Comments Add Comment

प्रदेशसभामा मुख्यमन्त्रीलाई प्रश्न– प्रदेश हेर्ने कि बालुवाटार ?

प्रदेशसभा बैठकमा बोल्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका कार्यवाहक नेता वीरेन्द्रकुमार कनौडिया

९ जेठ, बुटवल । प्रदेश ५ को प्रदेशसभामा विपक्षी दलहरुले लकडाउन गरेको दुई महिनासम्म सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

अरु प्रदेशमा भन्दा पछि कोरोना संक्रमण भित्रिएकाले पर्याप्त तयारी गर्नुपर्ने समय हुँदाहुँदै के गरेर बसेको भन्दै विपक्षी सांसदहरुले सरकारमाथि प्रश्न उठाए ।

शुक्रबारदेखि शुरु प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो वैठकमा बोल्ने विपक्षी सांसदले मुख्यमन्त्री शंकर पोखरेलको ध्यान प्रदेशमा भन्दा काठमाडौंको बालुवाटार (प्रधानमन्त्री निवास) मा धेरै हुँदा कोरोना संक्रमण नियन्त्रण र उपचारमा सरकार गम्भीर र संवेदनशील नदेखिएको आरोप समेत लगाएका छन् ।

राहत वितरणमा भेदभाव भएको र पारदर्शिता नभएको गुनासो आएको भन्दै उनीहरूले पारदर्शी बनाउन माग गरे ।

‘मुख्यमन्त्रीमा गम्भीरता देखिएन’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका कार्यवाहक नेता वीरेन्द्रकुमार कनौडियाले सरकारले दुई महिनासम्म लकडाउन लम्ब्याउने भन्दा अरु केही काम गर्न नसकेको टिप्पणी गरे । आफूले लिखित र फोनमार्फत मुख्यमन्त्रीलाई कोरोना नियन्त्रण र उपचारका लागि पूर्वाधारमा ध्यान दिन पटकपटक सुझाव दिए पनि गम्भीरतापूर्वक नलिएको उनले गुनासो गरे ।

‘यत्रो समय बित्यो न पर्याप्त क्वारेन्टाइन छन् न आइसोलेसन बेड नै छन्’ कनौडियाले भने ।

भारतमा १० लाख र अन्य देशहरुमा ४० लाख बढी नेपाली रहेका भन्दै उनले ती लाखौं नेपालीलाई स्वदेश ल्याउन माग गरे । ‘उनीहरु देशमा रोजगारी नपाएर परिवार पाल्नका लागि वाध्यतावश विदेशमा गएका हुन्’ उनले भने, ‘उनीहरु अहिले स्वदेश आउन नपाएर अलपत्र परेका छन्, उनीहरुलाई देशमा ल्याउनुपर्छ र क्वारेन्टाइनमा राख्नुपर्छ ।’

एक महिनाअघिदेखि नै विदेशमा रहेका नेपालीलाई ल्याउन शुरु गरेको भए अहिलेको जस्तो जटिलता नहुने उनले औंल्याए । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकले कोही नेपाली मर्दैनन् भनेर आदर्शका कुरा गरेको भन्दै उनले आदर्शका कुराले पार नलाग्ने बताए ।

मुख्यमन्त्रीको ध्यान बालुवाटारमा बढी

बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद कल्पना पाण्डे लम्सालले प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको ध्यान प्रदेशमा भन्दा बालुवाटारमा बढी भएको टिप्पणी गरिन् ।

‘मुख्यमन्त्रीज्यूलाई सरकार र गुटबन्दी गर्नलाई नै फुर्सद छैन । बिचरा उहाँ बालुवाटार हेर्नु कि ५ नं प्रदेश हेर्नु ? यसकारण यहाँ कोभिड १९ को प्लान फितलो भयो’ उनले भनिन् ।

भारतसंगको सीमा क्षेत्रमा चेकजाँच नगरेको, कोरोना पुष्टि भएको क्वारेन्टाइनमै थप व्यक्तिको परीक्षण नहुनु लापरवाही भन्दै सांसद लम्सालले प्रश्न गरिन् ‘यस्तो खेल कहिलेसम्म चल्छ सभामुख महोदय म सरकारको ध्यानाकर्षण गराउन चहान्छु, अबिलम्ब चेकजाँचको कामलाई तिब्रता दिइयोस् ।’

विदेशबाट रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र चलायमान बनाउने विदेशमा रहेका नेपालीप्रति प्रधानमन्त्रीले पनि गैरजिम्मेवार अभिव्यक्ति दिएको उनले बताइन् ।

शुक्रबार बैठकको सुरूवात गर्दै सभामुख पुर्णबहादुर घर्तीले प्रदेश प्रमुख धर्मनाथ यादवबाट आएको प्रदेश सभाको छैठौं अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाएका थिए ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भारसको संक्रमणको अवस्थालाई मध्यनजर गरी सुरक्षा संवेदनशीलता अपनाउन पनि सभामुख घर्तीले प्रदेश सभा सदस्यहरूलाई आग्रह गरे । प्रदेश सभाको अर्को बैठक जेठ १० गते बस्नेछ ।

लकडाउन उपलब्धीमूलक भएन

वैठकमा समाजवादी पार्टीका सांसद सहषराम यादवले सरकारले दुई महिनासम्म गरेको लकडाउन सदुपयोग गरी उपलब्धीमूलक बनाउन नसकेको बताए ।

उनले लकडाउन मात्र लम्बाउंदा श्रम गरेर खाने श्रमिक,मजदुर वर्ग काम गर्न नपाएर मारमा पर्ने भएकाले लकडाउनको मोडल परिवर्तन गर्न सुझाव दिए ।

स्थानीय तहहरुले गरेको काम र सक्रियताले संकटका बेला संघीयताको महत्व र सार्थकता देखिएको यादवले बताए । उनले धानको ब्याड राख्ने र खेती गर्ने समय आइसकेकाले मल, बिउ, सिञ्चाई र इन्धनको सहज उपलब्धतामा सरकारको ध्यान जानुपर्ने माग गरे ।

राहत वितरण पारदर्शी भएन

वैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा जीसीले कोरोनाको नाममा तीनै तहका सरकारले राहत कोष बनाएर निजी क्षेत्रबाट ठूलो रकम संकलन गरेका तर राहत वितरण पारदर्शी नभएको बताइन् ।

एकपछि अर्को ठूला भ्रष्टाचारका काण्डमा मुछिंदै आएको सरकार विपदका बेला पनि औषधि खरिदमा समेत भ्रष्टाचारमा मुछिनु र सरकार आफैले औषधि खरिद गर्न नसकेर सेनालाई जिम्मा दिनु लज्जास्पद भएको बताइन् ।

उनले एमसीसी परियोजना मुलुकको हितमा नभएकाले पारित गर्न नहुने तर्क गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment