Comments Add Comment

यस्तो छ कोभिड संक्रमितले प्रयोग गर्ने चर्पी र बाथरुम

९ जेठ, वीरगञ्ज । नारायणी अस्पतालको गाइनो (महिला तथा प्रसूति) वार्डमा बनाइएको आइसोलेसनमा कोरोना संक्रमितलाई राखेको १० दिन बितेको छ। यस वार्डका तीन वटा कोठामा २३ जना संक्रमितलाई राखिएको छ ।

उनीहरूका लागि दुईवटा मात्रै शौचालयको प्रवन्ध छ । त्यसमध्ये एउटाको प्यान सफा छ, अर्कोको प्यान र भित्ता दुवै कालो छ ।

तीन दिनअघि बी ब्लकका वार्ड प्रमुखले बन्द अवस्थामा रहेको एउटा ढोका खोले । त्यहाँ तीनवटा शौचालय छन् । जसलाई सफा गर्ने हो भने प्रयोगमा ल्याउन सकिन्छ ।

बाथरुममा ४ वटा धारा छन् । २३ संक्रमितले पालैपालो त्यसैमा नुहाउनुपर्ने बाध्यता छ। अरू दुईवटा बाथरुम सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् ।

सफाइ कर्मचारीको बदमासीका कारण अहिलेसम्म शौचालय र स्नानघर सफा हुन सकेको छैन । स्टाफ नर्स अहेमा थापाले १० दिनमा चार पटक सफाइ कर्मचारीलाई पीपीई सेट लगाएर सफा गर्न पठाइसकेकी छिन् । फर्केर उनीहरूले नर्स थापालाई सफा गरिसकेको बताउने गरेका छन् ।

‘शौचालय प्रयोग गरेपछि सफा राखौं’ भनेर लेखिएको छ । सफा भए पो सफा राख्नु ?’ एक संक्रमितले गुनासो गरे ।

तर, सफाइकर्मी भित्र पसेर त्यसै फर्किने गरेको गाइनो बी वार्ड प्रमुख बताउँछन् । ‘भन्दाभन्दा थाकिसक्यौं, सरसफाइकर्मी आउँछन्, सफा नै नगरी जान्छन्’ उनले भने ‘एकपटक सफा गरिदिनूस् अनि हामी त्यसलाई मेन्टेन गरेर राख्छौं भनेका छौं ।’

सी वार्डका प्रमुख पनि शौचालयमा गरिएको सफाइप्रति सन्तुष्ट छैनन् । ‘उनीहरू आउँछन्, जान्छन्, राम्रोसँग सफा नै गर्दैनन्’ उनको भनाइ छ ।

स्टाफ नर्स श्रुति साहका अनुसार अस्पतालमा महिला स्विपरलाई भुइँ सरसफाइ गर्ने र कार्यालय सहयोगीलाई माथिको भित्ता, फ्यान सफा गर्ने जिम्मेवारी दिइएको छ। हाल स्थायी र ज्यालादारीमा गरेर दुई किसिमका सरसफाइकर्मी कार्यरत छन् ।

अस्पताल विकास समितिका स्थायी २४ जनाको दरबन्दीमा १० सिट खाली छ । ज्यालादारीमा २० जना र चार जना करारमा कार्यरत, एक जना नाइके छन् । जसमध्ये १७ जना महिला छन् ।

महिलालाई संक्रमितको उपचार हुने ठाउँको सफाइमा खटाइएको छैन । १७ जना सफाइकर्मीहरू एउटै परिवारको भएकोले घरमा कुनै चाडपर्व पर्दा वा जुठो पर्दा कोही पनि नआउने समस्या छ ।

स्टाफ नर्स थापा सफा गर्न पठाएको तर सफा नभएको गुनासो आएको बताउँछिन् । ‘गाइनो वार्डको आइसोलेसनबाट शौचालय र स्नानघर सफा नभएको भनी गुनासो आएपछि दिनहुँ सफा गर्नूस् भनेर पठाएको छु’ थापाले भनिन् ‘तर सफा नै गर्दैनन्, के गर्नु ? भन्दा-भन्दा थाकिसकेँ ।’

उनीहरूलाई उचाल्ने काममा कर्मचारी संगठनका मुखियाहरूको मुख्य भूमिका रहने गरेको अस्पताल स्रोतले जनाएको छ । यस्तै विषयमा एक दिनअघि मात्रै नारायणी अस्पतालका कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंह र पूर्वअध्यक्ष हरि गुप्ताबीच हात हालाहाल नै भएको थियो ।

पछि मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले दुवैलाई सम्झाएका थिए । उनीहरूले भने सामान्य विवाद मात्रै भएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment