Comments Add Comment

‘एक्कासी बिरामी बढ्दा आइसोलेसनमा मापदण्ड पूरा गर्न सकेनौं’

७ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एक संक्रमितले आफू अस्पतालको आइसोलेसनमा एक साताभन्दा बढी बस्दा पनि ज्वरो, खोकी, शरीर दुःख्ने जस्तो लक्षण नरहेको बताएका छन् ।

आफ्नै टोलमा स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली आउँदा उनले स्वाब दिएका थिए । उनको पहिलो रिपोर्ट नेगेटिभ आयो । त्यसको केही दिनपछि फेरि स्वाब दिए । दोस्रो रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उनी आइसोलेसनमा भर्ना भएका हुन् ।

त्यस्तै एक टेक्स्टाइल उद्योगमा काम गर्ने छपकैयाकै अर्को संक्रमित युवकले पनि मालपोत कार्यालय छेउमा स्वाब दिएका थिए । उनको रिपोर्ट पनि पोजेटिभ नै आयो । स्वाब दिने बेलादेखि अहिलेसम्म कुनै लक्षण नरहेको उनको दाबी छ ।

उनीहरु जस्तै वीरगञ्जमा उपचाररत अधिकांश संक्रमितमा सामान्य लक्षणसमेत देखिएको छैन । त्यसैले तत्काल स्वाब परीक्षण गरेर घर पठाउनुपर्ने उनीहरुको माग छ ।

संक्रमितहरुमा कुनै लक्षण नदेखिँदा पनि अस्पतालमै किन राख्नुपर्छ ? अनलाइखबरकर्मी सुरेश विडारीले प्रस्तावित गण्डक कोभिड अस्पतालका कोओर्डिनेटर एवं वीरगञ्जस्थित नारायणी अस्पतालका डा. उदय नारायण सिंहसँग गरेको कुराकानीको सम्पादित अंश :

वीरगञ्जमा उपचाररत अधिकांश संक्रमितहरुले आफूहरुमा कुनै लक्षण देखिएको छैन, तर पनि अस्पतालले हामीलाई राखिरहेका छन् भनेर गुनासो गर्दै आइरहेका छन् । कुनै रोग र लक्षण नहुँदा पनि संक्रमितहरु अनिवार्य अस्पतालमै बस्नु पर्ने बाध्यता के होला ?

विश्वमा जति पनि कोरोना पोजेटिभ केसहरु छन्, त्यसमध्ये कम्तीमा ९५ प्रतिशत संक्रमितमा गम्भीर लक्षण देखिएको पाइँदैन । तर उनीहरुलाई आइसोलेट गरेर राख्नुपर्ने हुन्छ । किनकी उनीहरु संक्रमित हुन् र उनीहरुले छिटोभन्दा छिटो अरुलाई सार्ने खतरा हुन्छ ।

हामी कहाँ भएका संक्रमितलाई लक्षण नदेखिएको होइन, लो ग्रेडको ज्वरो, सामान्य खोकी, शरीर दुःख्ने जस्ता माइल्ड सिम्टम छन् । उहाँहरु युवा पुस्ताका हुनुहुन्छ । रोगप्रतिरोधात्मक क्षमता राम्रो भएका कारण त्यति धेरै लक्षण नदेखिएको हो ।

इम्युनिटी पावर कम भएका बिरामीहरु यस्तै लक्षणले पनि ढल्न सक्छन् । भाइरसले फोक्सोमा आक्रमण गरिसकेको हुन्छ । अस्पतालमा हुँदा उनीहरुमाथि निगरानी भइरहेको हुन्छ । घरमा हुँदा त यो सबै नहुने भयो र एक्कासी समस्या भयो भने समयमै उपचार नपाउँदा दुर्घटना पनि हुन सक्छ ।

हाम्रो राष्ट्रिय गाइडलाइनले पनि लक्षण नदेखिए पनि संक्रमितहरुलाई आस्पतालमै भर्ना गरेर आइसोलेट गर्नुपर्छ भनेको छ । विदेशी मुलुकतिर लक्षण नदेखिएकाहरुलाई घरमै आइसोलेट गरेर उपचार पनि गरेको पाइन्छ । हाम्रो पनि राष्ट्रिय गाइडलाई परिवर्तन भयो भने त्यतिखेर सोच्न सकिन्छ । तर गाइडलाइन परिर्वतन नहुँदासम्म उहाँहरुलाई अस्पतालमा नै भर्ना गरेर आइसोलेट गरेर राख्छौं ।

जबसम्म उहाँहरुको रिपोर्ट नेगेटिभ आउँदैन, तबसम्म अस्पतालमै आइसोलेट भएर बस्नु पर्ने हुन्छ । रिपोर्ट पोजेटिभ आएपछि मात्रै उहाँहरुलाई घर पठाउने हो भन्ने मान्यतालाई हामीले फलो गर्दै आइरहेका हौं ।

गाइडलाइनले अस्पतालमा आइसोलेट भएर बस्नु पर्छ त भनेको छ । तर अस्पतालको आइसोलेसन वार्ड डब्लुएचओको मापदण्ड अनुसार छैन नि ?

तपाईंले ठीक भन्नु भयो । आइसोलेसन वार्ड डब्ल्यूएचओको मापदण्ड अनुसार छैन । हामीले पुरानै भौतिक संरचनामा आइसोलेसन वार्ड बनाएका थियौं ।

अनएक्सपेक्टेड रुपमा बिरामीको संख्या बढ्दै गयो । त्यसैले हामीले तयारी गर्ने समय नै पाएनौं । हामीले पाँच शय्याको मात्रै तयारी गरेका थियौं । संक्रमित आउन थालेपछि पाँचबाट २५ बनायौं । तर एकैदिन ५७ वटा केस देखा पर्‍यो । त्यही कारण आइसोलेसन मापदण्ड पूरा गर्न नसकेका हौं ।

आइसोलेसनमा बसेकाहरुमा झाडापखला लाग्न सुरु भएको छ । लामखुटेका कारण मलेरिया लगायत अन्य रोग देखा पर्ने चिन्ता संक्रमितमा बढ्दै गएको छ । त्यसको सुरक्षाको लागि चाहिँ अस्पतालले के व्यवस्था गर्दै छ ?

सबैलाई झुल उपलब्ध गराएकै छौं । वीरगञ्ज महानगरपालिकासँग समन्वय गरेर स्प्रे व्यवस्था मिलाउँछौं । सुरु सुरुमा पोषिलो खाना र खाजाको व्यवस्था मिलाउन नसकेकै हो । अहिले एक सामाजिक संस्थामार्फत विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पोषणयुक्त खाजा र खाना व्यवस्था गरेका छौं ।

संक्रमितलाई खाजा र खाना खुवाउने जिम्मा एक सामाजिक संस्थालाई दिइएको पनि विभिन्न टीका टिप्पणी भइरहेको छ नि ?

अस्पतालको आन्तरिक स्रोत साधनबाट भोजन र खाजाको व्यवस्थापन गर्दै आएका थियौं । ६ महिनामा हुने खर्च एक महिनाभित्रै हुन पुग्यो । त्यसको बाबजुद खाना र खाजा खुवाउँदै आइरहेका थियौं । तर खाना र खाजाको कुरालाई लिएर धेरै टीकाटिप्पणी भयो ।

अस्पतालले व्यवस्थापन गरेको खाना र खाजाबारे सन्तोषजनक रेस्पोन्स देखिएन । यही बीचमा केही संघसंस्थाले अस्पतालसँग सहयोग गर्ने इच्छा देखाए । हामीले उहाँहरुलाई हुन्छ भनेर स्वागत गर्‍यौं । जसले अस्पताललाई हुने आर्थिक भार पनि कम हुने देखेर जिम्मेवारी दिएका हौं ।

आइसोलेसन वार्डमा उपचाररत संक्रमितहरुलाई कसरी काउन्सिलिङ गरिरहनुभएको छ ?

पुरानो अनुभवी ट्रेन्ड नर्सहरुमार्फत संक्रमितलाई सचेतना गराउने काम भइरहेको छ । सुरु सुरुमा यो कार्य हुन सकेको थिएन । अहिले भने उहाँहरुले काउन्सिलिङ गरिरहनुभएको छ ।

नियमित साबुन पानीले हात धुने, कुनै बस्तु छोएपछि सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गरेर बस्ने, मास्क अनिवार्य लगाउने जस्ता कुराहरुमा नर्सहरुले कान्सिलिङ गरिरहनु भएको छ । संक्रमितलाई नियमित योगा गर्न भनिएपनि उहाँहरुलाई यसबारे प्रयोगात्मक रुपमा प्रशिक्षण भने गराउन सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment