Comments Add Comment

नक्सा सार्वजनिक भएको विषयमा कसैको देवत्वकरण नगरौं : बामदेव

७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।

बुधबार बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताएका छन् । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ’ गौतमले भनेका छन् ।

नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीभित्र सशक्त विचार र जोडदार माग राख्दै आएको उनले बताएका छन् । ‘यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु’ गौतमले भने ।

अहिलेको सरकारको धेरै काम आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ’ गौतमले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment