Comments Add Comment

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी बन्द गर्ने निर्णयको विरोध

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग कुराकानी गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारी । फाइल फोटो

७ जेठ, दाङ । ओपीडी सेवा बन्द गरेर कोरोना संक्रमितको मात्रै उपचार गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन भन्दै प्रतिष्ठानले ओपीडी सेवा बन्द गरिदिएपछि दाङबासी रुष्ट बनेका हुन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले १ सय जना कोरोना संक्रमितको उपचार गर्ने तयारी गर्न निर्देशन दिएको भन्दै मंगलबार प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले सर्वपक्षीय बैठक बोलाएकी थिइन् । बैठकमा प्रतिष्ठानको ओपीडी सेवा बन्द गर्ने विषयमा एक मत भएन । यद्यपि, प्रतिष्ठानले ओपीडी सेवा बन्द गरिएको सूचना जारी गरेको छ । सो सूचनामा मन्त्रालयको लिखित निर्देशन हो कि मौखिक हो भन्ने खुलाइएको छैन ।

यसअघि वैशाख २८ गते स्वास्थ्य मन्त्रालयले परिपत्र गर्दै प्रतिष्ठानलगायतका सरकारी तथा निजी अस्पतालहरु सबैलाई ओपीडी सेवा नरोक्न भनेको थियो । अहिले फेरि ओपीडी सेवा बन्द गर्न भनिएको भन्दै कतिपयले विरोध जनाएका छन् ।

उद्योग वाणिज्य संघ, दाङका अध्यक्ष नारायण भुसाल ओपीडी सेवा नदिने प्रतिष्ठानको निर्णय गलत भएको बताउँछन् । प्रतिष्ठानबाट प्रवाह हुने सेवा भोलिदेखि नै प्रवाह गर्न उनले आग्रह गरे ।

प्रतिष्ठानमा कोरोनाका बिरामीको उपचार गर्ने तयारीबारे पनि उनले असन्तुष्टि जनाए । अन्यत्र उपचार गर्ने हस्पिटल हुँदाहुँदै तत्काल बिरामी ल्याउन नहुने मत उनको छ ।

‘बिरामीको अत्यधिक चाप भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी ल्याउनु पर्छ । तर अन्यत्र कोरोना हस्पिटल घोषणा भएका अस्पतालहरूमा बेडहरू प्याक नहुँदासम्म ल्याउनु हुँदैन,’ उनले भने ।

व्यवसायी रोम ओलीले पनि ओपीडी सेवा बन्द गरेर कोरोनाका १ सय बिरामी ल्याउने प्रतिष्ठानको तयारीबारे असन्तुष्टि जनाएका छन् । प्रतिष्ठानको निर्णय त्रुटिपूर्ण भएको भन्दै उनले यसविरुद्ध एकजुट हुन सबैमा आग्रह गरे ।

‘कोरोनाका बिरामी राख्दा सामान्य बिरामीले प्रतिष्ठानमा सेवा नपाउने हुँदा यो गलत निर्णयविरुद्ध सबै एक होऔं,’ ओलीले भने ।

क्रिकेट एसोसिएसन अफ दाङका अध्यक्ष प्रदीप मजगैंयाले पनि प्रतिष्ठानको निर्णय गलत भएको टिप्पणी गरेका छन् । उनले तत्काल निर्णय सच्याएर ओपीडी सेवा सञ्चालन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment