Comments Add Comment

कोरोना महामारीमा फोहोर व्यवस्थापन कसरी गर्ने ?

कोभिड-१९ महामारीका बेला फोहोरको वर्गीकरणलाई पुनःपरिभाषित गर्नुपर्ने हुन्छ । विभिन्नखालका बस्तीहरू, उनीहरूको बसाइको तरिका (सुकुम्बासी तथा अनौपचारिक रुपमा रहेका बस्तीहरू), होम क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ गरेको ठाउँ र क्वारेन्टाइनस्थलमा जम्मा भएको फोहोरको सुरक्षित व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अस्पतालका संक्रमित वा गैरसंक्रमित बिरामी, स्वास्थ्यकर्मीहरूले उत्पादन गरेका फोहर, डायग्नोस्टिक ल्याब र सार्वजनिक स्थलहरूमा थुप्रेका फोहरहरूलाई विशेष ध्यान दिएर हेर्नुपर्ने हुन्छ।

फोहोरको वर्गीकरण गर्दैगर्दा कुनै स्थानमा कोभिड १९ संक्रमण भएको भन्ने जानकारी पाइसकेको अवस्थामा कसरी सुरक्षित राख्ने ? यसबारे जानकारी लिनु आवश्यक देखिन्छ ।

यदि कसैलाई कोभिड-१९ संक्रमण भएको छ भने बिरामी आफैँ सचेत भएर होसियारीपूर्वक उत्पादित फोहरलाई अलग्गै संकलन गर्नुपर्छ । यस्तो फोहोरलाई राम्ररी बन्द झोलामा पोको पारेर राख्ने गरेको खण्डमा फोहर संकलन गर्ने व्यक्तिलाई पहिल्यै अवगत हुने हुन्छ । अझ त्यसमा बाहिरबाटै केही चिह्न दिने गरेको भए झन् राम्ररी पहिचान हुन्छ ।

आवश्यक मात्रामा सुरक्षा अपनाई त्यसको प्रवन्ध गर्न सकिनेछ । यसरी अलग्गै एउटा भाँडोमा राख्ने गरेमा संकलनकर्ताले त्यसलाई उचित सुरक्षाका साथ प्रवन्ध गर्न सजिलो हुन्छ । यस्तो बेलामा झन् यस्ता उत्पादित फोहोरहरू राख्ने फरक रङ्गको भाँडाहरूको जानकारीसहित व्यवस्थापनमा अगाडि ल्याउने राम्रो अवसर हो । ता कि सबैले निरन्तररुपमा भविष्यमा पनि यसलाई अपनाऊन् ।

फोहोर जहिल्यै पनि मिसाएर दिने बानी परेकोले यो एकदम अन्यायपूर्ण छ । किनकि संकलनकर्ताले लगेर फेरि मिसिएको फोहोर छुट्याउने गरिन्छ । त्यसबाट विभिन्न रोग सर्ने तथा घाउ चोटपटक लाग्ने सम्भावना पनि बढ्नेछ ।

अर्कोकुरा, सार्वजनिक स्थलहरू जस्तै, सडक, पेटी गल्लीहरूमा थुप्रेका फोहोर धेरै खतराभन्दा पनि यसबाट सर्ने कुरामा सतर्कता अपनाउने कुरामा बढी सजक हुनुपर्ने हुन्छ ।

उदाहरणका लागि यदि त्यस्ता फोहोरमा रहेका प्लास्टिक सानो नानीले चलाएर घरमा आएभने ती नानीमार्फत् सम्पूर्ण परिवारलाई यसको जोखिम हुन सक्छ ।

स्वस्थ्यजन्य फोहोरको व्यवस्थापन

कोभिड १९ को संक्रमण बढेका बेला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलगायत सम्पूर्ण कर्मचारीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य फोहोरको मात्रा बढ्ने गर्छ।

चीनको बुहानमा पनि पहिलो संक्रमण देखापर्दा यति धेरै फोहोर बढ्यो कि त्यहाँको सरकारले मोबाइल (स्थानान्तरण गर्न मिल्ने) फोहोर प्रशोधन गर्ने केन्द्रहरूको व्यवस्था गरेरपछि छुट्टै अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्रको स्थापना गर्नुपरेको थियो।

अहिले धेरै विकसित देशहरूमा पनि यसरी छुट्टै स्थापना गरेको प्रशोधन केन्द्रले पनि पर्याप्त क्षमतामा व्यवस्थापन गर्न सक्ने अवस्था नभएर समस्या सिर्जना भएको छ । यसका लागि निकै संघर्ष चलिरहेको छ । त्यसैले यस्तो बेला अत्यावश्यक व्यक्तिबाहेक अरूले पुनःप्रयोग गर्न मिल्ने खालको सुरक्षित सामग्रीको प्रयोग गरी आवश्यकताअनुसार निर्मलीकरण गर्नुपर्ने हुन्छ ।

त्यस्तै, पुन: प्रयोग गर्ने गरेको भए फोहोर व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । सफाइकर्मी साथीहरूले कोभिड १९ को संक्रमणले फोहोरमा आउने प्लाष्टिक, कागज आदिमा पनि भाइरस निश्चित समयसम्म रहने भएकोले काम गर्न अझ बढी सतर्कता अपनाउनुपर्ने भएको छ ।

त्यसैले फोहोर संकलन गर्दा स्रोतमै राम्ररी छुट्याएर राख्ने प्रणालीलाई अनुशरण गर्ने कुरामा दुईमत हुनु हुँदैन भन्ने कुरा सबैले ध्यान दिनुपर्ने हुन्छ । फोहोर संकलन गरेर लाने, त्यसलाई प्रशोधन गर्ने, ढुवानी गर्ने, निर्मलीकरण गर्ने, पुन: प्रशोधन गर्ने कामलाई सजिलो बनाउनका लागि, संक्रमण नभएको व्यक्तिले प्रयोग गरेको सुक्खा फोहोरलाई एकठाउँमा र संक्रमितले प्रयोग गरेको फोहोरलाई मात्र सुरक्षित रूपमा प्रशोधनमा लैजान सकिन्छ ।

उपर्युक्त माध्यममा अटोक्लेभ गरेर मात्र संकलन गर्ने एवं अतिसंक्रमित वस्तुहरूलाई उचित मापदण्ड पुर्‍याएर मेसिनको प्रयोगद्वारा व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसरी काम गर्दा संलग्न वर्गले उच्चसतर्कताका साथ आफूलाई सुरक्षित बनाई काम गर्नुपर्ने हुन्छ ।

घर, समुदाय र सरसफाइ सेवा प्रदायकहरूको नक्साङ्कन

कोभिड-१९ संक्रमण भएको अवस्थामा घर समुदाय क्षेत्र/वडास्तरीयरुपमा उचित तरिकाले अभिलेख राखी नक्साङ्कन गर्नुपर्ने हुन्छ । यी कामहरू आधुनिक तवरमा कम्प्युटर प्रणालीबाट गर्न सकिन्छ, जुन अति आवश्यक देखिन्छ ।

यससँगै फोहोर संकलन तथा व्यवस्थापन गर्ने सेवा प्रदायकको पनि पूर्णविवरण सहित अभिलेखीकरण गरेको खण्डमा तुरुन्तै यदि कसैलाई कोभिड १९ रहेको पाइएमा उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुन्छ। साथै, रोग संक्रमणबाट बचाउन केही हदसम्म सजिलो हुन्छ ।

सफाइमा काम गर्ने कामदारको सुरक्षा तथा सचेतना

सफाइ क्षेत्रमा काम गर्ने कामदारलाई समेत स्वास्थ्यकर्मीहरूलाई जस्तै जोखिमपूर्ण पेसाको सूचीमा राख्नुपर्ने देखिन्छ । यिनीहरूलाई सचेतनाका लागि बराबर जानकारी गराइराख्नुपर्ने हुन्छ ।

फोहोर संक्रमित हुने भएकाले कुन वस्तुहरू कस्तो किसिमले र कुन स्थानमा व्यवस्थापन गर्ने ? भन्ने सुरक्षा सचेतना अपनाउनुपर्छ । नेपाल सरकारका सम्बन्धित निकायले उनीहरूलाई उपयुक्त खालको पीपीई उपलब्ध गराउनु पर्छ । सुरक्षित सामग्री लगाउने तरिका, सफा गर्ने तरिका तथा नियमित रुपमा जतन गर्ने कुराको ज्ञान दिनुपर्ने हुन्छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट जारी भएको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि छुट्टै निर्देशिका छ। जसअनुसार स्वास्थ्य सेवाप्रदायक तथा अस्पताल आफैँले त्यसको पूर्ण जिम्मेवारीका साथ संक्रमण नफैलिने किसिमले वातावरणमैत्री प्रविधि अपनाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।

स्वास्थ्य संक्रमणजन्य फोहोर व्यवस्थापनमा लागि नगरपालिकाको फोहोर उठाउनेभन्दा छुट्टै गाडीको व्यवस्था गरी ढुवानी गर्नुपर्ने हुन्छ ।

फोहोरको उत्पादनदेखि अन्तिम अवस्थासम्मको निरीक्षण

फोहोरलाई संकलन गर्नेबाहेक संकलित फोहोरलाई कता लैजाने, के गर्ने, कसरी प्रशोधन गर्ने, निर्मलीकरण गर्ने, अन्तिम विसर्जन गर्ने पूर्णरुपमा जानकारीसहित अभिलेख राख्ने हुनुपर्छ ।

संक्रमित फोहोरलाई जथाभावी मिल्काउनुहुँदैन। हुन त अस्पताल व्यवस्थापकहरू यसको जिन्मेवार हुन्छन तर पनि संक्रमित फोहोरबाट यदि कहिँकतै कसैलाई सरिहाल्यो भने तुरुन्तै ट्रेसिङ गर्न सजिलो हुन्छ ।

स्वस्थ्यजन्य फोहोरमैला व्यवस्थापनको छुट्टै निर्देशिका छ त्यसलाई उचित रुपमा पालना गराउने, नगरेमा दण्ड जरिवाना तथा राम्रोसंग व्यवस्थापन गर्ने अस्पताल तथा सफाइकर्मीलाई उचित पुरस्कारको व्यवस्था पनि सरकार र अस्पतालले गर्नुपर्ने हुन्छ। घरमा क्वारेंटाइनमा बसेको व्यक्तिको पनि त्यसै गरी छुट्टै तरिकाले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

पुन: प्रयोग तथा प्रशोधन गर्ने उद्योग कलकारखाना अभाव

पुन: प्रयोग तथा पुन: प्रशोधन गर्ने उधोग कलकारखानाहरू बन्द भएको अवस्थामा फोहोर छुट्याई कति मात्रामा कहाँ कसरी जम्मा गरिराख्ने भन्ने समस्या आउने भएकोले त्यसको लागि स्थानीय निकायले यसमा राख्ने स्थानको पहिचान गरी सरसफाइको सेवा प्रदायकलाई सहयोग गर्नुपर्ने हुन्छ ।

ती वस्तुहरूपछि सजिलोसँग वर्गीकृतरुपमा सम्बन्धित कलकारखाना खुलेपश्चात कच्चा पदार्थको रुपमा प्रयोगको लागि सजिलै ढुवानी गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसले गर्दा फोहोर यत्रतत्र नछर्ने भई सफासँग काम गर्न मदत मिल्छ र जोखिम कम हुन्छ ।

नीति नियमहरू

विश्व महामारीको अवस्थामा सरकारले तथा सम्बन्धित निकायले फोहोरमैला व्यवस्थापनलाई जनसुरक्षाका दृष्टिकोणले आवश्यकता अनुसार परिमार्जन गरेर भए पनि नियमलाई व्यवहारिक तरिकाले अवलम्बन गर्ने हुनुपर्छ । आधुनिक युगमा नयाँ किसिमको फोहोरले गर्दा कति कुराहरू थपघट गर्नुपर्ने हुन्छ । यसमा सरकारले समयमै नियमन गरी आवश्यक नीतिनियम तथा प्रविधिहरूको व्यवस्थापनसम्बन्धी कुराहरूलाई लागू गर्नुपर्ने हुन्छ ।

अन्तमा, हालको समयमा स्थानीय निकाय, अस्पताल व्यवस्थापन समिति र सरसफाइ सेवाप्रदायक संस्थाहरूले एकापसमा मिलेर कुन स्थानमा कसरी फोहोर संकलन गर्ने, कसले गर्ने, संकलित फोहोरलाई के गर्ने, कसरी ढुवानी गर्ने, पुन: प्रयोग गर्ने, कता भण्डारण गर्ने, कता निर्मलीकरण गर्ने, कतिको सुरक्षित अपनाउने जस्ता कुराहरूको सहभागितामूलक योजना बनाई लागु गर्नुपर्ने देखिन्छ ।

अहिले जति पनि जैविक वस्तुहरू निस्कन्छ त्यसलाई सबैले घरघरमै कम्पोस्ट मल बनाउने, बायो ग्यास बनाउनेजस्ता तालिमहरू इन्टरनेटको माध्यमबाट दिलाइएको भए अतिउत्तम हुन्छ। जसले गर्दा ६० देखि ७० प्रतिशत उत्पादन हुने फोहोरको उचित व्यवस्थापन यतिकै हुन्छ र जनमानसमा ती उत्पादित मललाई आफ्नो कौसी खेती वा करेसाबारीमा प्रयोग गर्न सकिन्छ ।

बाँकी नकुहिने फोहोरलाई छुट्टै संकलनको व्यवस्थागरी राम्ररी बोरा वा प्लास्टिकमा पोका पारी भण्डारण गर्ने वा सेवा प्रदायकको गाडीले फोहोर लिन आएको बखत राम्ररी नखस्ने गरिदिने गर्नु उत्तम हुनेछ ।

(लेखक महर्जन, फोहोरमैला व्यवस्थापन संघ नेपालसँग आवद्ध छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment