Comments Add Comment

काठमाडौंमा छिन् नवलपरासीकी भनिएकी संक्रमित

७ जेठ, नवलपरासी । मंगलबार कोरोना संक्रमण पुष्टि भएको नवलपरासीकी भनिएकी महिलाको रुपन्देहीको भएको खुलेको छ ।

रुपन्देहीको कोटिहवा घर भएकी उनको माइती भने नवलपरासीको देवचुली नगरपालिका–२ मा हो । गत वैशाख १९ गते उनी श्रीमानसँग माइती आएकी थिइन् । वैशाख २९ गते काठमाडौं गएकी उनलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

१० दिन माइत बसेर काठमाडौं गएकाले हाल उनको माइती गाउँ सिल गरिएको देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले जानकारी दिए ।

देवचुली नगरपालिकाको वडा नं १, २, ३, ४, ५ लाई सिल गरिएको उनले बताए । माइती गाउँमा उनीसँग सम्पर्क भएका १२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

देवचुली नगरपालिकामा ती महिलाको माइतीको खाद्यान्न पसल र होटल रहेको छ ।

यसअघि देवचुली नगरपालिका– १२ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

ती पुरुष घर नआइ वीरगञ्जको रक्सौल नाकाबाट नेपाल प्रवेश गरी सोझै चितवनको अस्पताल गएकोले ती पुरुषबाट नवलपुरमा कसैमा पनि संक्रमण फैलन पाएको थिएन ।

उनको अहिले भरतपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment