Comments Add Comment

विकास अर्को वर्ष गरौंला, अहिले नागरिकको जीवन रक्षा गरौं : मेयर खाँड

१४ जेठ, पोखरा । स्याङ्जाको वालिङमा संक्रमण देखिएका २ जनासहित ७ जनालाई ४ दिनअघि नगरपालिकाले नै गाडी पठाएर ल्याएको थियो । भारतको दिल्ली हुँदै सुनौली नाकासम्म आएका आफ्ना नागरिकले फोन गरेपछि नगरपालिकाले गाडी पठाएर झिकाएको थियो ।

वालिङ नगरपालिकाले उनीहरुलाई पछिल्लो पटक ल्याएको थियो । यसअघि पनि नगरपालिकाले नै गाडी पठाएर सुनौली र कृष्णनगरदेखि उद्धार गरेर ल्याएको थियो ।

अहिलेसम्म ४ सयभन्दा बढीलाई वालिङ नगरपालिका आफैंले गाडी पठाएर झिकाएको मेयर दीलिपप्रताप खाँडले बताए । ‘सुनौली र कृष्णनगर नाकाबाट हामीले आफ्ना नागरिकलाई पटक पटक ल्याएका हौं,’ मेयर खाँडले भने, ‘उनीहरुले विभिन्न सुत्रबाट हामीलाई फोन गर्छन् ।’

आफ्ना नागरिक नाकामा अलपत्र पर्ने, भोकै मर्ने स्थिति आउनु हुँदैन भनेर सुरक्षित रहने, सतर्कता अपनाउने र ल्याएर क्वारेन्टाइनमा राख्ने काम गरिरहेको खाँडले सुनाए ।

६५ जना क्वारेन्टाइनमा बसेका पनि अधिकांश नगरपालिका आफैंले झिकाएकै नागरिक हुन् । उनीहरुसहित ४ सयभन्दा बढी नागरिकलाई आफ्नो माटोसम्म ल्याइपुर्‍याएको र अरु अलपत्र नागरिकलाई पनि ल्याउने मेयर खाँडको योजना छ ।

संघीय सरकारले योजनावद्ध रुपमा सीमामा अलपत्र परेका नागरिकलाई नल्याए पनि आफूले समन्वय गरेर ल्याइरहेको उनको भनाइ छ ।

विकास अर्को वर्ष गरौंला, अहिले नागरिकको जीवन रक्षा गरौं

केन्द्रले समन्वय गरेन भनेर आफ्ना नागरिक अलपत्र छाड्न नसकेको मेयर खाँडको भनाइ छ । उनले विकास बरु अर्को वर्ष फेरि गर्न सकिने बताउँदै अहिले आफ्ना नागरिकको जीवन रक्षा नै ठूलो कुरा भएको बताए ।

‘राष्ट्रियता भनेको आफ्ना जनता र जमिन हो । यी दुईलाई छुट्याएर राष्ट्रियता हुँदैन । आफ्ना नागरिक घर आउँछु भनेर रोएका छन् । खान नपाएर छटपटिएका छन्,’ खाँडले भने, ‘बरु विकास अर्को वर्ष गरौंला । ती नागरिकलाई केन्द्रले हेरेन भनेर वाल्ल परेर बस्न सकिएन ।’

सरकार आफैंले समन्वय र सतर्कताका साथ आफ्ना नागरिक नल्याउँदा धेरै जना चोर बाटो हुँदै छिरेको खाँडको भनाइ छ । आफ्ना नागरिकलाई सुरक्षित रुपमा, स्वस्थ बनाएर आफ्नो घरसम्म पुर्‍याउनु राज्यको जिम्मेवारी भएको खाँडले बताए ।

‘सुरुमै एउटा गल्ती गरिसक्यौं । केन्द्रले नल्याउँदा धेरै जना चोर बाटो भएर छिरे,’ मेयर खाँडले भने, ‘सरकारले लिगल बाटोबाटै आफ्ना नागरिक ल्याउने हो । यहाँ संक्रमण देखिएर हुँदैन । सतर्कता अपनाउने हो । राम्रो स्वास्थ्योपचार गर्ने हो ।’

सुरक्षित तरिकाले ल्याउने र सतर्कता अपनाउँदा संक्रमण नबढ्ने तर चोर बाटो हुँदै आउने र सतर्कता नअपनाउँदा संक्रमण फैलिने उनको बुझाइ छ ।

‘लिगल बाटो बन्द भयो भने मान्छेले इलिगल बाटो खोज्छ । त्यही हिसाबले हामी सुरक्षित हुन आफ्ना नागरिक ल्याएका हौं,’ मेयर खाँडले भने, ‘सुरक्षित हिसाबले ल्याउँछौं । सुरक्षित हिसाबले राख्छौं । तर, आफ्ना अलपत्र नागरिक अझै पनि ल्याउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment