Comments Add Comment

दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

८ जेठ, दाङ । दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले जानकारी दिइन् ।

उनीसँगै दाङ जिल्लामा कोरोना संक्रमित व्यक्तिहरुको संख्या तीन पुगेको छ । यसअघि गढवा गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको थियो ।

घोराही उपमहानगरपालिकाका संक्रमित पुरुष‌ जेठ ५ गते भारतबाट आएका थिए । उनी घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा थिए । उनीसहित आएका पाँच जनामध्ये एक जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उनी घर परिवारसँग घुलमिल हुन नपाएको जानकारी दिए । ‘दाङ आउने क्रममा बाटोमा कोकोसँग उनको सम्पर्क भयो भन्ने कुरा बुझ्दै छौं,’ उनले भने ।

नेपालगन्जबाट २२३ नमूना परीक्षण गर्न दाङ ल्याइयो

यसैबीच बाँकेको नेपालगञ्जमा संकलन गरिएको २२३ वटा नमूना परीक्षण गर्न दाङ ल्याइएको छ । सदरमुकाम घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा नमूना परीक्षण गर्न ल्याइएको हो ।

प्रतिष्ठानका कायम मुकाम रजिष्ट्रार कैलाश देवले भने, ‘नेपालगन्जको भेरी अस्पतालमा बाँके, बर्दियालगायतका जिल्लाका व्यक्तिहरुको कोरोना परीक्षणको चाप भएपछि आज २२३ वटा स्याम्पल हामीकहाँ ल्याइएको छ ।’ उनले जतिसक्दो छिटो परीक्षण गरेर रिपोर्ट निकाल्ने काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment