Comments Add Comment

अब मानिसको जीवन जिउने तरिका बदलिनेछः प्रकाश सपुत

‘मैले २ वर्ष बाँचेको जीवन त भ्रम मात्र रहेछ’

गायक तथा नायक प्रकाश सपुत लकडाउनका कारण आफ्नो घर बाग्लुङमा छन् । बाग्लुङमा पुगेर उकाली ओरोली गर्दै गर्दा उनले जीवनको बारेमा नयाँ परिभाषा बुझेका छन् । कुनै, समय गाउँका यिनै उकाली ओरोलीमा हिँड्दै गर्दा उनलाई असहज हुने गर्दथ्यो । तर, अहिले उनी यसमै रमाउन थालेका छन् । गायक सपुतले विगत दुई वर्षयता जुन जिन्दगी बाँचेका छन्, त्यो कमै मात्र कलाकारले बाँच्न सक्छन् ।

एक वर्षमा ६ महिना त उनले हावामा उडेरै जीवन जिएका छन् । युरोपका महँगा गाडी, एसियाका महँगा होटलमा उनले नयाँ शैलीको जीवनको महसुस गरेका छन् । तर, कोरोनाका कारण विगत २ महिनादेखि गाउँमै रमाउँदा उनले आफूले दुई वर्षदेखि बाँचेको जीवनलाई भ्रमको रुपमा बुझेका छन् ।

गायक सपुतले अनलाइनखबरसँग भने–‘म कहिलेकाहीँ सम्झिन्छु, यो समयमा कति धेरै यात्रा गरियो । विदेश गइयो, संसारलाई बुझियो । दुई घन्टा कार्यक्रम गरेर पैसा बोकेर फर्किइयो । विदेश जाँदा महँगो होटल खोजियो । तर, अहिले फेरि उही सामान्य जिन्दगी जिउन परिरहेको छ । गाउँमा उकाली ओराली गर्दैगर्दा, ढिँडो र गुन्द्रुकमा रमाउँदै गर्दा मलाई मैले जिएको २ वर्ष भ्रम लाग्न थालेको छ ।’

सपुत अगाडि भन्छन्–‘व्यवसायिक हिसाबले एउटा कलाकार सधैं एउटै उचाइमा रहँदैन । एउटा उचाइमा पुगेपछि झर्ने दिन त आउँछ नै । मलाई कोरोनाका कारण लकडाउन जीवन बाँचिरहँदा सधै सोचेको जस्तै जिन्दगी बाँच्न सकिन्छ भन्ने लाग्न छाडेको छ ।’

गायक सपुतका अनुसार उनी जतिबेला बाग्लुङमा रहेर जीवनमा प्रगति गर्ने सोच राखिरहेका थिए, त्यतिबेला उनलाई त्यहाँका उकाली ओरालीमा हिँड्दै गर्दा ठेस लाग्थ्यो । ढिडो खाँदै गर्दा भातै भातमा रमाउने चाहना बढेको थियो । उनलाई सपनाले धकेलेको थियो । तर, अहिले फेरि उनी गाउँका भिरपाखासँग रमाउन थालेका छन् । मीठोमसिनोभन्दा गाउँकै परिकारसँग भिज्न थालेका छन् ।

उनी भन्छन्–‘मानिस आखिर जति नै उचाइमा पुगेपनि धर्तीमा त आउनैपर्छ । अहिले, म यही धर्तीमा रमाइरहेको छु । सायद, मैले २ वर्षमा जीवनको बारेमा बुझेको घमण्डको कुनै अर्थ रहेनछ ।’

प्रकाश गाउँमै रहँदा सिर्जनामा व्यस्त छन् । उनलाई कोरोनापछि संसारमा मानिसले जीवनको बारेमा सोच्ने तरिका बदलिन्छ भन्ने लाग्छ । उनले अनलाइनखबरसँग भने–‘हो, मानिसको अब जीवनको बारेमा सोच्ने तरिका बद्लिन्छ जस्तो लाग्छ । केही मानिस आखिर जीवन के नै रहेछ र भनेर सोच्न थाल्नेछन् र बिन्दास जीवन जिउन थाल्नेछन् । फेरि अर्कोथरी मानिसहरू भोलि फेरि कोरोना जस्तै महामरी आएर लामो समय काम गर्न पाइएन भने के खाने समस्या हुन्छ भनेर सोच्न थाल्नेछन् । उनीहरूमा सामान्य जीवन बाँचेर पैसा बचत गर्ने बानीको विकास हुनेछ । संसार त अब बद्लिन्छ नै ।’

गायक सपुतले चलचित्र ‘परदेशी-२’को छायांकन पनि सुरु गरेका थिए । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment