Comments Add Comment

कपिलवस्तुमा एकैदिन थपिए २३ जना कोरोना संक्रमित

१५ जेठ, बुटवल । कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित थपिएका छन् ।

कपिलवस्तुका २३ जनामध्ये विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना छन् ।

विजयनगरको वडा नं ३ का २३ र ३० वर्षका पुरुष, वडा नं. ५ का वर्ष २६ का एक पुरुष, वडा नंं. ७ का २७ देखि ५२ वर्ष उमेरका ६ पुरुष रहेका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांङको प्रयोगशालामा स्वाब परीक्षण भएको हो । उनीहरु रामनरेश मावि क्वारेन्टाइनमा बसेका थिए ।

यस्तै कपिलवस्तु नगरपालिका वडा नंं. ७ का वर्ष २७ का पुरुष, वडा नंं. ८ का १७ वर्षदेखि ४४ वर्ष उमेरका १३ जना पुरुष रहेका छन् । यस्तै महाराजगन्ज नगरपालिका वडा नंं. ७ वर्ष ३० का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको सैनामैनाको क्वारेन्टाइनमा बसेका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको आरटी पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । संक्रमित सबैजना भारतका विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३१ जना र रुपन्देही जिल्लामा ४४ जना पुगेको छ । बाँके जिल्लामा १७० जना, नवलपरासी पश्चिममा ५ जना, बर्दिया जिल्लामा ७ जना, दाङ जिल्लामा २० जना, गुल्मी जिल्लामा ४ जना, रुकुम पूर्वमा ३ जना र अर्घाखाँचीमा २ जना संक्रमित रहेका छन् । अर्घाखाँचीको एकजनाको कपिलवस्तु कृष्णनगरमा स्वाब संकलन गरी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । तर उनको मृत्यु भएको छ ।

गुल्मीका सीडीओसहित ४४ जनाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमण देखिएका गुल्मीको धुर्कोट गाउँपालिकाका प्रमुखको सम्पर्कमा रहेका गुल्मीका प्रमुख जिल्ला अधिकारी,जिल्ला समन्वय समितिका पदाधिकारी, जिल्लाका स्थानीय तहका प्रमुख-उपप्रमुखसहित ४४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment