Comments Add Comment

उपचारमा पनि सघाउँदै संक्रमित स्वास्थ्यकर्मी

१० जेठ, विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मोरङ, सुनसरी र उदयपुरका कोरोना सक्रमितसँगै धनकुटामा संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी पनि छन् ।

बिरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मीलाई नै संक्रमण पुष्टि भएर आइसोलेसन कक्षमा पुगेपछि त्यहाँ पनि आफूजस्तै संक्रमितको उपचारमा खटिएका छन् ।

संक्रमित स्वास्थ्यकर्मीले अन्य संक्रमितको उपचारमा सहयोग गरिरहेको कोशी अस्पतालका फोकल पर्सन डा. डेनप्रसाद आचार्य बताउँछन् ।

‘उहाँहरुले (स्वास्थ्यकर्मी) हाम्रो स्वास्थ्कर्मीको टिमलाई सहयोग गरिरहनुभएको छ’ आचार्य भन्छन् ‘आइसोलेसनभित्र रहेकाहरुमा सामान्य समस्या भए भित्र रहेका स्वास्थ्यकर्मीले सहजीकरण गर्नुहुन्छ ।’

कोभिड १९ उपचार केन्द्रमा धनकुटा अस्पतालका चारजना स्वास्थ्यकर्मी छन् । तीमध्ये २ जना स्वास्थ्य सहायक (एचए) र दुई जना नर्स छन् ।

उपचार केन्द्रमा एकजना संक्रमितलाई निमोनिया भएको छ । निमोनिया भएका संक्रमितको उपचारमा पनि आइसोलेसनमा रहेका संक्रमितले सहयोग गरेका छन् । ‘तपाईहरु धेरै एक्स्पोज नहुनु हामी सहयोग गर्छौं भन्नुहुन्छ’ डाक्टर आचार्य भन्छन् ‘उहाँहरुको अवस्था सामान्य छ ।’

संक्रमित स्वास्थ्यकर्मीले अन्य संक्रमितलाई कोरोना भाइरसको बारेमा पनि जानकारी दिने गरेका छन् । ४ जेठमा पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक नर्सलाई कोरोना संक्रमण पुष्टी भएको थियो । उनीसँग सम्पर्क भएकाहरुको परीक्षण गर्दा धनकुटा अस्पतालका थप तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ३४ जना उपचार गराइरहेका छन् । प्रदेश १ मा संक्रमण पुष्टि भएका ८६ मध्ये २७ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छन् ।

२६ जना उपचार पछि निको भएका छन् । शनिबार संक्रमण पुष्टि भएका झापाका १ जनालाई धरान लगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment