+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

गण्डकीको कोरोना कनेक्सन : सुनौली र कृष्णनगर नाकाबाट भित्रिए २ हजार जना

अमृत सुवेदी अमृत सुवेदी
२०७७ जेठ १४ गते १४:५८

१४ जेठ, पोखरा । बेल्जियमबाट आएका दुई जना नागरिक कोरोना निको भई घर फर्किइसकेपछि गण्डकी प्रदेशमा कोरोना संक्रमणको कनेक्सन सुनौली र कृष्णनगर नाका बनेको छ ।

भारतबाट आई सुनौली र कृष्णनगर नाकामा अलपत्र परेका र स्थानीय सरकारले गाउयँ ल्याएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्याङ्जाको वालिङमा २ जना र बुधबार बागलुङमा ६ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै जना सुनौली र कृष्णनगर नाकाबाट उद्धार गरेर ल्याइएका नागरिक हुन् ।

‘यो संक्रमणको दर अझै बढ्न सक्छ । किनकी भारतीय नाकाबाट उद्धार गरेर ल्याउने क्रम रोकिएको छैन र रोकिने पनि छैन,’ वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँडले भने, ‘यो स्थानीय सरकारको दायित्व नै हो । सामाजिक दूरी कायम गरेर सुरक्षित ल्याएर राख्न संक्रमण देखिए पनि फैलिँदैन ।’

बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहनसिंह पाइजाले पनि भारतीय नाकाबाट नागरिकहरुलाई आफ्नो गाउँसम्म ल्याउने काम भइरहेकाले अरु संक्रमण बढ्न सक्ने बताउँछन् । ‘नाकाबाट आफ्नो घरसम्म आउन पाउनु उनहरुको अधिकार हो भने सरकारको दायित्व,’ उनले भने, ‘सुरक्षित रुपमा ल्याइएकाहरुबाट कोरोना फैलिँदैन । ल्याएर क्वारेन्टाइनमा राख्छौं ।’

गण्डकी प्रदेशमा भारतका विभिन्न नाकाबाट २ हजार जनाको उद्धार गरेर ल्याइएको छ । बुधबार बिहानसम्म २ हजार जनाको उद्धार गरेर गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा पुर्‍याइएको प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले जानकारी दिए ।

‘नाकाबाट हामीलाई कुन जिल्लाका कति नागरिक छन् भनेर जानकारी आउँछ । हामीले सम्बन्धित जिल्लालाई जानकारी गराउँछौं । जिल्लाले सम्बन्धित पालिकालाई जानकारी गराउँछ,’ अर्यालले भने, ‘पालिकाले आफ्ना नागरिक कसरी ल्याउने भनेर समन्वय गरेर गाडी पठाउँछ ।’

गण्डकी प्रदेशमा ल्याइएका २ हजार जनामध्ये अधिकांश सुनौली र कृष्णनगर नाकाबाट उद्धार गरिएका हुन् । केही महेन्द्रनगरतिरबाट पनि ल्याइएको अर्यालले जानकारी दिए ।

विभिन्न नाकाबाट उद्धार गरेर ल्याउनेको संख्या बढेसँगै कोरोना संक्रमणको दर पनि बढ्न सक्ने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बताए ।

सुरुमा पीसीआर विधिको परीक्षण सम्भव नभए पनि र्‍यापिड टेस्ट गरेर भए पनि ल्याउने भनिएकामा त्यो पनि सम्भव नभएको उनको भनाइ थियो । सुरक्षित हिसाबले ल्याउने, सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राख्ने र टेस्ट गरिने चुमानले बताए ।

गण्डकी प्रदेशमा गत चैत २ मा बेल्जियमदेखि आएका बागलुङका २ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु निको भएर घर गइसकेका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?