Comments Add Comment

बाराका संक्रमित पत्रकार भन्छन्– कोरोना जितेरै घर फर्किन्छु

६ जेठ, वीरगञ्ज । कोरोना भाइरसको महामारी फैलिँदै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेहरु नै बढी जोखिममा हुन्छन् । नेपालमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा ५ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जका दुई जना पत्रकारमा वैशाख ३१ गते पहिलो पटक पुष्टि भएको थियो । त्यसयता जनकपुर र उदयपुर र बारामा पनि पत्रकारमा कोरोना संक्रमण भएको छ । बाराका संक्रमित पत्रकार हाल कलैया अस्पतालको आइसोलेसनमा उपचाररत छन् । उनले आफूलाई खानामा अरुची हुने बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

बाराका संक्रमित पत्रकारसँग अनलाइनखबरकर्मी सुरेश विडारीले गरेको टेलिफोन कुराकानीको सम्पादित अंश:

एक साता अघिदेखि मलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । घाँटी बसेको थियो, खानामा रुचि हुँदैनथ्यो । करैयामाई स्वास्थ्य चौकीमा जाँच पनि गराएँ । स्वास्थ्यकर्मीले आत्तिनुपर्दैन औषधि खाएपछि निको हुन्छ भन्दै औषधि थमाए । औषधि नियमित खाएँ । घरमा मनतातो नुनपानी नियमित पिउन थालेँ । त्यसपछि केही सञ्चो महसुस भयो । तर कोरोना संक्रमण भएको हो कि भनेर डर पनि लाग्यो ।

वीरगञ्जका दुई जना पत्रकारमा वैशाख ३१ गते पहिलो पटक पुष्टि भएको थियो । त्यसयता जनकपुर, उदयपुर र बारामा पनि पत्रकारमा कोरोना संक्रमण भएको छ । बाराका संक्रमित पत्रकार हाल कलैया अस्पतालको आइसोलेसनमा उपचाररत छन् । उनले आफूलाई खानामा अरुचि हुनेबाहेक स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्

त्यही समयमा बाराका क्रियाशील सबै पत्रकारको कोरोना परीक्षण गराउने कुरा आयो । मैले पनि जेठ २ गते कोरोना परीक्षण गर्न स्वाब दिएँ ।

त्यसपछि घरमै आराम गर्न थालें । परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनीहरुसँग पनि सकभर भौतिक दूरी कायम गरेरै बस्न थालें । स्वासप्रश्वासमा समस्या रही नै रह्यो । यो बीचमा पनि खाना पटक्कै रुचेन । तर पनि जबरजस्ती खान्थें ।

नमुना परीक्षण गराएको ४ दिनपछि जेठ ५ गते बिहान साढे आठ बजेतिर प्रमुख जिल्ला अधिकारीले फोन गर्नुभएको रहेछ । उहाँले तपाईंको रिपोर्ट पोजेटिभ आएको छ भन्नुभयो । एक पटक मन सिरिङ्ग भयो । तर आफूलाई सम्हालें । वार्तालापबाटै श्रीमतीले मलाई कोरोना पोजेटिभ भएको थाहा पाइन् । त्यसपछि उनी रुन थालिन् ।

केही समयपछि सुरक्षाकर्मी मलाई लिन आइपुगे । उहाँहरुले पनि मेरो परिवारलाई सम्झाइदिनुभयो । ‘उहाँ ठीक भएर आउनु हुन्छ, त्यसैले चिन्ता लिनुपर्दैन’ भनिदिनुभयो । मेरो घर वरपरको क्षेत्र केही समयका लागि सिल गरियो ।

अहिले म कलैया अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छु । अस्पतालमा एक जना प्रहरी जवान र ममात्रै उपचाररत छौं । बेड नजिकै तीन प्रकारका औषधि छन् । मलाई अहिले पनि स्वासप्रश्वासमा समस्या छ । खाना रुचिरहेको छैन । अन्य लक्षणहरु भने केही छैन ।

म संक्रमित भएको थाहा पाएपछि आफन्त र धेरै शुभचिन्तकहरुले फोनमार्फत स्वास्थ्य लाभको कामना गरिरहनुभएको छ । उहाँहरुले ‘चिन्ता लिनु पर्दैन, हामी तपाईंको साथमा छौं । मनोवल उच्च बनाउनुस् । ठीक हुन्छ । तपाईंले कोरोनालाई जित्नुहुन्छ, ढुक्क हुनुस्’ भन्नुभएको छ ।

बाराका सांसदले पनि फोन गरेर मेरो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सबैको माया, स्नेह र हौसलाले मेरो मनोबल उच्च बनेको छ । म कोरोनालाई जित्छु । कोरोनालाई जितेरै घर फर्कन्छु ।

प्रहरी कार्यालय आउँदा सरेको आशंका

म एउटा कामले गर्दा ३/४ दिन जति लगातार जिल्ला प्रहरी कार्यालय गएको थिएँ । त्यहाँ सेवाग्राहीको ठूलै भिड थियो । विभिन्न ठाउँका सेवाग्राही आएका थिए । भिड कम भएपछिसतर्कता अपनाएर आफ्नो कामका लागि गएँ । दुरी कायम गरेरै बसेको थिएँ । तर आफू संक्रमित भएपछि भाइरसको स्रोत यहीँबाट भएको हो कि भन्ने मलाई लाग्छ । कसरी भयो म आफैं आश्चर्यमा परेको छु । म अन्त कतै गएको पनि छैन ।

जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत एक प्रहरी जवानमा पनि जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बारामा संक्रमित प्रहरी जवान हाल मसँगै उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment