Comments Add Comment

रुकुम चौरजहारी घटना : उच्चस्तरीय समितिले काम थाल्यो

१६ जेठ, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबारे उच्चस्तरीय छानविन समितिले अध्ययन थालेको छ ।

गृहमन्त्रालयद्वारा गठिन समितिले शुक्रबारदेखि जाजरकोट पुगेर छानविन थालेको हो । समितिले शुक्रबार मात्रै पीडितपक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उक्त छानविन समितिले भेरी नगरपालिका–४ का सन्जु विकको पोष्टमार्टम रिपोर्टबारे स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्यायन गरेको छ ।

घटनाबारे सदनदेखि सडकसम्म चर्को दबाव परेपछि सरकारले गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । शुक्रबार नै उक्त टोली रुकुम पश्चिम चौरजहारी नगरपालिका –८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव भेरी नदीमा फेला परिसकेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

उच्चस्तरीय समितिले शुक्रबार दलित अधिकारकर्मी संघ र संगठनले निष्पक्ष छानविनका लागि ६ बुँदे ज्ञापनपत्र संयोजक बस्नेतलाई बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment