ने तरिका चाहिँ अंग्रेजी र हिन्दी गीत वा डाइलगमा अभिनय गर्नु हो । नेपालका टिकटक प्रयोगकर्ताहरूले खासगरटी हिन्दी फिल्मका गीत र डाइलग अत्यधिक प्रयोग गर्छन् । सेलिब्रिटीहरूमा पनि यही प्रवृत्ति हाबी छ ।

अरू बेला दर्शकलाई ‘नेपाली चलचित्रलाई माया गरौं, नेपाली कला-संस्कृतिको प्रबर्द्धन गरौं’ भन्दै पुकारा गर्ने नायिकाहरू टिकटकमा हिन्दी फिल्मका गीत र डाइलगमा लिपसिङ गर्न हिच्किचाउँदैनन् । उनीहरूले यस्तो गर्दा अत्यधिक नकारात्मक प्रतिक्रियाहरू आउनेगर्छ । तर, भ्युजको लोभमा उनीहरूले हिन्दी मोह त्याग्न सकेका छैनन् ।

नायिका वर्षा शिवाकोटीले चाहिँ आफू विदेशी चलचित्रको मोहबाट टाढा रहेको बताइन् । ‘मलाई हिन्दी चलचित्रका गीत र डाइलगमा अभिनय गरेको हेर्न पाउनुहुनेछैन,’ उनले भनिन् ।

नायिका ऋचा शर्मा चाहिँ यो कुनै गलत कुरा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘नेपाली नायिकाले हिन्दी डाइलगमा टिकटक बनाउनुहुँदैन भन्ने केही छैन । आफूलाई जे रमाइलो लाग्छ, जे ट्रेन्डिङमा छ त्यही गर्ने हो ।’

केही पुरुष कलाकार पनि
सामान्यतया टिकटकमा पुरुषहरूको उपस्थिति महिलाको तुलनामा न्यून हुन्छ । नेपालका पुरुष सेलिब्रिटीहरू पनि टिकटकमा खासै अभ्यस्त छैनन् ।

नायक अनमोल केसीको आफ्नै टिकटक एकाउन्ट छैन । तर, अनमोलको नाममा टिकटक एकाउन्टहरू पनि धेरै प्रयोगमा छन्। अनमोलले आफ्नो टिकटक एकाउन्ट नभएको बताए । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, खगेन्द्र लामिछानेजस्ता अभिनयका महारथीहरू टिकटकमा अभिनय गर्दैनन् ।

दुई चल्तीका नायक प्रदीप खड्का र पल शाह चाहिँ टिकटकमा देखिने गरेका छन् । उनीहरूको फ्यान फलोइङ पनि राम्रै छ । नायक आकाश श्रेष्ठ नायिका पूजा शर्मासँग केही टिकटकमा देखिएका छन् । पछिल्लो समय उनीहरूको निकटता निकै बढिरहेको टिकटकमा पनि झल्किन्छ ।

पछिल्लो समय हास्यव्यङ्ग्य कलाकार सन्दीप क्षेत्री पनि यो प्लेटफर्ममा तानिएका छन् । सन्दीपले मिठाईलाल जाधवका रुपमा बोलेका धेरै रमाइला संवाद पहिल्यैदेखि टिकटकमा फेमस थिए । तर, उनको आफ्नै अकाउन्ट भने थिएन । अहिले उनी टिकटकमा हिन्दी फिल्मका डाइलगमा लिपसिङ गरिरहेको भेटिन्छन् ।

वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि टिकटक बनाएका छन् । मदनकृष्णले एउटा लोकगीतमा गरेको रमाइलो नृत्य सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment