Comments Add Comment

क्यान्सर अस्पतालमा शंकास्पद बिरामीको कोरोना परीक्षण

८ जेठ, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामीहरुको कोरोना परीक्षण गर्न थालिएको छ । उपचारका लागि आउने बिरामीबाट स्वास्थ्यकर्मीमा समेत संक्रमणको खतरा देखिएपछि शुक्रबारदेखि शंकास्पद बिरामीको कोरोना परीक्षण गर्न थालिएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।

वुधबार र बिहीबार २० जना बिरामीको स्वाब संकलन गरी परीक्षण गरिएको छ ।

उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । ‘बिरामीहरूको कोरोना संक्रमण नेगेटिभ आएपछि उपचार गर्न पनि ढुक्क भयो, बिरामीहरुको खर्च पनि कम हुन्छ,’ कार्यकारी निर्देशक डा. गौतमले भने, ‘शंकास्पद बिरामीहरू सबैको कोरोना परीक्षण गर्ने र थप सर्तकता अपनाउने काम गरिरहेका छौं ।’

क्यान्सरका बिरामीसँग कुरुवाहरु धेरै संख्यामा आउने भएकाले त्यसको न्यूनीकरणको प्रयास भरहेको डा. गौतमले बताए । ‘क्यान्सर अस्पताल कोरोनाको हटस्पट बन्न सक्छ, एक बिरामी, एक कुरुवाको व्यवस्था गर्ने प्रयास गरिरहेका छौं’ कार्यकारी निर्देशक डा. गौतमले भने ।

अस्पतालमा तराईका जिल्लाबाट उपचारका लागि आउनेको संख्या अधिक छ । उनीहरु अस्पतालभित्र नै आएर खाना पकाएर खाने गर्छन् । क्यान्सर अस्पताल नजिकका होटलहरू यतिबेला बन्द रहेका छन् । कुरुवा घर भरीभराउ छ । बिरामी कुरुवाहरु अस्पतालमा यत्रतत्र भिडभाडसहित बसिरहेको, सुतिरहेको देख्न सकिन्छ ।

क्यान्सर अस्पतालमा देशभरीबाट बिरामी उपचारका लागि आउने गर्छन् । गएको जेठ १ गतेदेखि ६ गतेसम्म ५० जिल्लाका पुराना ५२६ र नयाँ १७३ बिरामी उपचारका लागि अस्पताल आएको प्रशासकीय अधिकृत गृह्रीनारायण महतोले जानकारी दिए ।

सबै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार

क्यान्सरका बिरामी पठाउँदा एक जना मात्रै कुरुवा पठाउने व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय चितवनले ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले ७६ जिल्लाका प्रजिअलाई पत्रकार गरेर सहयोग गरिदिन अनुरोध गरेको जनाए ।

‘क्यान्सरका बिरामीको उपचार गर्न नल्याउनुस् भन्ने मिलेन, तर सावधानीका लागि एक बिरामी एक कुरुवा पठाउन भनेका छौं, यसले संक्रमणको जोखिम कम गराउन सहयोग गर्छ’ प्रजिअ भट्टराईले भने ।

एक जना बिरामीसँग ५/६ जनासम्म कुरुवा आउने गरेपछि प्रशासनले सबै जिल्लामा पत्राचार गरेको हो । बिरामी ल्याउने एम्बुलेन्स चालकलाई समेत एक बिरामी एक कुरुवा ल्याउने बारे जानकारी गराइने अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले बताए । दैनिक ५० वटा हाराहारी एम्बुलेन्स बिरामी लिएर विभिन्न जिल्लाबाट चितवन आउने गर्दछन् ।

प्रजिअ भट्टराईले अहिलेसम्म चितवनमा कोरोनाको संक्रमण पहिलो चरणमा नै रहेकोले सबै सतर्क हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment