
गौतम बुद्धले भन्नुभएको थियो ‘स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, विश्वसनीयता सबैभन्दा राम्रो सम्बन्ध हो, विवेक स्वास्थ्य र सम्बन्धभन्दा पनि निकै ठूलो हो । बुद्धको यो उपदेश केवल दार्शनिक रूपमा मात्रै होइन, यो सबैतिर लागु हुन्छ भने सेयर बजारमा पनि लागु नहुने कुरै भएन ।
योबेला नेपालको सेयर बजारमा पनि विवेकको खाँचो र विवेकीको आवश्यकता छ । आम लगानीकर्ताले विवेक खोज्ने ठाउँ नियामक निकाय हो र विवेकी पनि त्यहीभित्रकै जिम्मेवार प्रतिनिधिहरू हुनुपर्ने हो ।
लगानीकर्ताहरूले नेपालको पुँजीबजारलाई अत्याधुनिक प्रविधिमैत्री बनाउन र पूर्ण स्वचालित अनलाइन प्रणालीको विकास गर्न धेरै वर्षदेखि आवाज उठाउँदै आएका छौं । डिम्याट खाता र बैङ्क इन्ट्रिगेसनसम्बन्धी कार्य छिटोभन्दा छिटो गरियोस् । नेपाल सरकारले निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको ठूलो मात्रामा लगानी गर्न सक्ने संस्था नागरिक लगानी कोषलाई यथाशीघ्र बजारमा प्रवेश गराउनुपर्यो ।
सेयर मार्जिन कर्जामा उपभोग गरिँदै आएको ६५% को सीमालाई बढाई ८०% कायम गरिनुपर्छ। सेयर कर्जा लिएका ऋणीहरूको कर्जाको म्याद समाप्त भएको भए स्वत: नवीकरण पर्छ र कम्तीमा कोरोनाको असर र सहज कारोबार गर्ने वातावरण नबनेसम्म मार्जिन कल नगर्ने व्यवस्था गरिनुपर्छ ।
क्रस होल्ड नहुनेगरी बैङ्क तथा वित्तीय संस्था इन्स्योरेन्स कम्पनीहरूको लगानी गर्न पाउने सीमालाई बढाएर शतप्रतिशत गरिनुपर्छ । बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितोकर्जाको प्राथमिक पुँजीकोषको सीमा शतप्रतिशत वृद्धि गरियो भने तत्कालका लागि केही राहत पुग्न सक्थ्यो ।
पुँजीबजारको विकास र विस्तारका लागि लगानीकर्ताहरूसँग सरकारले गरेको ५८ बुँदे सहमतिमा उल्लेख भएका बुँदाहरूमध्ये कार्यान्वयनमा आउन बाँकी बुँदाहरू तत्काल कार्यान्वयन गरिनुपर्छ भनेर लगातार आवाज उठाइरहेका छौं । तत्काल सम्बोधन हुन सक्ने र निर्णय गर्न सकिने कुरालाई थाँती राखेर खोलिएको बजारले देखाएको परिणाम आम सेयर लगानीकर्ताहरूले सदैव भोग्दै आएका छौं।
पुँजीबजारलाई राज्यले तत्काल सम्बोधन गर्न सक्ने राहतको प्याकेज ल्याएर मात्र सेयर बजार खोल्नु उपयुक्त हुन्छ भनिरहेका थियौं तर बजार खोलियो । दुई दिन बजार खोल्दा बजार पुँजीकरण ६४ अर्बले घटेको छ । यो भनेको लगानीकर्तामाथिको ठूलो अन्याय हो । दुई दिनमै लगानीकर्ताको सम्पति ६४ अर्बले क्षति भएको छ । यसरी बजार घट्नुको कुनै औचित्य पुष्टि हुँदैन।
नियामकलाई पछि आएर यो कुराको महसुस भयो र बजार बन्द गरियो । बजार बन्द गरेर मात्रै पुग्दैन साथै दुई दिन गरिएको सेयर कारोबारको छानबिन गरी कारोबार अस्वाभाविक देखिएमा रद्धसमेत गरिनुपर्छ ।
किनकि लकडाउनको बेलामा बजार सञ्चालनका लागि बनाइएका नियममध्येका केही बुँदाहरूको पालना नगरी गरिएका कारोबार स्वत: अव्यवहारिक हुन्छन्, जुन मान्यतामा रहेर कारोबार गर्ने सहमति भएको थियो। त्यो पनि कार्यान्वयन भएको देखिँदैन । डिम्याट भेरिफिकेसन नभई पनि कारोबार गरिएको छ । १०/२० कित्ताको खेल खेलेर बजार घटाउने काम गरियो ।
लाखौं लगानीकर्ताको सेयरको मूल्य १० कित्ताले निर्धारण गर्न सकिन्न । यतिबेला डिम्याट खाता लिने लगानीकर्ताहरूको संख्या १६ लाख ६० हजार ३ सय ६३ वटा छन् । त्यसलाई आधार मान्दा ०.०५ प्रतिशतले दुई दिनको मात्रै कारोबारमा सहभागिता जनाएका छन् । सेयर बजारको इतिहासमा १६ हजार सात सय २५ जना लगानीकर्ताले कारोबार गरेको दिनलाई रेकर्डमा मानिन्छ । बुधबार १३ सय ५४ जनाले कारोबार गरेका छन्।
