+

मदन भण्डारी कपमा खैरा क्लब पञ्जाब र नेपाल पुलिसको विजयी सुरुवात

२०८३ असोज  १४ गते ८:२१ २०८३ असोज १४ गते ८:२१

१३ असोज, बुटवल । भारतको खैरा भलिबल क्लब पञ्जाब र विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार भएको समूह ‘ए’को खेलमा खैरा क्लब पञ्जाबले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो ।

खैरा क्लबले पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१८ ले जितेको थियो । तेस्रो सेट मणिमुकुन्दले २५–२२ ले आफ्नो पक्षमा पारे पनि चौथो सेटमा खैरा क्लबले २५–२० को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

अर्को खेलमा नेपाल पुलिस क्लबले श्रीलंका पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । नेपाल पुलिसले २५–२३, २५–२१ र २५–२० को जित निकालेको हो ।

यस्तै, समूह ‘बी’मा रहेको गल्कोट भलिबल क्लब समयमा उपस्थित नभएपछि खेलका लागि अयोग्य ठहरिएको छ । गल्कोट अयोग्य भएपछि प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । उद्घाटनका क्रममा उनले यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाको अनुभव लिन सहयोग पुग्ने बताइन् ।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले एकेडेमीले खेलकुदलाई प्राथमिकतामा राख्दै विद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले बुटवलमा आयोजना गरिएको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताले प्रतिस्पर्धासँगै खेल पर्यटनमा समेत टेवा पुग्ने बताए ।

असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘ए’मा खैरा क्लब पञ्जाब, श्रीलंका पुलिस क्लब, नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब छन् । समूह ‘बी’मा सभापोखरी भलिबल क्लब, भारतको गुजरात स्पोर्टिङ क्लब र नेपाल एपीएफ क्लब रहेका छन् ।

समूह चरणबाट दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेता टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

मदन भण्डारी कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय