Comments Add Comment

तामाकोसीको मुख्य चुनौती पन्छिँदै, जोडियो तल्लो ठाडो सुरुङमा पेनस्टक

११ जेठ, काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने दिशामा लम्किएको छ । आयोजनाको चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम सकिएको आयोजनाका उपप्रवन्धक बिमल गुरुङले जानकारी दिए ।

यो आयोजनामा लकडाउनमा पनि निरन्तर काम भइरहेको छ । लक्षअनुसार असारसम्म यो आयोजनाको काम सकिनुपर्ने हो । यो कार्यतालिका प्रभावित हुने निश्चित भएपनि  छिटो निर्माण सकाउन प्राधिकरणले सक्दो प्रयास गरिरहेको आयोजनाका अधिकारीहरु बताउँछन् ।

तामाकोसीमा सुरुङबाट ल्याएको पानी विद्युतगृहमा खसाउन अहिले दुई वटा ठाडो सुरुङ बनाइँदैछ । कामका हिसावले सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा ३७३ मिटर पेनस्टक पाइप जडान भएको छ । अब माथिल्लो ठाडो सुरुङको करिब २३० फिट (१४ वटा ) पाइप जडान जडान गर्न बाँकी छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको -लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

‘तल्लो ठाडो सुरुङ हालसम्म नेपालमा बनेको सबैभन्दा अग्लो ठाडो पेनस्टक हुनुपर्छ,’ गुरुङ भन्छन्,’अब माथिल्लो ठोडा सुरुङको काम आगामी २०/२५ दिनभित्र जडान गरिसक्ने लक्ष्य छ ।’

उनका अनुसार विदेशबाट आउनुपर्ने केही अति महत्वपूर्ण उपकरणहरू र निर्माण सामग्रीहरू आउन कठिनाइ भइरहेको छ । ती उपकरणहरू आइपुगेपछि जडान र निर्माण कार्यहरू गर्न समय लाग्ने हुँदा निर्धारित मितिमा काम सक्न कठीन हुनेछ ।

‘बाहृय रुपमा जटिल समस्या आएन भने आगामी भदौ/असोजसम्म सकाउने हाम्रो लक्ष्य छ,’ गुरुङले भने ।

आयोजनाको मुख्य चुनौतीपूर्ण काम नै यिनै सुरुङमा पाइपहरु जोड्ने हो । असारसम्म पाइप जडानको काम सकेपछि सञ्चालनका लागि अरु तयारी थाल्नुपर्ने आयोजनाले जनाएको छ ।

लकडाउनको समयमा भित्रका कामदारलाई बाहिर आउन नदिने र बाहिरबाट पनि नयाँ मान्छे जान नदिने गरी सुरक्षात्मक उपाय अवलम्बन गर्दै काम भइरहेको छ ।

निर्माण सामग्री ढुवानीमा समस्या हुँदा आयोजना प्रभावित हुनसक्ने देखिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

‘भारतमा पनि लकडाउन भएकाले त्यहाँबाट उपकरण ल्याउन पनि समस्या छ, सबै पक्षसँग समन्वय गरी निर्माण प्रभावित हुन नदिन अधिकतम प्रयास गरिरहेका छौं’, माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहेका घिसिङ भन्छन् ।

उनले निर्माण सामग्री अभावमा काम केहीसमय स्थगित भएमा निर्माण कार्य पुनः सुरु गर्न ज्यादै कठीन हुने बताए । सुरुआतमा आयोजनाको एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका छ । पहिलो युनिटबाट विद्युत् सुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुनेछ ।

आयोजनाको बाँध, इन्टेक र जलाशयमा पानी भरेर प्राविधिक परीक्षण गत चैतमा नै भइसकेको छ । तर, आयोजना कहिलेसम्म बनिसकेर सञ्चालनमा आउँछ भन्ने अझै निश्चित छैन । समयमा नसकिँदा यो आयोजनाको लागत पनि करिब दोब्बर हुने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment