Comments Add Comment

ठट्टै ठट्टामा बनेको फ्रान्सभित्रको अनौठो ‘देश’

पूर्वी फ्रान्सको हाउट डब्स क्षेत्रस्थित सउगिस गणराज्यकी राष्ट्रपति म्याडम जर्जेट बर्टिन पोर्सेट चिया पिइरहेकी थिइन् । जसै दिउँसोको तीन बज्यो । त्यहाँ राखिएको ठूलो घडीमा घण्टी बज्यो र त्यहाँ देशको राष्ट्रगान बज्न थाल्यो ।

के फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग पनि यस्तै घडी छ ? जसले हरेक घण्टा देशको राष्ट्रगान (ला मार्शेज) बजाउँदछ ? यदि छैन भने उनले यी म्याडम प्रेसिडेन्टबाट केही कुरा सिक्न सक्दछन् ।

३ वर्ष पहिले फ्रान्सको राष्ट्रपति बनेका म्याक्रोनले अहिलेसम्म बर्टिन पोर्शेटसँग शिष्टाचार भेट गर्ने समय निकालेका छैनन् । बर्टिन वास्तवमा फ्रान्सका राष्ट्रपतिकी समकक्षी हुन् अर्थात् फ्रान्सभित्रको दोस्रो राष्ट्रपति । फ्रान्सभित्र रहेको १२८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एक गणराज्यमा उनको शासन छ । जुन गणराज्यको स्थापना मजाकै मजाकमा भएको थियो ।

सायद म्याक्रोनलाई त्यो मजाकका बारेमा थाहा नहुन पनि सक्दछ, जुन सन् १९४७ देखि चलिरहेको छ । सन् १९४७ मा साउगिसका एक अधिकारीले स्विजरल्याण्डसँग सीमा जोडिएको फ्रान्सको उक्त उपत्यकालाई गणराज्य घोषणा गरेका थिए ।

ठट्टैमा बनेको गणराज्य

बर्टिन पोर्शेटका पिता जर्जेस मन्टबेनोएट गाउँमा रहेको एक चर्च नजिकै रेष्टुरेन्ट चलाउँदथे । एकदिन उनले सरकारी अधिकारीहरुका लागि खाना बनाइरहेका थिए । डब्स क्षेत्रका नेता लुइस ओटाभियानी जब त्यहाँ पुगे तब जर्जेसले अकस्मात् उनीमाथि सोधपुछ गर्न थाले । के तिमीसँग ली साउगिस आउने अनुमति पत्र छ ? भन्ने उनको प्रश्न थियो ।

लुइसलाई पनि हँसिमजाक मन पर्दथ्यो । उनले जर्जेससँग ली साउगिसको इतिहासका बारेमा सोधे र भने, यो एक गणराज्यजस्तो लाग्दछ । यसका लागि एकजना राष्ट्रपतिको खाँचो छ । त्यसैले तपाईंलाई ली सउगिस गणराज्यका राष्ट्रपति नियुक्त गर्दछु ।

त्यसपछि सउगिसमा पोर्शेट वंशको अनौठो राष्ट्रपति शासन सुरु भयो । जर्जेस त्यहाँको स्वघोषित पहिलो राष्ट्रपति बने । सन् १९६८ मा मृृत्यु नहुँदासम्म उनी त्यहाँका ११ गाउँको राष्ट्रपति भन्थे आफूलाई ।

त्यसपछि सन् १९७२ मा गाउँका मेयर तथा चर्चका पादरीको बैठकले जर्जेटकी आमा ग्याब्रियललाई गणराज्यको राष्ट्रपति बनाए । सन् २००५ मा ग्याब्रियलको मृत्युपछि उनकी छोरी बर्टिन पोर्शेटलाई राष्ट्रपति बनाइयो । हुन त आमाको व्यस्तता हेर्दा उनलाई राष्ट्रपति हुने रहर थिएन । सउगिस सरकारले उनलाई राष्ट्रपति बन्न अपिल गर्यो । तर उनले ६ महिनासम्म अस्वीकार गरिन् । अन्ततः सबैको अनुरोध पछि उनी राष्ट्रपति बन्न राजी भएकी थिइन् । वास्तवमा उनका पतिको निधन भएको हुँदा उनलाई नै राष्ट्रपति बनाइएको थियो ।

वास्तवमा ली सउगिसको इतिहास एक हजार वर्ष पुरानो छ । १ हजार मिटर उचाइमा रहेको उक्त उपत्यका त्यसबेला दुर्गम थियो र घना जंगल थियो । त्यहाँ केही इशाई पादरीहरु एकान्तबासमा रहन्थे । सन् ११०५ देखि मात्र त्यहाँ वस्ती बसाल्न सुरु भएको हो ।

डब्स नदी र अग्ला पहाडले यो क्षेत्रलाई स्विजरल्याण्डसँग छुट्टाएको छ । सन् १६३७ मा स्विसहरुले त्यहाँ आक्रमणसमेत गरेका थिए । तर त्यहाँका मानिसहरु निकै मेहेनती, धार्मिक र ऐक्यबद्ध रहँदै आएका थिए ।

सन् १९१० मा स्थानीय पादरी जोसेफ बोबिलियरले तयार पारेको गीतलाई त्यहाँको राष्ट्रगानको रुपमा मान्यता दिइएको छ । उक्त राष्ट्रगानमा भनिएको छ, ‘सउगिस हुनुको अर्थ फ्रेन्चभन्दा केही बढी हुनु हो । यदि कोही स्विस यहाँ आउने हिम्मत गर्दछ भने त्यसलाई भुटिन्छ ।’

ली सउगिसको राजकीय चिह्न सन् १९७३ मा डिजाइन गरिएको थियो । सन् १९८१ मा त्यहाँको राष्ट्रिय झण्डा पनि तयार गरिएको थियो भने सन् १९८७ मा हुलाक टिकट । त्यहाँ बाहिरका मानिसहरू आउनका लागि अनुमति लिनु पर्दछ ।

यहाँनेर जान्नैपर्ने कुरा के हो भने सउगिस गणराज्यलाई फ्रान्सले मान्यता दिएको छैन । तर निकोलन सारकोजीलगायतका पूर्वराष्ट्रपतिले बर्टिन पोर्शेटसँग भेटघाट गर्नुका साथै पेरिसमा आयोजित समारोहमा समेत आमन्त्रण गरेका थिए ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment