Comments Add Comment

फेसबुकले सुरु गर्‍यो अनलाइन सपिङ प्लाटफर्म

सोसल मिडिया साइट फेसबुकले नयाँ ई–कमर्स प्लाटफर्म ‘फेसबुक शप’ सार्वजनिक गरेको छ । साथै फेसबुक र इन्स्टाग्राम लगायतका प्लाटफर्मलाई व्यवसायिक प्रयोजनका लागि समेत उपयोगी हुनेगरी सपिङसँग सम्बन्धित विभिन्न नयाँ फिचरहरु थप गरेको छ ।

फेसबुक सीईओ मार्क जुकरबर्गले फेसबुकको लाइभ भिडियो प्रसारणमार्फत उक्त नयाँ सेवाको घोषणा गरेका हुन् । फेसबुकको नयाँ सपिङ प्लाटफर्मले कोरोना भाइरस महामारीको बेला समस्याग्रस्त बनिरहेका लघु व्यवसायहरुको प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

किनमेललाई अड्चनरहित तथा सरल बनाउनु तथा लघु व्यवसायका मालिकदेखि ग्लोबल ब्राण्ड सम्मलाई फेसबुकमार्फत् आफ्ना ग्राहकसँग जोड्नु फेसबुकको मुख्य उद्देश्य रहेको उनको दाबी छ ।

फेसबुकको मुख्य एपलाई इन्स्टाग्राम, ह्वाट्सएप तथा मेसेन्जरसँग जोड्ने एक नयाँ कडीको रूपमा समेत फेसबुक शपलाई हेरिएको छ ।

साथै ह्वाट्सएप र इन्स्टाग्रामबाट समेत आम्दानी सिर्जना गर्ने प्रयासका रूपमा फेसबुकले आफ्नो नयाँ शपिङ प्लाटफर्मलाई अघि सारेको छ । फेसबुकले सन् २०१२ मा १ अर्ब डलरमा इन्स्टाग्राम खरिद गरेको थियो भने सन् २०१४ मा १९ अर्ब डलर खर्च गरी ह्वाट्सएप खरीद गरेको थियो ।

सुरुवातमा फेसबुक शपिङ प्लाटफर्म निःशुल्क रहेको भए पनि यसले फेसबुकका प्लाटफर्महरुमा विज्ञापनमा वृद्धि गरी फेसबुकको आम्दानीमा बढोत्तरी हुने विश्वास फेसबुकको छ ।

जुकरबर्गका अनुसार नयाँ सपिङ फिचर फेसबुक र यस मातहतका एपहरुमा व्यवसायिक प्रवद्र्धन गर्ने सबैभन्दा ठूलो कदमको रुपमा रहेको छ । विश्वका धेरै कम्पनी तथा ब्राण्डहरुले फेसबुकलाई आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने माध्यमको रुपमा उपयोग गरिहेको अवस्थामा फेसबुकचाहिँ आफ्नै प्लाटफर्ममार्फत् कारोबार होस् भन्ने चाहन्छ ।

‘फेसबुक शप्स’ मा कम्पनीहरुले फेसबुक र इन्स्टाग्रामको संयुक्त भर्चुअल पसल खडा गर्न सक्दछन् । जहाँ कम्पनीहरुले अनलाइनमा सामानहरुको सूची राख्दछन् र त्यहीँ दिइएको आफ्नै वेबसाइटको लिंकमार्फत् वा फेसबुकको चेकआउट फिचर प्रयोग गर्ने कम्पनीहरु हकमा फेसबुककै प्लाटफर्मबाट सीधै सामानहरुको अर्डर लिन सक्दछन् ।

त्यहाँ ग्राहकहरुले बिक्रेताहरुसँग ह्वाट्सएप, इन्स्टाग्राम डाइरेक्ट र मेसेन्जरबाट कुराकारी गर्न सक्दछन् । भविष्यमा प्रयोगकर्ताहरुले यी सबै मेसेजिङ सर्भिसबाटै पनि सीधै सामान किनमेल गर्न सक्ने फेसबुकले जनाएको छ ।

यसैबीच, फेसबुक कम्पनीले इन्स्टाग्राममा समेत नयाँ ई–कमर्श फिचर सुरु गरेको छ । इन्स्टाग्राम शप नामक उक्त फिचरमा प्रयोगकर्ताहरुले इन्स्टाग्राम एपको एक्सप्लोर फिचरमार्फत् आफुले खरीद गर्न चाहेका सामानहरु हेर्न सक्दछन् र इन्स्टाग्राम एपभित्रबाटै सामान खरीद गर्न सक्नेछन् ।

साथै फेसबुकमा थप भएको अर्को नयाँ फिचरमा बिक्रेताहरुले आफ्ना प्रडक्टहरु फेसबुक शप्सको क्याटालगमा ट्याग गरी फेसबुक लाइभ र इन्स्टाग्राम लाइभमार्फत् प्रसारण गर्न सक्दछन् र ग्राहकहरुले भिडियो हेर्दै सामान खरीद गर्न सक्दछन् ।

फेसबुकका अनुसार उसको सपिङ प्लाटफर्ममा शपिफाइ, बिग कमर्श, वू, च्यानल एडभाइजर, क्रेड कमर्स, क्याफे २४, टिएन्डा नुब तथा फिडोनोमिक्सलगायतका कम्पनीहरुले सहकार्य गरेका छन् ।

फर्च्युन म्यागेजिनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment