११ जेठ, काठमाडौं । इंगलिस प्रिमियर लिग खेल्ने थप एक दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा दुई फरक क्लबका एक एक जना रहेको बीबीसीले जनाएको छ ।
मंगलबार, बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्लब स्टाफ र खेलाडी गरी कूल ९९८ जनाको परीक्षण गरिएको थियो । जसमा २ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
कोरोना पोजिटिभ देखिएकाहरुले अब सात दिन सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।
यस पटक हरेक क्लबको लागि टेष्ट ४० बाट बढाएर ५० पुर्याइएको थियो ।
मे १९ मा गरिएको पहिलो चरणको परीक्षणमा प्रिमियर लिगमा ६ जनालाई कोरोना संक्रमण देखिएको थियो । जसमा वाटफोर्डमा एड्रिएन मरिएप्पा र बर्नलीका सहायक प्रशिक्षक आयन वोएन पनि थिए । त्यसबेला मे १७ र १८ मा ७४८ जना खेलाडी र क्लब कर्मचारीको परीक्षण गरिएको थियो ।
प्रिमियर लिगका क्लबहरुले मंगलबारदेखि प्रशिक्षणसमेत शुरु गरेका छन् ।
कोरोना भाइरस महामारीका कारण १३ मार्चदेखि स्थगित भएको प्रिमियर लिगमा ९२ खेल हुन बाँकी छ ।
प्रिमियर लिगका प्रमुख कार्यकारी अधिकृत रिचर्ड मास्टर्सले शुक्रबार लिग जुनमा पुनः सुरु गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
मास्टर्सले फेरि शुरु भएको बुण्डेसलिगाबाट पनि सिक्न सकिने भन्दै प्रिमियर लिग पुनः सुरु गर्ने मितिको बारेमा लचक हुन सकिने बताएका छन् ।
शनिबार मात्र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा ८ जुनदेखि क्लोज डोरमा शुरु गर्न सकिने बताएका छन् ।
प्रतिक्रिया 4