त्यसमध्ये, दोश्रो दिन अनलाइन कारोबार गर्नेको संख्या सात सय ६९ जना मात्रै छ । यो भनेको जम्मा ४.५ प्रतिशतले मात्रै कारोबारमा सहभागिता जनाएको देखिन्छ। अहिलेसम्म धेरै अनलाइन कारोबार भनेको जम्मा तीन हजार नौ सय १४ जनाले गरेका थिए ।
त्यसलाई आधार मान्ने हो भने बुधबार १९.६४ प्रतिशतले मात्रै अनलाइनबाट कारोबार भएको छ । यसले स्पष्ट हुन्छ की अनलाइनबाट पनि उत्साहजनक सेयर कारोबार भइरहेको छैन र हुने अवस्था पनि थिएन । लकडाउनका बीच खोलिएको पहिलो दिन मंगलबार पनि जम्मा १६ सय ७१ जनाले मात्रै कारोबारमा सहभागिता जनाएका थिए ।
जसमध्ये ८ सय ८४ जनाले मात्रै अनलाइन कारोबार गरेका थिए । दोश्रो दिन १३५४ जनाले कारोबार गर्दा ७६९ जनाले अनलाइन खरिद बिक्री गरेका थिए । अनलाइन लिएर कारोबार गर्ने लगानीकर्ताहरूको सन्दर्भमा चैत ९ गतेसम्म अनलाइन लिने लगानीकर्ताको संख्या २७ हजार एक सय एक जना थियो । बुधबार त्यो संख्या २७ हजार दुई सय ५२ पुगेको छ ।
यो बीचमा एक सय ५१ जनाले मात्रै अनलाइन लिएको देखियो । त्यसपछि लकडाउनको अवधि महिना बित्दासम्म पनि अनलाइन लिनेको संख्या बढेको छैन । हाम्रो काम गर्ने इच्छा शक्ति कस्तो छ भन्ने यसबाट पनि प्रष्ट हुन्छ कि हामी कुन स्पिडमा काम गरिरहेका छौं ।
यी सबै तथ्यांकहरूले स्पष्ट पार्छ कि अनलाइन लिएका लगानीकर्ताहरूले समेत सेयर कारोबारमा सहभागी हुन नसकेको अवस्था देखियो । लगानीकर्ताहरू ब्रोकर अफिसमै जानुपर्ने बाध्यता कायमै रहेको पनि देखियो । यतिबेला ९९.५ प्रतिशत लगानीकर्ता घरमै थन्किइरहेका छन् । कुल अनलाइन लिनेमध्ये पनि २.८२ प्रतिशतले मात्रै दुई दिनको सेयर किनबेचमा सहभागिता जनाएको देखियो । किन्ने र बेच्ने कुरालाई मात्रै पूर्ण अनलाइन कारोबार मान्न अवश्य नसकिएला र यो कदापि होइन ।
अहिलेको अवस्थामा लगानीकर्ताहरू ब्रोकर अफिसमै पुगेर राफसाफमा सहभागी हुनुपर्ने बाध्यता कायमै छ । जनस्वास्थ्यभन्दा ठूलो केही नहुनुपर्ने हो ।
कोरोना (कोभिड-१९) को असरबाट बैङ्किङ क्षेत्रको वित्तीय सन्तुलन कायम राख्न नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रमा, बिमा समितिले बिमा कम्पनीलगायतमा नगद लाभांश वितरणलाई प्रोत्साहन नगरी र बोनस सेयर मात्रै वितरण गर्ने कुरामा आश्वस्त गरिनुपर्छ ।
यसले बजारमा सकारात्मक असर पर्छ । लगानीकर्ताको मनोबल उठाउन र बजारको गिरावटलाई रोक्न संस्थागत लगानीकर्ता (डिलर, मार्केट मेकर, म्यचुअल फण्ड, बिमा कम्पनी, सञ्चय कोष) लगायतलाई लगानी गर्न प्रोत्साहन गर्ने तथा सरकार र राष्ट्र बैङ्कले नीतिनियम बनाउँदा सेयर बजारलाई टेवा पुग्नेगरी बनाउनुपर्छ । बैङ्कको ब्याजदर घटाउने, झन्झटरहित ऋणको सुविधा उपलब्ध गराउनेजस्ता राहतका प्याकेज अथवा सम्बोधनपछि मात्रै बजार खोल्दा लगानीकर्ताहरूले ढुक्कसँग लगानी गर्ने वातावरण बन्छ।
लगानीकर्तालाई घरमा थुनेर होइन, सहज रुपमा बैङ्क, ब्रोकर कार्यालय जान सक्ने अवस्था भएपछि बजार खोल्नुपर्छ । बजार बन्द हुँदा न राज्यलाई फाइदा छ न त लगानीकर्ताहरूलाई नै । जय पुँजीबजार !
(लेखक सेयर लगानीकर्ता संघ, नेपालका उपाध्यक्ष हुन् ।)
प्रतिक्रिया 4