Comments Add Comment

‘रुकुम पश्चिमको घटना दलितमाथिको सामूहिक हत्या’

संसदमा गृहमन्त्रीको जवाफ : २ हप्ताभित्र छानविन प्रतिवेदन आउँछ

१३ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा प्रेमिकासँग विवाह गर्न गएका नवराज विकसहित ३ जनाको हत्या र ३ जना बेपत्ता भएको घटनाको संसदीय छानविन गर्न माग उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलले घटनाको संसदीय छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीकी सांसद पार्वतीकुमारी विशंखेले घटनाको छानबिन गर्न संसदबाट समेत उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताइन् ।

उक्त घटनालाई उनले अन्तरजातीय प्रेमकै कारण भएको सामूहिक हत्या भनेकी छन् । प्रेमिकाले बोलाएपछि लिन गएको टोलीलाई चौरजहारी नगरपालिका–८ का वडाध्यक्षको नेतृत्वमा ठूलो जत्थाले लेखेटेर कुटीकुटी मारेर भेरीमा फालेको उनले बताइन् ।

‘यो भन्दा समाजमा ठूलो बर्बरता समाजमा के हुन सक्छ ? सभामुख महोदय’ उनले प्रश्न गरिन् ‘तत्कालिन व्यवस्थापिका संसदबाट जातीय भेदभाव, कसूर तथा सजाय ऐन पास भएको दिन जेठ १० गते उत्सवका रुपमा मनाउनुपर्नेमा त्यही दिन ६ जनाको सामूहिक हत्या जातकै कारण गरिनु कतिसम्म बर्बरता हो, कतिसम्म उत्पीडन हो ?’

उत्पीडित समुदायको मुक्तिका लागि भन्दै तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेकै ठाउँमा दलितमाथि बर्बर व्यवहार हुनु दुखद भएको उनले बताइन् ।

दुबैको हित्तचित्त मिलेर प्रेमिकाले आऊ भनेपछि प्रेमिकाको आग्रह स्वीकारेपछि प्रेमीलाई बेहुली बनाउछु भनी मन मिल्ने दौतरीसँगै बस्ने प्रण गर्नु महापाप हो भनी उनले प्रश्न गरिन् । ‘अन्तरजातीय विवाह गर्दा कति दलित मारिनुपर्छ अब ?’ उनले प्रश्न गरिन् ।

प्रमुख प्रतिपक्षी दलका सांसद मीन विश्वकर्माले यो घटनालाई मुलुककै इतिहासमा सबैभन्दा ठूलो त्रासदीपूर्ण कहालीलाग्दो जातीय नरसंहारको घटना भएको बताए । उनले यस घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरे । त्यस्तै घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निश्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गरे ।

नेपाली कांग्रेसकै सांसद डा. मिनेन्द्र रिजालले सरकारले छानबिन समिति गठन गरे पनि संसदले पनि छानबिन समिति गठन गर्नुपर्ने बताए । ‘गृहमन्त्रीले आफ्नो काम गरोस् सरकारले आफ्नो काम गरोस्’ उनले भने ‘तर संसदले अहिले पनि नेपालमा घृणाको अपराध छ, दलितहरुलाई मानव मानिदैन भनेर बोल्ने ठाउँमा उभिन सकेन भने के सन्देश जान्छ ?’

रुकुम पश्चिमका सांसद जनार्दन शर्माले घटनाको निष्पक्ष छानबिन गर्न सहयोग गर्ने बताएका छन् । उनले घटनालाई राजनीतिकरण हुन नदिने पनि बताए ।

२ हप्ताभित्र छानविन प्रतिवेदन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले रुकुमको जातीय हिंसाबारे दुई हप्ताभित्र अध्ययन प्रतिवेदन आउने आश्वासन दिएका छन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको र दुई हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जानकारी दिए ।

छानविन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव सदस्य छन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का कि युवतीसँग प्रेममा रहेका जाजरकोट भेरी नगरपालिका ४ का २१ का युवक नवराज विकसहित ६ जना युवतीको गाउँका मानिसहरुको आक्रमणबाट बच्न भाग्ने क्रममा भेरीमा हामफालेका थिए । त्यसमध्ये ३ जनाको शव भेटिएको छ भने ३ जना बेपत्ता भएका छन् ।

फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको गृहमन्त्रीले जानकारी दिए । हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताए ।

जाजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले जानकारी दिए ।

केटापक्षलाई युवतीका गाउँका ५०–६० जनाले लखेटेको सूचना आएको गृहमन्त्रीले संसदलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment