
८ जेठ, काठमाडौं । ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो ।
तर, अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित भइसकेको छैन । तर, गत मार्च मेमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सामाजिक सन्जालमार्फत् हाइड्रोक्सिक्लोरोक्विन कोरोना संक्रमितको उपचारमा निकै प्रभावी रहेको अभिव्यक्ति दिएका थिए । यद्यपि गलत कुरा पोष्ट गरेको भन्दै फेसबुक र ट्वीटरले राष्ट्रपति बोलसोनारोको पोष्ट डिलिट गरिदिएका थिए ।
गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना संक्रमणबाट जोगिन आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको बताएका थिए ।
स्वास्थ्य विशेषज्ञहरुले भने कोरोना संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावी नभएको भन्दै आफूखुसी औषधि सेवन गर्दा आँखा, मुटु, मिर्गौला र कलेजोमा गम्भीर असर पर्नसक्ने चेतावनी दिएका छन् ।
ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा तेस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा २ लाख ९१ हजार ५ सय ७९ जना संक्रमित छन् भने मृतकको संख्या १८ हजार ८ सय ५९ पुगेको छ ।
प्रतिक्रिया 4